Shittalpati
लोककल्याणकारी विज्ञापनको रकम कटौतीप्रति पत्रकार महासंघ पाल्पाको आपत्ति

पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाले छापा माध्यमलाई प्रदान हुँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा कटौती गर्ने गरी ल्याइएको नयाँ कार्यविधिप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघ पाल्पाले विज्ञापन बोर्ड, बबरमहल, काठमाडौंलाई पत्र पठाउँदै सरकारले देशभरका छापा माध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने गरी लोककल्याणकारी विज्ञापनको रकममा आधासम्म कटौती हुने व्यवस्था कार्यान्वयनमा ल्याएको भन्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेको हो ।

महासंघले ‘छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ आफूहरूलाई स्वीकार्य नभएको जनाएको छ । नयाँ कार्यविधिका कारण आर्थिक संकटमा रहेका छापा माध्यम थप प्रभावित हुने तथा सञ्चारमाध्यमको नियमित प्रकाशन र समग्र पत्रकारिता क्षेत्रमा समेत प्रतिकूल असर पर्न सक्ने महासंघको भनाइ छ ।

बुधबार महासंघ पाल्पा शाखाको टोलीसहित जिल्लाका छापा माध्यमका सम्पादक तथा प्रतिनिधिहरूले जिल्ला हुलाक कार्यालयका प्रमुख अर्जुज चौधरीलाई सो पत्र बुझाएका छन् । टोलीले लोककल्याणकारी विज्ञापनको भुक्तानीसम्बन्धी विवाद समाधान नभएसम्म कुनै पनि छापा माध्यमबाट विज्ञापनसम्बन्धी बिल नबुझ्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

महासंघ पाल्पाले विज्ञापन बोर्डलाई पठाएको पत्रको बोधार्थ जिल्ला हुलाक कार्यालयलाई समेत दिएको छ । शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले हुलाक अधिकृत चौधरीलाई पत्र हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरणका क्रममा अध्यक्ष तिमिल्सेनाले विज्ञापन बोर्डले विज्ञापन प्रकाशन गरेबापतको बिल नबुझ्ने सम्बन्धमा परिपत्र गरेको विषयसमेत उल्लेख गर्दै विवाद समाधान नभएसम्म छापा माध्यमबाट बिल नबुझ्ने व्यवस्था मिलाउन आग्रह गरे । महासंघका सचिव रामचन्द्र रायमाझीद्वारा जारी पत्रमा आफूहरूको मागअनुसार आवश्यक व्यवस्था नगरिए विज्ञापन बोर्डविरुद्ध आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना हुने चेतावनी दिइएको छ । महासंघले सञ्चारमाध्यमको आर्थिक तथा व्यावसायिक अधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय पुनर्विचार गर्दै छापा माध्यमको संरक्षण र प्रवद्र्धन गर्ने नीतिअनुसार समस्या समाधान गर्न महासंघले माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update