Shittalpati
सामाजिक सद्भाव कायम राखौं

सुनसरीको देवानगन्जमा गत आइतबार  भएको दुईपक्षीय झडपले विकराल रुप लिएको छ । उक्त घटनामा तीन जनाले अकालकै ज्यान गुमाएका  छन् भने कैयौं घाइते भएका छन् । यो अत्यन्त दुःखद् हो । यो नहुनुपर्ने घटना भएको हो । सानो विवादले ठूलो रूप लिनसक्छ भन्ने अनुमान गरेर आवश्यक सुरक्षा व्यवस्था, स्थानीय समुदायसँग संवाद, धार्मिक अगुवाहरूसँग समन्वय तथा पूर्वतयारी गर्न सकिएको भए अवस्था नियन्त्रणबाहिर जाने सम्भावना न्यून हुन सक्थ्यो । दुर्भाग्यवश नेपालमा अझै रोकथामभन्दा प्रतिक्रिया दिने प्रवृत्ति हाबी छ । घटना भएपछि मात्र सुरक्षा बल परिचालन गरिन्छ, छानबिन समिति बनाइन्छ, दोषी खोज्ने प्रक्रिया सुरु हुन्छ र केही दिनपछि विषय विस्तारै सेलाउँदै जान्छ । तर, यस्ता घटनाको वास्तविक कारण, कमजोरी र सुधारका उपाय भने कार्यान्वयनमा आउँदैनन् । यही कारणले उस्तै प्रकृतिका घटना बारम्बार दोहोरिने गरेका छन् ।


त्यहाँको घटनाले हिंसात्मक रूप लिँदै मधेसका अन्य जिल्ला र देशका विभिन्न भूभागमा तनावको खतरा बढाएको छ । झडप, आगजनी र तोडफोडका घटनाले शुक्रबारसम्म आइपुग्दा विभिन्न जिल्लाका विभिन्न स्थानमा कफ्र्यु र निषेधाज्ञा लाग्यो । शनिबारदेखि भने केही खुकुलो भएको छ । सुनसरीका १० स्थानीय तह र धनुषाको जनकपुर क्षेत्रमा कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ भने सिरहाको लहानमा पनि कफ्र्यु हटाइएको छ । गोलबजारमा भने कफ्र्यु यथावत् राखिएको छ । ढिलो गरी भए पनि सरकारले आगो सरी सल्किन लागेको धार्मिक र जातीय द्वन्द्वलाई हल गर्ने प्रयास गरेको छ । यसलाई सकरात्मक रुपमा दिनुपर्छ । यसमा पर्याप्त सुझबुझ र बुद्धिमत्ता प्रयोग गरी समाजलाई शान्ति र सद्भावको बाटोमा हिँडाउनु हामी सबैको पहिलो र साझा कर्तव्य हुन आएको छ । सुनसरीको घटना केवल एउटा जिल्लाको समस्या होइन, यो सम्पूर्ण राष्ट्रका लागि चेतावनी हो । विगतका गल्तीबाट सिक्ने, कानुनको निष्पक्ष कार्यान्वयन गर्ने, धार्मिक सहिष्णुतालाई बलियो बनाउने र समयमै सम्भावित जोखिम रोक्ने संस्कारको विकास गर्न आवश्यक छ । सामाजिक सद्भाव कुनै पनि सभ्य, समुन्नत र समृद्ध समाजको आधार हो । विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले भरिएको हाम्रो समाजको वास्तविक शक्ति नै विविधताबीचको एकता हो । वर्तमान समयमा सामाजिक सञ्जालको तीव्र विस्तार, राजनीतिक द्रुवीकरण, धार्मिक तथा जातीय पूर्वाग्रह, अफवाह र भ्रामक सूचनाका कारण समाजमा विभाजन र अविश्वास बढ्ने खतरा देखिएको छ । यस्ता गतिविधिले सामाजिक सद्भाव कमजोर बनाउने मात्र होइन, राष्ट्रिय एकतामाथि समेत चुनौती सिर्जना गर्न सक्छ । तसर्थ हरेक नागरिकले सत्य र तथ्यमा आधारित सूचना मात्र ग्रहण गर्ने तथा जिम्मेवार अभिव्यक्ति दिने संस्कारको विकास गरी सामाजिक सद्भाव कायम राख्न हरसम्भव प्रयास गर्ज जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update