Shittalpati
अवैध लागूऔषध सहित १३ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, पर्सा,सुनसरी, कञ्चनपुरका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १३ जना पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ किलो गाँजासहित भारतीय नागरिक ३६ वर्षीय फिरोज मोहमद पक्राउ परेका छन् । मलेसियन एयरलाइन्सबाट काठमाडौं आएका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । यस्तै रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट चरेसजस्तो पदार्थ ३.५७० ग्राम, स्पास्मो १६० ट्याब्लेट र नगदसहित २२ वर्षीय नसरूद्धिन फकिर र २४ वर्षीय सत्यनारायण यादव पक्राउ परेका छन् । त्यस्तै, बाँकेको बैजनाथबाट ब्राउनसुगर जस्तो पदार्थसहित सन्तोष विक र डमरबहादुर कामी पक्राउ परेका छन् । डमरबहादुरको घरबाट थप १.९६० ग्राम उक्त पदार्थ र नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पर्साको पकहाँ मैनपुरबाट ११४ किलो २५ ग्राम गाँजासहित धादिङका २१ वर्षीय साजन चेपाङ पक्राउ परेका छन् । कारमा १२ वटा पोका बनाएर लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद भएको हो । यसैगरी, सुनसरीको इटहरीबाट ट्रामाडोल र डाइक्लोमाइन १२५/१२५ ट्याब्लेटसहित एक किशोर, झापाको झापा गाउँपालिका र मेचीनगरबाट ब्राउनसुगर तथा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् । ललितपुरको धापाखेलबाट पनि खैरो हेरोइनजस्तो पदार्थ २.२७० ग्रामसहित दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरीबाट ५९० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित २३ वर्षीय नितेश राना तथा तेह्रथुमको लालीगुराँसबाट ट्रामाडोल र डिकोलकसहित २९ वर्षीय सुजित भण्डारी पक्राउ परेका छन् । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update