स्याङ्जा, जिल्ला फेदीखोला गाउँपालिका–२, आगेकुना क्षेत्रमा ठूलो परिमाणमा घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नस्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको मातहतमा रहेको प्रहरी चौकी फेदीखोलाबाट खटिएको प्रहरी टोलीले आगेकुना क्षेत्रमा चेकजाँचका क्रममा ठूलो परिमाणमा घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नस्ट गरेको हो । प्रहरी सहायक निरीक्षक (असई) आशिष थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित चेकजाँच तथा निगरानीका क्रममा उक्त क्षेत्रमा चेकजाँच गरेको थियो । सो क्रममा प्रहरीले अन्दाजी ४० लिटर तयारी घरेलु मदिरा बरामद गरेको हो । त्यसैगरी, घरेलु मदिरा उत्पादनमा प्रयोग हुने ३० लिटर कच्चा पदार्थ समेत फेला परेको प्रहरीले जनाएको छ । तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी प्रहरीले जम्मा ७० लिटर बरामद गरेको हो ।
बरामद गरिएको घरेलु मदिरा तथा कच्चा पदार्थलाई स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा बुद्धिजीवीहरूको रोहवरमा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । घरेलु रूपमा उत्पादन तथा बिक्री–वितरण हुने अवैध मदिराका कारण समाजमा विभिन्न किसिमका सामाजिक तथा आपराधिक समस्या निम्तिन सक्ने भन्दै प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानी र चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । विशेषगरी ग्रामीण तथा बजार क्षेत्र आसपासमा अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा कारोबार हुने गरेको पाइएपछि प्रहरीले त्यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ ।
प्रहरीले कानुनविपरीत हुने घरेलु मदिराको उत्पादन, बिक्री–वितरण तथा ओसारपसार नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । यस्ता गतिविधि भइरहेको जानकारी पाएमा सम्बन्धित प्रहरी कार्यालयमा सूचना दिन समेत प्रहरीले अनुरोध गरेको छ । फेदीखोला क्षेत्रमा भएको पछिल्लो कारबाहीलाई प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियानकै निरन्तरताका रूपमा लिएको छ ।


