Shittalpati
जेनजी विद्रोहको एक वर्ष : अझै मेटिएन तोडफोड र आगजनीको घाउ

पाल्पा, जेनजी आन्दोलन भएको एक वर्ष  पुगेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवा समूहले गत वर्ष  आजकै दिन भदौ २३ गते आन्दोलन गरेका थिए ।  भ्रष्टाचार, बेथिति र पुरानो राजनीतिक संस्कारविरुद्ध युवापुस्ताले उठाएको आवाजले सत्ता समीकरण नै फेरबदल गर्‍यो । तर, आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिको घाउ भने अझै पूर्ण रूपमा निको हुन सकेको छैन् ।

आन्दोलनको उग्र चरणमा सरकारी कार्यालय, राजनीतिक दलका संरचना, व्यापारिक प्रतिष्ठान तथा अन्य सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो । कतिपय भवनमा रहेका महत्वपूर्ण कागजात, उपकरण र भौतिक संरचना नष्ट भए । केही स्थानमा आगलागीका कारण मानवीय क्षतिसमेत भयो । एक वर्षपछि आन्दोलनका राजनीतिक उपलब्धि र त्यसले जन्माएको नयाँ बहसको समीक्षा भइरहँदा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भने अर्को चुनौती बनेको छ । कतिपय सरकारी संरचना मर्मतसम्भारपछि सञ्चालनमा आएका छन् भने कतिपयमा अझै पूर्ववत् अवस्था फर्काउन काम भइरहेको छ । आन्दोलनका क्रममा देशको प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र रहेका कैयौँ मन्त्रालय र प्रशासनिक निकायका भवनहरूमा आगलागी र तोडफोडका कारण ठूलो भौतिक क्षति पुगेको थियो । तर, आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माण सुस्त गतिमा हुँदा सरकारी कामकाजमा असहजता कायमै छ ।

मर्मत र पुनर्निर्माणको काम समयमै सम्पन्न हुन नसक्दा सिंहदरबारसहित अन्य सरकारी र नीजी क्षेत्रमा आन्दोलनले पारेको प्रभाव अझै स्पष्ट देख्न सकिन्छ । सोही आन्दोलनका कारण दुई–तिहाइ नजिक रहेको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो । तत्पश्चात् पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले निर्वाचित संसद विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेकी थिइन् । राज्यसत्तामा ३५ वर्षसम्म हालिमुहाली गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीजस्ता परम्परागत राजनीतिक दलहरू जेनजी आन्दोलनसँगै रक्षात्मक बनेका थिए । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना दलहरू बढारिएपछि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको चौतर्फी दबाब सिर्जना भएको थियो । तर, अहिले पुनः कांग्रेस, एमाले र नेकपाका पुरानै नेताहरू राष्ट्रिय राजनीतिमा सक्रिय हुन थालेका छन् ।
 

सरकारले दियो सार्वजनिक बिदा
सरकारले भदौ २३ गते अर्थात् आजलाई जेन–जी सहिद दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त दिनलाई जेन–जी सहिद दिवस घोषणा गरेको हो । ‘२०८३ साल भदौ २३ गते जेन–जी सहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने,’ बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने । सरकारले जेन–जीको नेतृत्वमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनलाई यसअघि नै जनआन्दोलनको मान्यता दिएको थियो । गत मंसिर २४ गते जेन–जी प्रतिनिधिसँग भएको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update