Shittalpati
कैलाशनगर–बतासेडाँडा–ढुङाखानी : पाल्पाको उदाउँदो पर्यटन गन्तव्य

बिदुर घिमिरे

पाल्पा जिल्ला प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र ऐतिहासिक, सांस्कृतिक विविधताले भरिपूर्ण जिल्ला हो । यहाँ थुप्रै पर्यटकीयस्थलहरु छन् । पछिल्लो समय तानसेनका कैलाशनगर–बतासेडाँडा–ढुङाखानी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । हरियाली वन, मनोरम पहाडी दृश्य, स्वच्छ वातावरण र शान्त परिवेशले यस क्षेत्रलाई उत्कृष्ट पर्यटन गन्तव्यको रूपमा चिनाएको छ । बतासेडाँडाबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्त मनमोहक हुन्छ । यहाँबाट पाल्पाका विभिन्न गाउँबस्ती, हरिया पहाड तथा हिमशृङ्ख्लाको दृश्यले पर्यटकहरूलाई लोभ्याउँछ ।

कैलाशनगर क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम भएकाले परिवारसहित घुम्न आउनेहरूको संख्या पनि बढ्दै गएको छ । ढुङाखानी क्षेत्र ग्रामीण जीवनशैलीको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त स्थान हो । यहाँ आउने पर्यटकहरूले स्थानीय संस्कृति, परम्परा र मौलिक खानाको स्वाद लिन पनि पाउँछन् । यसले स्थानीय पर्यटनसँगै ग्रामीण अर्थतन्त्रलाई पनि टेवा पुर्‍याएको छ । यदि यस क्षेत्रमा सडक, खानेपानी, सूचना केन्द्र, विश्रामस्थल तथा अन्य पर्यटन पूर्वाधारको थप विकास गर्न सकिएमा कैलाशनगर–बतासेडाँडा–ढुङाखानी पाल्पाको मात्र नभई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने प्रबल सम्भावना रहेको छ । यसर्थ कैलाशनगर, बतासेडाँडा  र ढुङाखानी क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको विषयमा केन्द्रीयत रहेर यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ । तानसेन नगरपालिका–५ मा अवस्थित कैलाशनगर, बतासेडाँडा ,ढुङाखानी प्राकृतिक सौन्दर्यले भरिपूर्ण र पर्यटनका दृष्टिले अत्यन्तै सम्भावना बोकेको तानसेनको मुख्य स्थान हो । समुद्री सतहबाट करिब १,३५० मिटर उचाइमा रहेको यस स्थानबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका मनमोहक हिमशृङ्खलाको दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । नेपालको दामनपछि यति सहज रूपमा हिमशृङ्खला अवलोकन गर्न सकिने उत्कृष्ट गन्तव्यमध्ये कैलाशनगर ,बतासेडाँडा , ढुङाखानी बन्न सक्ने पर्याप्त आधारहरू छन् ।

