Shittalpati
भगवतीको आस्था, जितगढीको वीरता र बिर्सिएका वीरहरू

नवराज बस्याल ‘बादल’    
पाल्पाको ऐतिहासिक भगवती मन्दिर र जितगढी नेपालको इतिहासमा वीरता, साहस, राष्ट्रिय स्वाभिमान र मातृभूमिको रक्षासँग जोडिएका महत्वपूर्ण नाम हुन । नेपाल अंग्रेज युद्धको इतिहास सम्झदा तानसेनको भगवती मन्दिर र बुटवलको जितगढीलाई अलग–अलग रूपमा हेर्न सकिदैन  । एउटा ठाउँमा विजयको भाकल गरिएको इतिहास छ भने अर्को ठाउँमा त्यही विजयका लागि नेपाली वीरहरूले अंग्रेज फौजसँग युद्ध लडेको इतिहास छ । 

भगवती मन्दिरमा पूजा गरेर विजयको कामना गर्दै युद्धभूमितर्फ अघि बढेको कथा आज पनि सुनिदै आएको छ । जितगढीमा अंग्रेज फौजविरुद्ध नेपाली सेनाले देखाएको साहस नेपाली इतिहासको गौरवका रूपमा स्मरण गरिन्छ  नेपाल अंग्रेज युद्धका क्रममा पाल्पाको भूमिका निकै महत्वपूर्ण थियो ।  अंग्रेज फौज नेपालतर्फ आफ्नो प्रभाव विस्तार गर्दै अघि बढिरहेको अवस्थामा नेपाली पक्षले आफ्नो भूगोल, रणनीति र साहसका आधारमा प्रतिरोध गरेको थियो । जितगढीको युद्धमा नेपाली सेनाको नेतृत्व उजिरसिंह थापाले गरेका थिए । सीमित स्रोतसाधनका बाबजुद नेपाली सैनिकहरूले अंग्रेज फौजको सामना गरे र जितगढीमा महत्वपूर्ण विजय हासिल गरे  । यही विजयको इतिहाससँग तानसेनको भगवती मन्दिरको आस्था पनि जोडिएको छ । भगवती मन्दिरमा पुग्दा हामीले आज पनि त्यो इतिहास सम्झन्छौ भगवती माताको पूजा गर्छौ जात्राको इतिहास सम्झन्छौ । उजिरसिंह थापाको नाम उच्चारण गर्छौ जितगढीको विजयको चर्चा गर्छौ तर यही इतिहास सम्झदै गर्दा मेरो मनमा एउटा प्रश्न बारम्बार उठछ त्यो युद्धमा उजिरसिंह थापासँगै हतियार बोकेर युद्धभूमिमा उभिएका अरू सैनिकहरूलाई हामीले कति सम्झेका छौं । विजय एउटा व्यक्तिले मात्र हासिल गर्दैन युद्धभूमिमा नेतृत्व गर्ने सेनापति महत्वपूर्ण हुन्छन् तर त्यो नेतृत्वलाई आफ्नो जीवनको जोखिममा राखेर कार्यान्वयन गर्ने सैनिकहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । इतिहासमा सेनापतिको नाम ठूलो अक्षरमा लेखिन्छ तर सेनापतिको पछाडी उभिएका सैनिकहरूको नाम कहिलेकाही इतिहासका पानामै हराउछ  । जितगढीको इतिहासमा पनि यही प्रश्न उठाउन आवश्यक छ । उजिरसिंह थापाको योगदानलाई कसैले कम गर्न खोजेको होइन । उहाँ नेपाली इतिहासका वीर कमाण्डर हुनुहुन्छ । उहाँको नेतृत्वमा जितगढीमा प्राप्त भएको विजय पाल्पाको मात्र होइन नेपालको गौरव हो  तर उहाँसँगै युद्धभूमिमा उभिएका ती वीर सैनिकहरूको योगदान पनि हामीले उत्तिकै सम्मानका साथ सम्झनुपर्छ  । उनीहरू बिना त्यो युद्धको कथा पूरा हुँदैन । उनीहरू बिना त्यो विजयको इतिहास अधुरो हुन्छ । म जितगढी पुग्दा त्यहाँ उभिएका सैनिकका सालिकहरू हेरे । हातमा हतियार शरीरमा युद्ध पोशाक अनुहारमा साहस र अडान बोकेर उभिएका ती सालिकहरू हेर्दा मनभित्र एउटा अनौठो अनुभूति भयो ।  ती सालिकहरू बोल्दैनन् तर उनीहरूको मौन अनुहारले धेरै कुरा भनिरहेको जस्तो लाग्यो  उनीहरूले मलाई चुपचाप सोधिरहेको भान भयो खै हाम्रो पहिचान ?

