नेपालमा बाढीपहिरोजस्ता प्राकृतिक विपद्ले हरेक वर्ष जनधनको ठूलो क्षति पुर्याउँदै आएको छ । बाढीका कारण धेरै परिवार घरबारविहीन हुनुका साथै लत्ताकपडा, खाद्यान्न र दैनिक जीवनयापनका आधारभूत सामग्रीबाट वञ्चित हुनुपरेको छ । १० भदौको भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका विभिन्न ठाउँमा विस्थापितहरू त्रिपालमुनि बसिरहेका छन् । त्यहाँ वृद्धावृद्धा, बालबालिका, बिरामी, गर्भवती वा सुत्केरी जस्ता अतिरिक्त स्याहार चाहिने वर्गले कठिनाइ भोग्दै आएका छन् ।
स्वस्थ र पोषणयुक्त खाना र सुरक्षित बसोबास छैन । बाढीसँगै कपडा बगेका कारण राहतमा लगिएका कपडामा निर्भर हुनुपरेको छ । अब जाडो मौसम सुरु हुँदै छ । जाडोयामको आगमनसँगै पीडित परिवारको समस्या झन् गम्भीर बन्ने देखिन्छ । यस्तो अवस्थामा उनीहरुलाई चिसोबाट बचाउँनु पहिलो प्राथमिकता हुनुपर्छ । जाडोयाममा वयस्कदेखि वृद्ध र बालबालिकाले पनि निकै कष्ट भोग्नुपर्छ । भोटेकोशीको बाढीले सबैभन्दा बढी प्रभावित गरेको रसुवा हिमाली जिल्ला हो । नुवाकोट पहाडी जिल्ला भए पनि माथिल्लो भेगमा पर्छ । त्यहाँ बढी जाडो महसुस हुन्छ । घरबार गुमाएका, ओढ्ने ओछ्याउने नभएका र लगाउने लुगासमेत नभएका नागरिकलाई न्यानो बासस्थान र कपडामा पहुँच पुर्याउन सकिएन भने अथाह दुःख पाउनेछन् । नागरिकले ज्यान नै गुमाउने सम्भावना पनि हुन्छ । यस्तो अवस्थामा बाढीपीडितलाई जाडोबाट जोगाउन समयमै प्रभावकारी योजना बनाउनु राज्य, समाज र सम्बन्धित सबै पक्षको साझा दायित्व हो ।
बाढीबाट प्रभावित परिवारमध्ये बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीहरू चिसोबाट बढी प्रभावित हुन सक्छन् । पर्याप्त न्यानो कपडा, कम्बल र सुरक्षित आवासको अभावमा उनीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । विशेषगरी खुला स्थान, अस्थायी टहरा वा क्षतिग्रस्त घरमा बस्न बाध्य परिवारका लागि जाडोयाम थप कष्टकर बन्ने निश्चित छ । त्यसैले समस्या गम्भीर बन्नुअघि नै राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । समयमै योजना, पर्याप्त स्रोतसाधन, प्रभावकारी समन्वय र निष्पक्ष कार्यान्वयन हुन सके धेरै परिवारलाई चिसोको जोखिमबाट जोगाउन सकिन्छ । विपद्ले घर गुमाएका नागरिकले जाडोमा पनि असुरक्षित र असहाय महसुस गर्नुपर्ने अवस्था आउन दिनुहुँदैन । त्यसैले बाढीपीडितलाई जाडोबाट जोगाउने योजना बनाऔँ, राहतलाई प्रभावकारी बनाऔँ र मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरौँ ।
