पाल्पा, तानसेनसहित पाल्पाका विभिन्न नेवारी बस्तीमा दिवंगत आफन्तको सम्झनामा परम्परागत गाईजात्रा निकालिएको छ । वर्षदिनभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्पराअनुसार तानसेन, हार्थोक, ताहुँ, भैरवस्थान, पेलावास, रिडीलगायतका क्षेत्रमा गाईजात्रा निकालिएको हो ।
विशेषगरी नेवार समुदायमा प्रचलित गाईजात्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको पर्वका रूपमा मनाइँदै आएको छ । पाल्पामा पनि नेवारी समुदायले आ–आफ्नो परम्परा र मान्यताअनुसार गाईजात्रा मनाउने गरेका छन् । कतिपय स्थानमा धार्मिक विधि र संस्कारलाई प्राथमिकता दिइन्छ भने कतिपय समुदायमा मनोरञ्जनलाई समेत जोड दिइएको पाइन्छ । विगतमा आधुनिक मनोरञ्जनका साधन र प्रविधिको विकास नभएका बेला विभिन्न जात्रा तथा पर्व नै समुदायका प्रमुख मनोरञ्जनका माध्यम थिए । त्यसैले गाईजात्राले धार्मिक तथा सांस्कृतिक महत्वसँगै सामाजिक मनोरञ्जनको पक्षलाई समेत समेट्दै आएको संस्कृतिविद् निर्मल श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार गाईजात्रालाई वर्षभरिमा भएका मृत्युको गणना गर्ने दिनका रूपमा समेत लिने गरिन्छ ।
राजा प्रताप मल्लका छोराको निधनपछि शोकमा रहेकी रानीलाई अन्य मानिसका परिवारमा पनि मृत्यु हुने गरेको सम्झाउन तथा वर्षभरि मृत्यु भएकाहरूको सम्झना गराउने उद्देश्यले गाईजात्रा निकाल्ने परम्पराको सुरुवात भएको मान्यता छ । पछिल्लो समय नेवार समुदायको परम्पराको प्रभावमा अन्य समुदायले समेत गाईजात्रा मनाउन थालेका छन् । मृतकको घरबाट गाईजात्रा निकाल्दा दिवंगत आत्माले स्वर्गमा बास पाउने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन यमलोकको ढोका खुल्ने र मृतकको आत्माले सहज रूपमा स्वर्ग जाने मान्यताका कारण जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने परम्परा रहेको स्थानीयको भनाइ छ । तानसेनमा मृतकका परिवार तथा आफन्तले शनिबार विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसहित गाईजात्रा निकालेका छन् । मानिसलाई राधाकृष्ण तथा विभिन्न देवीदेवताका रूपमा सिंगारेर सहभागी गराउने, निर्गुण भजन तथा कीर्तन गर्ने र मृतकको तस्बिरसहित नगर परिक्रमा गर्ने गरिएको छ ।
जात्रामा आफन्त, इष्टमित्र तथा साथीभाइको समेत सहभागिता रहने गरेको छ । आर्थिक अवस्था कमजोर भएका परिवारले भने परम्परागत रूपमा छोराहरूलाई जोगीको रूप धारण गराई भिक्षा माग्न लगाउने गरेका छन् । कतिपयले वास्तविक गाईलाई डो¥याएर जात्रामा सहभागी गराएका छन् भने कतिपयले कपडाबाट गाई, बाँस तथा तामचा बनाएर प्रदर्शन गर्ने गरेका छन् ।यसले गाईजात्राको मौलिकता र परम्परागत संस्कृतिलाई जीवित राख्न योगदान पु¥याएको स्थानीय बताउँछन् । तर पछिल्ला वर्षमा मानिसको बसाइँसराइ, बदलिँदो जीवनशैली, बढ्दो खर्च तथा विभिन्न कारणले तानसेनमा गाईजात्राको पुरानो चहलपहल र रौनकमा कमी आउन थालेको छ । तानसेनबाट नेवारी समुदायको बसाइँसराइ बढ्दै जाँदा परम्परागत कला, संस्कृति र जात्रा संरक्षणमा समेत चुनौती थपिएको छ । गाईजात्राको मौलिकता जोगाउन तथा बढ्दो खर्चलाई व्यवस्थित गर्न यस वर्ष नेवा गुठी तानसेन, पाल्पाले सामूहिक रूपमा गाईजात्रा निकालेको छ ।
नेवारी समुदायको परम्परा र संस्कृति संरक्षणसँगै सबैलाई सहभागी गराउने उद्देश्यले सामूहिक रूपमा जात्रा निकालिएको नेवा गुठी तानसेनका अध्यक्ष प्रकाशनाथ गंगोलले बताए । तानसेनमा निकालिने विभिन्न जात्रा पाल्पा दरबारसम्म पु¥याउने पुरानो परम्परा पनि छ । तत्कालीन समयमा पाल्पा दरबार पश्चिम क्षेत्रको प्रमुख प्रशासनिक केन्द्र रहेकाले तानसेनबाट निकालिने विभिन्न जात्रा दरबारसम्म पु¥याउने चलन बसेको स्थानीय संस्कृतिविद्हरू बताउँछन् । गाईजात्रा लिएर दरबार क्षेत्रमा पुगेका सहभागीलाई स्थानीय तथा सर्वसाधारणले मिठाई, पानी, फलफूल तथा दूध खुवाएर स्वागत गरेका थिए ।