सायद त्यो मेरो कल्पना थियो । सालिकहरू बोल्दैनन् तर इतिहास बोल्छ  माटो बोल्छ  पुराना किल्ला बोल्छन् । पुराना हतियार बोल्छन र कहिलेकाँही मौन सालिकहरूले पनि हाम्रो विवेकलाई प्रश्न गरिरहेका हुन्छन् । जितगढीमा उभिएर मलाई लाग्यो हामीले विजयको कथा त सुनायौ तर विजयका सबै पात्रहरूको कथा कति सुनायौ हामीले सेनापतिको नाम त सम्झियौ तर उहाँसँगै युद्धभूमिमा उभिएका सैनिकहरूको नाम कति सम्झियौ । हामीले भगवती माताको जयजयकार त ग¥यौ तर मातृभूमिको रक्षाका लागि आफ्नो जीवन जोखिममा राख्ने ती वीरहरूको नाम कति पटक उच्चारण गर्‍यौ ? यही प्रश्नले मलाई पछ्याइरहेको छ । पाल्पाको इतिहासलाई हामीले अझ फराकिलो दृष्टिले हेर्नुपर्ने समय आएको छ । भगवती मन्दिर हाम्रो आस्थाको केन्द्र हो । जितगढी हाम्रो वीरताको प्रतीक हो उजिरसिंह थापा हाम्रो सैन्य इतिहासका गौरव हुन तर यी सबैको बीचमा रहेका ती ज्ञात अज्ञात सैनिकहरूलाई इतिहासको केन्द्रमा ल्याउनुपर्छ हामीले खोज्नुपर्छ । त्यो युद्धमा सहभागी सैनिकहरू को थिए ? उनीहरू कहाँका थिए ? उनीहरूको परिवार कहाँ थियो ? उनीहरूका सन्तान अहिले कहाँ छन् ? युद्धमा को–को वीरगति प्राप्त भए ? उनीहरूको योगदान के थियो ? उनीहरूको नाम कुनै पुरानो अभिलेखमा छ कि छैन् ? कुनै परिवारसँग उनीहरूको कथा सुरक्षित छ कि छैन ? कुनै पुरानो चिठी दस्तावेज हतियार तस्बिर वा वंशावलीमा उनीहरूको इतिहास लुकेको छ कि छैन ? यी प्रश्नको खोजी आजैबाट सुरु गर्नुपर्छ किनभने इतिहास आफै सुरक्षित हुँदैन । इतिहासलाई सुरक्षित गर्नुपर्छ । आज हामीले खोजेनौ भने भोलि धेरै कुरा हराइसकेको हुनेछ । आजका ज्येष्ठ नागरिकले सुनाएको कथा भोलि उनीहरूसँगै हराउन सक्छ घरमा सुरक्षित रहेका पुराना कागजात नष्ट हुन सक्छन् । पुराना तस्बिर हराउन सक्छन् । पुस्तौदेखि सुनिदै आएको मौखिक इतिहास बिर्सिन सक्छ । त्यसैले अब पाल्पाले आफ्नै इतिहास आफै खोज्ने र सुरक्षित गर्ने अभियान चलाउनुपर्छ । मलाई लाग्छ पाल्पामा एउटा व्यवस्थित वीर सैनिक स्मृति केन्द्र आवश्यक छ  । त्यहाँ केवल एउटा व्यक्तिको सालिक होइन नेपाल अंग्रेज युद्धसँग सम्बन्धित सम्पूर्ण इतिहास राखिनुपर्छ । उजिरसिंह थापाको नेतृत्वदेखि लिएर युद्धभूमिमा उभिएका सैनिकहरूको विवरणसम्म समेटिनुपर्छ  । पुराना नक्सा राखिनुपर्छ ।  