Shittalpati
हेपाटाइटिस दिवसको सन्दर्भ

हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन पनि हो । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाउने गरिन्छ । यस दिवसको उद्देश्य हेपाटाइटिसका विभिन्न प्रकार, त्यसबाट हुने स्वास्थ्य जोखिम, समयमै परीक्षणको आवश्यकता तथा रोकथाम र उपचारबारे जनचेतना फैलाउनु हो । विश्व स्वास्थ्य संगठनका अनुसार हेपाटाइटिसका कारण हरेक वर्ष लाखौँ मानिसले ज्यान गुमाइरहेका छन् । तर विडम्बना, धेरै संक्रमित व्यक्तिलाई आफू संक्रमित भएको जानकारीसमेत हुँदैन । हेपाटाइटिस भनेको कलेजो (लिभर) मा हुने सूजन हो । यो मुख्यतः भाइरसका कारण हुन्छ । हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रमुख प्रकार छन् । यीमध्ये हेपाटाइटिस बी र सी दीर्घकालीन संक्रमणका प्रमुख कारण हुन्, जसले कलेजोको सिरोसिस र कलेजोको क्यान्सरसम्म निम्त्याउन सक्छ । समयमै परीक्षण र उपचार गर्न सके यस्ता गम्भीर अवस्थाबाट जोगिन सकिन्छ ।

कलेजो सुन्निनुलाई हेपाटाइटिस भनिन्छ । यो अवस्था आफै सीमित भएर जान पनि सक्छ । कतिपय अवस्थामा बढ्दै गएर कलेजोमा दाग लाग्ने, सिरोसिस हुने वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्छ । हेपाटाइटिस गराउने मुख्य कारण हेपाटाइटिस भाइरसहरु हुन् । यो अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखापर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसविरुद्धको सबैभन्दा प्रभावकारी उपाय भनेको रोकथाम हो । हेपाटाइटिस बी विरुद्ध सुरक्षित र प्रभावकारी खोप उपलब्ध भएकाले सबै बालबालिका तथा जोखिममा रहेका व्यक्तिले खोप लगाउनुपर्छ । साथै, व्यक्तिगत सरसफाइ, सुरक्षित खानपान, संक्रमणको जोखिम भएका व्यवहारबाट बच्ने र आवश्यक परे नियमित स्वास्थ्य परीक्षण गराउने बानीले पनि रोगको जोखिम कम गर्न मद्दत गर्छ । सरकार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम, शैक्षिक संस्था र नागरिक समाजले संयुक्त रूपमा सचेतना अभियान सञ्चालन गर्न आवश्यक छ । हेपाटाइटिसबारे फैलिएका भ्रम हटाउँदै वैज्ञानिक जानकारी जनस्तरसम्म पु¥याउनु आजको आवश्यकता हो । रोग लुकाउने होइन, समयमै परीक्षण गराउने र आवश्यक उपचार सुरु गर्ने संस्कृतिको विकास हुनुपर्छ । विश्व हेपाटाइटिस दिवस केवल औपचारिक कार्यक्रम गर्ने दिन होइन। यो प्रत्येक नागरिकलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्न प्रेरित गर्ने अवसर हो । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update