Shittalpati
आफ्नै पार्टीका सकारात्मकसँगै नकारात्मक पक्ष लेख्न पनि नडराउनुस् : सभापति श्रेष्ठ

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले आफ्नै शुभेच्छुक पार्टीका सकारात्मक कामसँगै कमजोरी र नकारात्मक पक्षसमेत निर्भीक भएर लेख्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाको १०औँ जिल्ला अधिवेशनलाई आइतबार तानसेनमा सम्बोधन गर्दै सभापति श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले पत्रकारिता कुनै दलको पक्षपोषण गर्ने नभई सत्य, तथ्य र जनताको पक्षमा सूचना प्रवाह गर्ने माध्यम हुनुपर्नेमा जोड दिए । सभापति श्रेष्ठले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन भएकाले प्रेस युनियनले नियमित अधिवेशनमार्फत नेतृत्व चयन र संगठनलाई गतिशील बनाउनु सकारात्मक भएको बताए । राजनीतिक दलका नेताहरूले कार्यकर्ता र जनताको भावनाभन्दा विचौलियाको पछि लागेर काम गर्दा जनतामा निराशा बढेको स्वीकार गर्दै श्रेष्ठले राजनीतिक दलहरूले पत्रकारिता पेशाप्रति पर्याप्त ध्यान दिन नसकेको बताए । उनले प्रेस युनियनजस्ता संस्थाले विचार, सिद्धान्त, संगठन र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले प्रेस युनियन नेपाली कांग्रेसको भ्रातृ संगठन नभई शुभेच्छुक संस्था मात्र भएको स्पष्ट पारे । उनले सञ्चारमाध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापन कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरे । नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सरकारबाट गतिविधि भइरहेको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सभापति विष्णु भण्डारीले पत्रकारिताको स्वतन्त्रता र विश्वसनीयतामा आँच नआउने गरी काम गर्न पत्रकारलाई आग्रह गरे । उनले पार्टी सभापति रवि लामिछाने पनि पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएको उल्लेख गर्दै पत्रकारका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।  नेपाली काँग्रेस गुल्मीका सचिव तथा प्रेस युनियन पाल्पाका पूर्वअध्यक्ष जगदीश भट्टराईले सरकारले जनताको सूचना पाउने अधिकारलाई कमजोर बनाउने काम गरेको बताए । मिडिया बन्द हुने अवस्था सिर्जना हुँदा पनि राजनीतिक दलहरूले पर्याप्त आवाज नउठाएकोमा उनले दुःख व्यक्त गरे । नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले लोकतान्त्रिक परिवर्तनका हरेक चरणमा पत्रकारको महत्वपूर्ण भूमिका रहे पनि राजनीतिक दलहरू सत्तामा पुगेपछि पत्रकारलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको बताए । उनले पत्रकारले सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले सञ्चारमाध्यमले विगतदेखि प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापन कटौती गर्न नहुने बताए । उनले पत्रकारले व्यक्तिगत तथा राजनीतिक आस्थाभन्दा माथि उठेर समाचार लेख्नुपर्ने धारणा राखे । राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाका अध्यक्ष विशाल दर्लामीले सरकारले विभिन्न बहानामा सञ्चारमाध्यम तथा पत्रकारमाथि दवाब सिर्जना गरी त्रसित बनाउने काम गरेको बताए । उनले प्रेसमाथिको हस्तक्षेपविरुद्ध हुने आन्दोलनमा आफ्नो पार्टीको साथ र सहयोग रहने बताए । प्रेस युनियन पाल्पाका संस्थापक अध्यक्ष झपेन्द्र गहिरेले सरकारलाई प्रेसविरोधी गतिविधि सच्याउन आग्रह गर्दै सबै राजनीतिक दल एकजुट भएर प्रेसविरोधी गतिविधि रोक्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले राज्यको चौथो अंगका रूपमा रहेको प्रेसलाई कमजोर बनाउने नीति सरकारले अघि सारेको आरोप लगाए । सरकारी विज्ञापन रोक्ने तथा लोककल्याणकारी विज्ञापन कटौती गर्ने निर्णयले सञ्चारमाध्यम धरासायी हुने भन्दै उनले सञ्चार क्षेत्रलाई कमजोर बनाउने प्रयास तत्काल रोक्न माग गरे । नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाका सचिव लोकनाथ अधिकारीले पत्रकारिता पेशालाई मर्यादित, निष्पक्ष र जिम्मेवार बनाउन आग्रह गरे ।

प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले सञ्चार क्षेत्र संकटमा रहेकाले सबै पत्रकार संगठन एकजुट भएर सरकारमाथि दबाब सिर्जना गर्नुपर्ने बताए । उनले स्थानीय सरकारले स्थानीय सञ्चारमाध्यमको सबलीकरण तथा श्रमजीवी पत्रकारको हितमा काम गर्नुपर्नेमा जोड दिए । प्रेस सेन्टर नेपाल पाल्पाका अध्यक्ष कृष्ण दर्नालले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा प्रेस युनियनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सञ्चारमाध्यमलाई खुम्च्याउने गतिविधि रोक्नुपर्ने बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंहले निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सुमधुर सम्बन्ध कायम गरी सहकार्य गर्नुपर्ने बताए । पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्कीले पत्रकारले इमान्दारीपूर्वक काम गर्दै जनताको विश्वास कायम राख्नुपर्ने बताए । लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव कृष्णप्रसाद पराजुलीले सकारात्मक सोचका साथ काम गर्न आग्रह गर्दै कलेजले सञ्चारकर्मीसँग सहकार्य गर्दै आएको बताए । पुरस्कारदाता बुद्धिप्रसाद शर्माले पत्रकारको हौसला बढाउन अक्षयकोषका लागि सहयोग गरेको जानकारी दिए । अधिवेशनमा शाखा अध्यक्ष मन गहिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि शाखाले गरेका गतिविधिबारे जानकारी गराइन् । शाखामा हाल ६१ जना सदस्य रहेको जनाइएको छ । अध्यक्ष गहिरेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र रायमाझीले स्वागत र सचिव विष्णु घिमिरेले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update