युद्धमा प्रयोग भएका हतियारका प्रतिकृति राखिनुपर्छ  । पुराना दस्तावेज र तस्बिर सुरक्षित गरिनुपर्छ  । सम्भव भएसम्म सैनिकहरूको नाम उनीहरूको गाउँ र परिवारको विवरण राखिनुपर्छ । इतिहासलाई प्रमाणका आधारमा व्यवस्थित रूपमा प्रस्तुत गर्नुपर्छ ।  तानसेनमा एउटा ठूलो वीर सैनिक स्मृति उद्यान पनि बनाउन सकिन्छ ।  त्यहाँ ज्ञात अज्ञात सबै नेपाली सैनिकहरूको सम्मान हुने गरी स्मारक बनाउन सकिन्छ । स्मारकमा कुनै राजनीतिक दलको नाम होइन नेपालको नाम ठूलो अक्षरमा लेखिनुपर्छ  । त्यहाँ एउटा यस्तो वाक्य लेखिनुपर्छ जसले पुस्तौसम्म मानिसलाई सोच्न बाध्य बनाओस् । मातृभूमिको रक्षाका लागि आफ्नो जीवन अर्पण गर्ने ज्ञात अज्ञात वीर नेपाली सैनिकहरूमा समर्पित त्यो स्मारकमा पुग्ने मानिसले केवल फोटो खिचेर फर्किनु हँुदैन । उसले इतिहास बुझेर फर्किनुपर्छ । उसले ती सैनिकको जीवन कल्पना गर्न सक्नुपर्छ  ।उसले बुझ्नुपर्छ कि आज हामीले स्वतन्त्र रूपमा आफ्नो परिचय बोकेर हिड्न पाउनुका पछाडी धेरै मानिसको योगदान छ । भगवती मन्दिरमा पनि इतिहासलाई अझ व्यवस्थित रूपमा प्रस्तुत गर्न सकिन्छ  । मन्दिरको धार्मिक महत्व आफ्नै ठाउँमा छ  तर त्यससँग जोडिएको ऐतिहासिक पक्षलाई पनि नयाँ पुस्ताले बुझ्ने गरी प्रस्तुत गर्नुपर्छ । भगवती मन्दिरमा युद्धसँग सम्बन्धित इतिहासको एउटा विशेष कक्ष वा इतिहास भित्तो बनाउन सकिन्छ  त्यहाँ जितगढी युद्धको नक्सा उजिरसिंह थापाको परिचय सैनिकहरूको योगदान भगवतीसँग जोडिएको भाकलको इतिहास र त्यसपछिको विजयको कथा प्रमाणसहित प्रस्तुत गर्न सकिन्छ । आजको पुस्ता डिजिटल पुस्ता हो  । त्यसैले मन्दिर र ऐतिहासिक स्थलमा QR Code राखेर इतिहास मोबाइलबाट पढन सकिने व्यवस्था गर्न सकिन्छ  पर्यटकले एउटा कोड स्क्यान गर्दा युद्धको पूरा इतिहास खुलोस् । कसले नेतृत्व गरे ? नेपाली पक्षको अवस्था कस्तो थियो ?, अंग्रेज फौज किन अघि बढेको थियो ? युद्ध कहाँ भयो?  कसरी प्रतिरोध भयो ?  र त्यसको ऐतिहासिक महत्व के हो ? भन्ने जानकारी सजिलै प्राप्त गर्न सकियोस् । यसरी इतिहासलाई आधुनिक प्रविधिसँग जोड्न सकिन्छ । पाल्पाको पर्यटन विकासका लागि पनि यो ठूलो अवसर हो । हामीसँग रानीमहल छ । श्रीनगर छ । भगवती मन्दिर छ । गोलाखाना छ । भैरवस्थान छ  ।