पाल्पा, देशका विभिन्न स्थानबाट अबैध लागुऔषसहित ११ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवन, कास्की, दाङ, भक्तपुर, तनहुँ, झापा, कैलाली र सुनसरीबाट प्रहरीले अबैध लागुऔषसहित ११ जना पक्राउ गरेको हो ।
चितवनको रत्ननगर नगरपालिका–३ का २५ वर्षीय आशिष पुरी र रत्ननगर–७ बागमाराका ३८ वर्षीय दिनेश सुनारलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम र नगद २७ हजार रुपैयाँसहित पक्राउ गरिएको छ । कास्कीको पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट धनकुटा घर भई पोखरा–२५ हेम्जा बस्ने २३ वर्षीय मनोज लिम्बु डाईजेपाम, नोर्फिन र फेनारगन ४÷४ एम्पुलसहित पक्राउ परेका छन् ।
यस्तै, पोखरा–३२ खुदीखोलाबाट पोखरा–२२ पुम्दीभुम्दीका २१ वर्षीय शौरभ परियारलाई नोर्फिन २०, डाईजेपाम २१ र फेनारगन २० एम्पुल तथा नगद २१ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैका सरद पाण्डे र उनकी श्रीमती भिमा भण्डारीलाई घरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित पक्राउ गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमोडबाट काठमाडौं महानगरपालिका–१० अनामनगरका ३२ वर्षीय अजय डंगोललाई टूामाडोल ८ सय १२ ट्याब्लेटसहित पक्राउ गरिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ प्रगतिटोलमा मासु पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय साजन श्रेष्ठलाई ट्रामाडोल ३ सय र प्रोमेथाजाइन ३ सय २५ ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट बिर्तामोड–२ गरामनीका २१ वर्षीय अजय रेग्मीलाई ३ ग्राम ११ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट २० वर्षीय अबिनाश चौधरीलाई १ सय ७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित तथा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट २५ वर्षीय अस्रफ मियालाई २ सय ३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


