Shittalpati
आज राष्ट्रिय सूचना दिवस मनाइँदै

पाल्पा, राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नागरिकको सूचनाको हक सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष भदौ ३ गते यो दिवस मनाउने गरिएको हो ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको स्मरणमा नेपालमा हरेक वर्ष यस दिन राष्ट्रिय सूचना दिवस मनाउने गरिएको पाइन्छ । सूचना लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार भएकाले नागरिकले सार्वजनिक निकायसँग सूचना माग्ने, प्राप्त गर्ने र त्यसको प्रयोग गर्ने अधिकारलाई दिवसले थप स्थापित गर्न मद्दत गर्दै आएको छ । सार्वजनिक निकायलाई पारदर्शी, जवाफदेही र नागरिकप्रति उत्तरदायी बनाउन सूचनाको हक महत्वपूर्ण माध्यमका रूपमा रहेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायमा रहेको सार्वजनिक सरोकारका सूचना नागरिकले माग्न र प्राप्त गर्न सक्ने कानुनी व्यवस्था गरेको छ । सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रवर्तनका लागि राष्ट्रिय सूचना आयोगले समेत काम गर्दै आएको छ ।

पछिल्लो समय सूचना प्रविधिको तीव्र विकाससँगै नागरिकले सूचना प्राप्त गर्ने माध्यम र स्वरूपमा पनि व्यापक परिवर्तन आएको छ । सरकारी निकायबाट प्रवाह हुने सूचनालाई सहज, सरल, विश्वसनीय र समयमै नागरिकसमक्ष पुर्‍याउने विषय अहिले थप महत्वपूर्ण बनेको छ । यससँगै गलत सूचना, भ्रामक सामग्री र अपुष्ट सूचनाको बढ्दो प्रवाहले विश्वसनीय सूचनाको महत्व पनि बढाएको छ । यस्तो अवस्थामा सार्वजनिक निकायले पारदर्शी रूपमा सूचना उपलब्ध गराउने र नागरिकले पनि प्राप्त सूचनाको सत्यता जाँच गरी जिम्मेवार ढङ्गले प्रयोग गर्ने आवश्यकता देखिएको छ ।

राष्ट्रिय सूचना दिवसले नागरिकको सूचनाको हकलाई व्यवहारमै प्रभावकारी बनाउन, सार्वजनिक निकायमा सूचना संस्कृतिको विकास गर्न तथा पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्न सरोकारवालालाई थप जिम्मेवार बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ । सूचनाको हक केवल सूचना माग्ने अधिकार मात्र नभई लोकतन्त्रलाई बलियो बनाउने नागरिक अधिकार भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि राज्यका सबै निकाय, सञ्चार क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको धारणा छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update