अमरनारायण मन्दिर छ  । नुवाकोट छ । जितगढीसँग जोडिएको इतिहास छ  । यी सबैलाई एउटै ऐतिहासिक पर्यटन सर्किटमा जोडन सकिन्छ ।  तानसेनको भगवती मन्दिरबाट सुरु हुने यात्रा नुवाकोट हुँदै जितगढीसम्म पुग्न सक्छ  । यसलाई भगवती जितगढी वीरता सर्किट वा पाल्पा वीरता पदमार्गका रूपमा विकास गर्न सकिन्छ । पर्यटक तानसेन आएर केवल दृश्य हेरेर फर्किने होइन इतिहास पढेर फर्किने वातावरण बनाउनुपर्छ । उसले भगवती मन्दिरमा पुगेर युद्धअघि गरिएको भाकलको कथा सुन्न सकोस् । उसले उजिरसिंह थापाको नेतृत्व बुझ्न सकोस् । उसले ती वीर सैनिकहरूको योगदानबारे जान्न सकोस् । त्यसपछि जितगढी पुगेर युद्धभूमिको इतिहास आफ्नै आँखाले हेर्न सकोस् । यस्तो यात्रा केवल पर्यटन हुँदैन त्यो इतिहाससँगको प्रत्यक्ष भेट हुने छ । इतिहासलाई पर्यटनसँग जोड्न सके स्थानीय अर्थतन्त्रमा पनि ठूलो प्रभाव पर्न सक्छ ।  होटल व्यवसाय , रेस्टुरेन्ट , यातायात , स्थानीय उत्पादन , ढाका , करुवा , हस्तकला , पुस्तक तथा स्मृति सामग्रीको व्यापार बढन सक्छ  इतिहासको संरक्षणसँगै रोजगारी र आर्थिक गतिविधि बढाउन सकिन्छ । त्यसैले इतिहास संरक्षणलाई विकाससँग जोडेर हेर्नुपर्छ । तर इतिहास लेख्दा एउटा कुरा सधैँ ध्यान दिनुपर्छ । भावनासँगै प्रमाण पनि चाहिन्छ  । हामीलाई आफ्नो इतिहासप्रति गर्व छ तर गर्वको नाममा अप्रमाणित कुरा थप्नु हुँदैन । कुन सैनिक कहाँबाट गए कसले युद्धमा भाग लिए कसले वीरगति प्राप्त गरे उनीहरूको परिवार कहाँ थियो भन्ने कुरा अनुसन्धान गरेर प्रमाणित गर्नुपर्छ । जनश्रुति महत्वपूर्ण हुन्छ तर जनश्रुतिलाई प्रमाणित इतिहाससँग छुट्याएर प्रस्तुत गर्नुपर्छ । पाल्पाका गाउँ–गाउँमा अझै पुराना कथा बाँकी हुन सक्छन् । कुनै परिवारमा पुरानो चिठी होला । कसैको घरमा पुरानो हतियार होला कसैसँग पुर्खाले सुनाएको युद्धको कथा होला ।  कसैको वंशावलीमा कुनै वीर सैनिकको नाम होला ती सबै सामग्री अहिले नै खोजेर सुरक्षित गर्नुपर्छ स्थानीय सरकार इतिहासकार नेपाली सेना पुरातत्वविद् विश्वविद्यालय , पत्रकार , स्थानीय बुढापाका र नयाँ पुस्ताले मिलेर यस्तो अभियान चलाउन सक्छन् । पाल्पाली सैनिकहरूको इतिहास खोज्न एउटा अनुसन्धान समिति बन्न सक्छ ।  