Shittalpati
आज कुसे औंसीसँगै बाबुको मुख हेर्ने दिन

पाल्पा, आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन पनि । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । आजको दिन छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योती प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गूरुका रुपमा रहेका पीतालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन् । 

बुवालाई पिता, बाबा, तात ड्याडी, पापआदि शब्दले पनि चिनिन्छ । यो दिनलाई अर्को शब्दमा पीतृऔंसी, पीतृदिवस, गोर्कण औंसी, कुशे औंशी आदि पनि भनिन्छ । आमापछिको द्वितिय गुरुका रुपमा शास्त्रले बर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पीतालाई संरक्षण गर्ने, रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रुपमा शास्त्रमा उल्लेख छ । औशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबा भएको ठाउँसम्म पुग्न नसकेकाहरु आफ्ना बुवालाई टेलिफोन तथा विभिन्न सामाजिक इमेल, स्काइप, फेसबुक लगायतका विभिन्न सञ्जालमार्फत सम्झने र कुराकानी गरेर आर्शिवाद लिने तयारी गरेका छन् । घरमा रहेकाले बाबुलाई भेटेरै आर्शिवाद लिदै छन् । औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ । उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले त्यसले मातृकुल, पितृकुल, बन्धु–ससुराली कुलादि सय कुलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ । गोर्कणमा श्राद्ध गर्नु भारत कासीको गयामा श्राद्ध गर्नुसरह फल मिल्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् ।

चन्द्रमती, सूर्यमती र बाग्मतीको संगम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी भगवान् गोकर्णेश्वर महादेव र हनुमान दर्शन गर्नाले पितृमुक्त हुन्छन् । पुराणमा उल्लेख भएअनुसार पिताको स्मरणमा मानसम्मान र मृतात्माको मंगल कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन, गोकर्णजस्तो पितृको उद्धार गर्ने पुत्रको कामना गरिएको छ । औंसीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्दै छन् । हिन्दू धर्म परम्परामा जल दान र अन्नदानको विशेष महत्व हुन्छ । पितृ औंसी तथा गोकर्ण औंसीका नामले समेत चिनिने यसदिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update