Shittalpati
मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै

पाल्पा, राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका भट्टको स्मरणमा देशका विभिन्न स्थानमा साहित्यिक गोष्ठी, विचार–विमर्श, कविता तथा गजल वाचन, पुस्तक चर्चा र सम्मान कार्यक्रम आयोजना गरिँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनी परलोक भएका थिए । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’,‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी उनले नै विसं १९४१ मा प्रकाशन गराएका थिए । भट्ट नेपाली साहित्यमा विशेषगरी आदिकवि भानुभक्त आचार्यको जीवनी प्रकाशन र उनका रचनालाई व्यापक रूपमा प्रचार–प्रसार गर्ने व्यक्तिका रूपमा स्मरण गरिन्छ ।

भानुभक्तका कृतिहरूलाई खोजी, सड्ढलन तथा प्रकाशन गरी नेपाली साहित्यमा उनको योगदानलाई स्थापित गराउन मोतीरामले खेलेको भूमिका महत्वपूर्ण रहेको साहित्यकारहरू बताउँछन् । भानुभक्तको जीवनी लेखेर प्रकाशन गर्ने काममार्फत मोतीरामले नेपाली साहित्यमा जीवनी लेखनको परम्परालाई समेत बलियो बनाएका थिए । उनले भानुभक्तका रचनाहरू सड्ढलन गरेर प्रकाशनमा ल्याएपछि आदिकवि भानुभक्तको व्यक्तित्व र कृतित्वबारे व्यापक चर्चा हुन थालेको थियो । त्यसैले मोतीरामलाई भानुभक्तका कृतिको खोजकर्ता, प्रचारक र नेपाली साहित्यमा भानुभक्तीय परम्पराका प्रमुख संवाहकका रूपमा समेत लिइन्छ । मोतीराम आफैं पनि बहुआयामिक प्रतिभाका धनी थिए। कविता, गजल, कथा, नाटक, जीवनी, पत्रकारिता तथा साहित्यिक सम्पादनका क्षेत्रमा उनले योगदान गरेका थिए । नेपाली भाषामा गजल लेखनको प्रारम्भिक विकास र लोकप्रियतामा उनको भूमिका विशेष उल्लेखनीय मानिन्छ । उनका रचनामा प्रेम, प्रकृति, मानवीय संवेदना तथा तत्कालीन सामाजिक जीवनका विविध पक्ष अभिव्यक्त भएका पाइन्छन् । उनले साहित्य सिर्जनासँगै नेपाली भाषाको प्रचार–प्रसार र साहित्यिक गतिविधिलाई संस्थागत बनाउनसमेत प्रयास गरेका थिए ।

भारतको बनारसमा रहँदा उनले नेपाली भाषा तथा साहित्यसँग सम्बन्धित गतिविधिलाई अघि बढाएका थिए । त्यही समयमा नेपाली साहित्यका विभिन्न कृति प्रकाशन तथा साहित्यिक व्यक्तित्वसँगको सहकार्यलाई उनले अगाडि बढाएका थिए । मोतीरामको साहित्यिक जीवनको अर्को महत्वपूर्ण पक्ष पत्रकारिता पनि हो । नेपाली भाषामा छापा माध्यमको विकास प्रारम्भिक चरणमै रहेका बेला उनले पत्रकारितामार्फत साहित्यिक तथा सामाजिक विषयलाई पाठकमाझ पु¥याउने काम गरेका थिए । साहित्य र पत्रकारितालाई सँगसँगै अघि बढाउने उनको प्रयासले नेपाली सार्वजनिक बहस र साहित्यिक संस्कृतिको विकासमा योगदान पुगेको साहित्यका अध्येताहरूको धारणा छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update