पाल्पा, विश्वभर साक्षरताको महत्व उजागर गर्दै आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सठन (युनेस्को)को आवानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
नेपालमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रसहित विभिन्न सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, सामुदायिक सिकाइ केन्द्र र शैक्षिक संस्थाले साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै दिवस मनाउँदै आएका छन् । दिवसका अवसरमा साक्षरताको महत्वबारे जनचेतना अभिवृद्धि, अन्तक्र्रिया, गोष्ठी, सचेतनामूलक कार्यक्रम तथा शैक्षिक गतिविधि सञ्चालन गरिने जनाइएको छ । नेपालले यो दिवसलाई शैक्षिक पर्वका रूपमा मनाउँदै अएको थियो । नेपालले विक्रम संवत् २०३२ देखि २०६३ सालसम्म शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस छुट्टाछुट्टै मनाउँदै आएकोमा २०६२/०६३ को परिवर्तनपछि सेप्टेम्बर ८ लाई नै राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउँदै आएको छ ।
तर, विगतका वर्षहरूमा ८ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएकोमा गत वर्षदेखि भने शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसलाई अलग्गै दिनमा मनाएको छ । नेपालले पछिल्ला वर्षहरूमा साक्षरता विस्तारमा उल्लेख्य प्रगति गरे पनि सबै नागरिकलाई पूर्ण रूपमा साक्षर बनाउने लक्ष्य अझै चुनौतीपूर्ण रहेको छ । विशेषगरी मधेस प्रदेशका विभिन्न स्थानीय तहमा साक्षरता अभियान पूरा हुन नसक्दा मुलुकलाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य प्रभावित हुँदै आएको छ ।