पुराना अभिलेख अध्ययन गर्न सकिन्छ । परिवारको मौखिक इतिहास रेकर्ड गर्न सकिन्छ । प्रमाणित विवरणलाई डिजिटल अभिलेखमा राख्न सकिन्छ । त्यसपछि पाल्पाको इतिहास केवल एउटा मन्दिरको भित्तामा सीमित रहने छैन ।  त्यो एउटा ठूलो दस्तावेज बन्नेछ  । हामीले विद्यालयमा पनि स्थानीय इतिहास पढाउनुपर्छ । बालबालिकालाई किताबमा मात्र इतिहास पढाउनु हुँदैन । 
उनीहरूलाई भगवती मन्दिर ,जितगढी,नुवाकोट ,पाल्पा दरबार संग्रहालय लैजानुपर्छ  । उनीहरूले आफ्नै आँखाले ऐतिहासिक स्थल देख्नुपर्छ ।  शिक्षकले भन्न सक्नुपर्छ आज हामी किताब पढ्न होइन इतिहास हेर्न जादैछौ त्यो अनुभवले विद्यार्थीको मनमा जीवनभरका लागि इतिहास बस्न सक्छ । आज हामी सामाजिक सञ्जालमा इतिहासका सालिकसँग फोटो खिच्छौ । मन्दिरमा फोटो खिच्छौ । किल्लामा फोटो खिच्छौ तर फोटो खिचेर फर्किएपछि हामीले त्यो इतिहास पढेका छौ कि छैनौ भन्ने प्रश्न पनि महत्वपूर्ण छ । सालिकसँग सेल्फी लिनु नराम्रो होइन तर सालिक किन बनाइएको हो भन्ने थाहा पाउनु अझ ठूलो कुरा हो । इतिहासँग फोटो खिच्नु राम्रो हो तर इतिहाससँग सम्बन्ध जोड्नु अझ राम्रो हो ।  जितगढीमा उभिएका ती सालिकहरूले मलाई यही कुरा सम्झाए । ती सालिकहरूले मानौं भनिरहेका थिए हामीलाई एक दिन फूल चढाएर नबिर्स  हाम्रो नाम खोज, हाम्रो कथा लेख,  हाम्रो परिवार सम्झ, हाम्रो योगदान नयाँ पुस्तालाई सुनाऊ ।  सायद उनीहरूलाई अरू केही चाहिएको छैन  । उनीहरूलाई पद चाहिएको छैन,  राजनीति चाहिएको छैन, प्रचार चाहिएको छैन, उनीहरूलाई केवल स्मरण चाहिएको छ । हामीले इतिहासको ऋण सम्झनाले तिर्नुपर्छ । आज हामी स्वतन्त्र रूपमा आफ्नो राष्ट्रिय झण्डा फहराइरहेका छौ । आफ्नो भाषा बोलिरहेका छौं । आफ्नो भूगोललाई आफ्नो भनेर भन्न पाएका छौं । यो सबै सहजै प्राप्त भएको होइन।  इतिहासमा धेरै मानिसले आफ्नो जीवन दिएका छन् । उनीहरूका परिवारले पीडा सहँदै राष्ट्रको इतिहासलाई अघि बढाएका छन् । कुनै आमाले आफ्नो छोरा कुर्दै जीवन बिताइन् होला ।  कुनै श्रीमतीले आफ्नो पति फर्कने प्रतीक्षा गरिन् होला । 

