Shittalpati
गणेश जात्राअघि श्रीनगर गणेश मन्दिरमा सरसफाइ

पाल्पा, ऐतिहासिक गणेश जात्रा नजिकिँदै गर्दा तानसेनस्थित श्रीनगर गणेश मन्दिर परिसरको सरसफाइ तथा व्यवस्थापनलाई तीव्रता दिइएको छ । भदौ १५ गते हुने गणेश जात्रालाई लक्षित गर्दै श्री ७ रणउजिरेश्वरी भगवती युवा क्लबले मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरेको हो ।

जात्राका क्रममा ठूलो संख्यामा भक्तजन तथा श्रद्धालुहरू मन्दिरमा पुग्ने भएकाले धार्मिक स्थललाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबका अध्यक्ष आकाश श्रेष्ठले बताए । धार्मिक तथा सांस्कृतिक पर्वलाई सभ्य, व्यवस्थित र वातावरणमैत्री बनाउन स्थानीय समुदाय, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थासँग सहकार्य गरी आवश्यक तयारी अगाडि बढाइएको उनको भनाइ छ । “धार्मिक पर्वको संरक्षणसँगै पर्वसँग जोडिएका स्थलको स्वच्छता र व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ,” श्रेष्ठले भने । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा सरसफाइ तथा सामाजिक अभियान सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने उनले बताए ।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी तथा श्री ७ रणउजिरेश्वरी भगवती युवा क्लबका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो । सहभागीहरूले मन्दिर परिसर, प्रवेश तथा आवतजावत गर्ने बाटो र आसपासका खुला क्षेत्रमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए ।  श्रीनगर गणेश मन्दिरका गुठीयार हिमाल दत्त श्रेष्ठले गणेश जात्रा पाल्पाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताए । उनले जात्राको मौलिकता जोगाउँदै त्यससँग जोडिएका धार्मिक स्थललाई स्वच्छ र व्यवस्थित राख्नुपर्नेमा जोड दिए । श्रीनगर सरसफाइ अभियन्ता शम्भु आचार्यले गणेश जात्रा र अघिल्लो दिन हुने जाग्रामलाई व्यवस्थित बनाउन अभियान सञ्चालन गरिएको बताए ।

गणेश समिति सदस्य दिपा श्रेष्ठले मन्दिर परिसरको सरसफाइमा सहयोग गर्ने क्लब परिवार, सुरक्षा निकाय तथा टोल विकास संस्थाप्रति धन्यवाद व्यक्त गरिन् । कार्यक्रम क्लवका उपाध्यक्ष सरिन शाक्यले आगामी दिनमा पनि सरसफाइलाई निरन्तरता दिने बताए ।  गणेश जात्रा तानसेनको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पुरानो परम्परा भएकाले जात्राको तयारीसँगै मन्दिर तथा आसपासका क्षेत्रको सरसफाइ र व्यवस्थापनले पर्वलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ क्लवका सचिव सन्तोष श्रेष्ठले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update