Shittalpati
अवैध लागूऔषधसहित १४ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार स्याङ्जा, कास्की, मोरङ, झापा, चितवन, सुनसरी लगायतका ठाउँहरुबाट अवैध लागूऔषध सहित १४ जना पक्राउ परेका हुन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१ रामबाच्छा ठाँटीबाट बुप्रेनोर्फिन ३९ एम्पुल, डाईजेपाम ३८ एम्पुल र फेनारगन ३९ एम्पुलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वालिङ–१ का ३० वर्षीय सुवाश काफ्ले क्षेत्री र भीरकोट–२ बयरघारीका २६ वर्षीय शहिद मिया रहेका छन् । उनीहरू ग १८ प ५४९७ नम्बरको मोटरसाइकलमा सवार थिए । मोरङको विराटनगर महानगरपालिका–१९ मिलन चोकबाट २८ ग्राम ६ सय मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित सुन्दरहरैँचा–१ का ३३ वर्षीय धुर्व प्रसाद रिजालसहित दुई जना पक्राउ परेका छन् ।

उनीहरूले प्रयोग गरेको प्रदेश १–०२–०५२ प ६४८८ नम्बरको स्कुटरसमेत प्रहरीले बरामद गरेको छ ।यस्तै, मोरङकै जहदा गाउँपालिका–६ पोखरीया चोकबाट करिब ७ किलो गाँजासहित धनकुटा सहिदभूमि गाउँपालिका–३ छिङताङका १८ वर्षीय किशोर पक्राउ परेका छन् । उनी बा.५ च ६७०६ नम्बरको कारमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । यस्तै झापाको हल्दीबारी गाउँपालिका–२ पग्लाबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १९० मिलिग्रामसहित २५ वर्षीय आषिक हेमरम पक्राउ परेका छन् ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुनाबाट ४० वर्षीय अनुप छत्कुलीलाई ११ हजार ७६८ ट्याबलेट नियन्त्रित लागूऔषध टापेन्टाडोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो।तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिङ पुलजिपबाट डाईजेपाम १२ एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुलसहित भारतका २३ वर्षीय भुलन खानसहित तीन जना पक्राउ परेका छन् । उनीहरू युपि ५६ बिके ६७६० नम्बरको कारमा सवार थिए । यसैगरी, चितवनको भरतपुर महानगरपालिका–१ बाट भरतपुरका २१ वर्षीय रिशु रौनियारसहित तीन जनालाई ट्रामाडोल ७५ ट्याबलेट र एनारगन ७५ ट्याबलेटसहित पक्राउ गरिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update