Shittalpati
विवाद समाधानका लागि गगन–पूर्णबहादुर भेटवार्ता, सहमतिको सम्भावना बढ्यो

काठमाडौँ, पार्टीभित्रको आन्तरिक विवाद समाधानको प्रयासस्वरूप सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ । भेटवार्ता भएको दुवै पक्षले पुष्टि गरेका छन् । ‘हिजो साँझ सभापति र निवर्तमान कार्यवाहक सभापतिबीच भेटघाट भएको हो ।

‘सभापतिज्यूले निवर्तमान कार्यवाहक सभापतिले राखेका माग पूरा गर्न सहमति जनाउनुभएको छ,’ स्रोतले भन्यो, ‘अब सहमति हुने सम्भावना बढेको छ ।’ खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण गराएका तथा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यलाई अद्यावधिक नगरेको कारण देखाउँदै महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न नहुने अडान राख्दै आएका छन् । सबै क्रियाशील सदस्यले महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्थाको सुनिश्चितता आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ ।

त्यस्तै, १४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यलाई समेत विशेष महाधिवेशनमा समेट्नुपर्ने माग खड्काले राख्दै आएका छन् । यी विषयमा सभापति थापा सकारात्मक रहेको स्रोतहरूले बताएका छन् । यसैबीच, सभापति थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार बिहान ११ बजे भेटवार्ता हुने भएको छ । भेटमा डा. कोइरालाले पार्टीभित्रको विवाद समाधान तथा एकता कायम गर्न अघि सारेका एजेन्डाबारे छलफल हुने बताइएको छ । डा. कोइरालाले पार्टीमा एकता कायम राख्न १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै बनाउने, कार्यसम्पादन समितिमा सभापतिको बहुमत हुने गरी गठन गर्ने तथा निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायत अन्य समितिहरू आपसी सहमतिमा मात्रै गठन गर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् । यी प्रस्तावमा खड्काको समेत सहमति रहेको नेताहरूले बताएका छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापा आफैँ पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि विभिन्न नेताहरूसँग भेटवार्ता गरिरहेको बताए । सहमतिको सम्भावना बनेको उल्लेख गर्दै उनले सभापतिले को–कोसँग भेटवार्ता गरे र भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे आइतबार दिउँसो १ बजे बस्ने कार्यसम्पादन समिति बैठकमा जानकारी गराइने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update