कुनै बालकले आफ्नो बाबुको अनुहार फेरि देख्न पाएनन् होला ।  युद्धको इतिहासमा विजयको गौरवसँगै यस्ता अनगिन्ती व्यक्तिगत पीडाहरू पनि लुकेका हुन्छन् । त्यसैले वीरहरूको सम्मान गर्दा उनीहरूको बलिदानसँगै परिवारले भोगेको पीडा पनि सम्झनुपर्छ । जितगढीको विजयलाई हामीले केवल युद्ध जितेको घटना भनेर बुझ्नु हँुदैन । त्यो राष्ट्रिय स्वाभिमानको एउटा अध्याय हो ।  सीमित स्रोतसाधनका बाबजुद शक्तिशाली अंग्रेज फौजको सामना गर्नु तत्कालीन नेपाली सैनिकहरूको साहसको प्रमाण हो ।  त्यसैले त्यो इतिहास आजको पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ तर वीरता भनेको अनावश्यक युद्ध खोज्नु होइन  । वीरता भनेको आफ्नो कर्तव्यप्रति इमानदार हुनु हो । देशको रक्षा गर्नु हो । अन्यायका विरुद्ध उभिनु हो । समाज निर्माणमा योगदान गर्नु हो । आज हाम्रो पुस्ताको युद्धको मैदान फरक छ, हामीले शिक्षा , विकास , सुशासन , भ्रष्टाचारविरुद्धको संघर्ष र राष्ट्र निर्माणका क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । 

पुराना वीरहरूको कथा आजका युवालाई जिम्मेवारी सिकाउने माध्यम बन्नुपर्छ । पाल्पाले अब एउटा ठूलो ऐतिहासिक पहल गर्नुपर्छ । भगवती मन्दिर र जितगढीलाई जोडेर एउटा व्यवस्थित ऐतिहासिक पर्यटन सर्किट बनाउनुपर्छ  । वीर सैनिकको इतिहास खोज्नुपर्छ । प्रमाणित नाम सार्वजनिक गर्नुपर्छ । उनीहरूको परिवार पहिचान गर्नुपर्छ ।  स्मारक ,संग्रहालय बनाउनुपर्छ । विद्यालयको पाठ्यक्रमसँग जोडनुपर्छ   । डिजिटल अभिलेख तयार गर्नुपर्छ । इतिहासलाई पर्यटनसँग जोडनुपर्छ । किनकि राष्ट्र केवल वर्तमानले बनेको हुँदैन  राष्टू विगतबाट बनेको हुन्छ । वर्तमानले त्यसलाई सम्हाल्छ र भविष्यले त्यसलाई अघि बढाउँछ ।  यदि विगत बिर्सियौ भने वर्तमानको जग कमजोर हुन्छ । मलाई लाग्छ अब पाल्पाले आफ्ना वीर सैनिकहरूलाई सम्झने नयाँ अभियान सुरु गर्नुपर्छ । यो अभियान कुनै व्यक्ति वा दलको हुनु हुँदैन । यो सम्पूर्ण पाल्पालीको साझा अभियान हुनुपर्छ  । यो राष्ट्रिय स्मृतिको अभियान हुनुपर्छ । भगवती मन्दिरले हामीलाई आस्था सम्झाइरहोस् । जितगढीले हामीलाई वीरता सम्झाइरहोस् । उजिरसिंह थापाले नेतृत्व सम्झाई रहनुहोस् । अनि ती ज्ञात अज्ञात सैनिकहरूले हामीलाई बलिदान सम्झाइृ रहून । म फेरि ती सालिकहरू सम्झन्छु ।  हातमा हतियार बोकेर उभिएका ती आकृतिहरू हेर्दा मनमा एउटा आवाज आउछ खै हाम्रो पहिचान ?
यो प्रश्न अब केवल सालिकहरूको होइन ।  यो पाल्पाको प्रश्न हो  । यो हाम्रो प्रश्न हो । हामीले उजिरसिंह थापालाई सम्झनुपर्छ  । उहाँको नेतृत्वको सम्मान गर्नुपर्छ ।  भगवती माताको इतिहासलाई सम्मान गर्नुपर्छ । जितगढीको विजयलाई राष्ट्रिय गौरवका रूपमा संरक्षण गर्नुपर्छ तर त्यससगै ती वीर सैनिकहरूलाई पनि सम्झनुपर्छ जसले युद्धभूमिमा आफ्नो जीवनको जोखिम मोलेर मातृभूमिको रक्षा गरे 

उनीहरूको नाम खोज्नुपर्छ  उनीहरूको गाउ खोज्नुपर्छ उनीहरूको परिवार खोज्नुपर्छ  उनीहरूको कथा लेख्नुपर्छ  उनीहरूको स्मारक बनाउनुपर्छ इतिहास केवल सालिक होइन इतिहास केवल मन्दिरको भित्ता होइन  इतिहास केवल जात्रा होइन  इतिहास केवल पुस्तक पनि होइन इतिहास भनेको मानिसको स्मृति हो । त्यसैले पाल्पाको इतिहासलाई अब भित्ताबाट बाहिर निकालौ सालिकमा उभ्याऔ संग्रहालयमा सुरक्षित गरांै विद्यालयमा पढाऔं । पर्यटनको बाटो बनाऔ । डिजिटल संसारमा पुर्‍याऔ र सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो मनमा राखौं । कुनै दिन एउटा बालक भगवती मन्दिरमा पुगेर सोधोस् यहाँ के भएको थियो ? उसको शिक्षकले गर्वका साथ भन्न सकोस् । यो त्यही ठाउँ हो जहाँ नेपाली वीरहरूले युद्धमा जानुअघि विजयको भाकल गरेका थिए । त्यसपछि उसले फेरि सोधोस उनीहरू को थिए ? शिक्षकसँग एउटा पूरा अभिलेख होस् । उहाँ उजिरसिंह थापा हुनुहुन्थ्यो । उहाँसँगै यी यी सैनिकहरू थिए । उनीहरू यी यी ठाउँबाट आएका थिए । उनीहरूको योगदान यस्तो थियो । उनीहरूमध्ये कतिपय युद्धमा वीरगति प्राप्त भए । उनीहरूको परिवारको इतिहास पनि यही सुरक्षित छ । त्यो दिन मात्र हामी भन्न सक्ने छौ । हामीले आफ्नो इतिहासलाई साच्चिकै सम्मान गरेका छौ किनकि राष्ट्रको इतिहास एक जनाले लेख्दैन । इतिहास धेरै हातले लेखिन्छ  धेरै पसिनाले लेखिन्छ  धेरै आँसुले लेखिन्छ  र कहिलेकाही धेरै रगतले लेखिन्छ । त्यसैले जितगढीको विजयको कथा सुनाउँदा उजिरसिंह थापाको नामसँगै ती ज्ञात अज्ञात सैनिकहरूको नाम पनि सम्झिनुपर्छ । भगवती मन्दिरमा भाकल भएको थियो ।  जितगढीमा विजय भएको थियो तर त्यो विजयको पूर्ण कथा तब मात्र पूरा हुनेछ जब हामी त्यस युद्धभूमिमा उभिएका प्रत्येक वीर सैनिकको इतिहास खोज्नेछौ । उनीहरूको पहिचान स्थापित गर्ने छौ । र नयाँ पुस्तालाई उनीहरूको योगदान सुनाउनेछौं । मलाई आज पनि ती सालिकहरूले चिच्याएर भनिरहेको भान हुन्छ खै हाम्रो पहिचान ? अब पाल्पाले त्यसको उत्तर दिनुपर्छ तिमीहरू बिर्सिएका छैनौ  तिमीहरूको इतिहास खोजिने छ ।  तिमीहरूको नाम लेखिनेछ ।  तिमीहरूको स्मारक बन्नेछ तिमीहरूको कथा पुस्तौसम्म सुनाइने छ । त्यही हाम्रो श्रद्धाञ्जली हो । त्यही हाम्रो जिम्मेवारी हो त्यही हाम्रो इतिहासप्रतिको इमानदारी हो र त्यही पाल्पाको वास्तविक पहिचान हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update