यहाँको अर्को विशेषता हो– वर्षभरि बहने शीतल हावा र सदाबहार सुहाउँदो मौसम । सम्भवतः यही कारणले यस स्थानको नाम नै बतासेडाँडा रहन गएको हो । डाँडाको एकातर्फ बस्ती र अर्कोतर्फ खुला सार्वजनिक जग्गा भएकाले घरकै आँगन, कौसी वा झ्यालबाट हिमालको मनोरम दृश्य हेर्न सकिन्छ । यस्तो प्राकृतिक बरदान सबै ठाउँमा पाइँदैन । मुख्य बजारबाट जम्मा २÷३ किलोमिटर दूरीमा रहेको यो स्थान पैदल यात्राका लागि पनि उपयुक्त छ । गर्मीयाममा चिसो हावा खान, चिया–कफीको स्वादसँगै केही घण्टा बिताउन आउनेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटक र फेसबुकमार्फत यस स्थानको सौन्दर्य व्यापक रूपमा फैलिँदै जाँदा युवायुवतीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । बुटवलबाट करिब ४०–४२ किलोमिटर र सुनौली नाकाबाट करिब ६५–७० किलोमिटर दूरीमा रहेको यस स्थानले भारतीय पर्यटक तथा तराईका गर्मीबाट राहत खोज्ने आन्तरिक पर्यटकलाई पनि सहज रूपमा आकर्षित गर्न सक्छ । उचित योजना र पूर्वाधार निर्माण गर्न सके कैलाशनगर ,बतासेडाँडा ढुङाखानी पाल्पाको प्रमुख पर्यटन केन्द्र बन्न सक्ने क्षमता राख्छ । दुर्भाग्यवश, यति ठूलो सम्भावना बोकेको स्थान आजसम्म आवश्यक सरकारी प्राथमिकतामा पर्न सकेको छैन् । तानसेनको नेतृत्व प्रायः मुख्य बजार केन्द्रित भएकाले बाहिरी क्षेत्रका यस्ता सम्भावनायुक्त स्थानहरू ओझेलमा परेका छन् भन्ने स्थानीयको गुनासो नयाँ होइन् । २०७४ सालमा निर्वाचित तत्कालीन नगर प्रमुख अशोककुमार शाहीको पहलमा बतासेडाँडा ,ढुङाखानीको सडक फराकिलो बनाउने काम भएको थियो, जसका लागि स्थानीय आज पनि उहाँलाई स्मरण गर्छन् । त्यसयता अपेक्षित रूपमा विकासले निरन्तरता पाएको देखिँदैन । यद्यपि तानसेन–५ का वडा अध्यक्ष रामबहादुर रावलले बतासेडाँडाको  भित्री सडकका लागि करिब ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको तथ्यलाई निष्पक्ष रूपमा स्वीकार गर्नुपर्छ । तर सडकबत्तीको नियमित मर्मतसमेत हुन नसकिरहेको अवस्थामा समग्र पर्यटन पूर्वाधारको अवस्था सहजै अनुमान गर्न सकिन्छ । वास्तवमा, बतासेडाँडाको विकासका लागि अर्बौं रुपैयाँ आवश्यक छैन । केही व्यवहारिक र दूरदर्शी योजना नै पर्याप्त हुन सक्छन् । उदाहरणका लागि :
– सडकको स्तरोन्नति र सुरक्षित  पैदलमार्ग निर्माण ।
– डिजिटल सूचना, साइनबोर्ड तथा पर्यटन प्रवद्र्धन ।
– शान्ति–सुरक्षाको सुनिश्चितता र रात्रीकालीन व्यवसाय सञ्चालनमा सहजीकरण ।
– त्रिभुवन बहुमुखी क्याम्पसको भोगाधिकारमा रहेको सार्वजनिक जग्गालाई व्यवस्थित गरी आधुनिक पार्क तथा बगैंचा निर्माण ।
– सल्लाघारी वन क्षेत्रमा सरसफाइ, विश्रामस्थल, पिकनिक स्पट र चलचित्र/म्युजिक भिडियो सुटिङ  हबको विकास ।

यी कामहरू योजनाबद्ध रूपमा अघि बढाउन सके बतासेडाँडा केवल स्थानीय घुमफिरको स्थान मात्र होइन, पाल्पाको पर्यटन अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने केन्द्र बन्न सक्छ । आजको युगमा पाल्पा केवल शिक्षा र स्वास्थ्य सेवाका आधारमा मात्र अघि बढ्न सक्दैन । समयले अब नयाँ आर्थिक आधार खोजिरहेको छ, र त्यो आधार पर्यटन हो । पर्यटनको विकासविना स्थानीय व्यवसाय फस्टाउन सक्दैन, युवाको पलायन रोकिँदैन र आर्थिक गतिविधि विस्तार हुन सक्दैन । अन्यथा पाल्पा विस्तारै युवाविहीन र वृद्धवृद्धाको मात्र बसोबास हुने जिल्लामा सीमित हुने खतरा बढ्दै जानेछ । अझै समय छ । स्थानीय सरकार, जनप्रतिनिधि, निजी क्षेत्र र स्थानीय बासिन्दा सबैले साझा संकल्पका साथ कैलाशनगर ,बतासेडाँडा ढुङाखानी जस्ता सम्भावनायुक्त गन्तव्यको विकासमा हातेमालो गरौँ । पाल्पा–तानसेनलाई लुम्बिनी प्रदेशकै प्रमुख पर्यटन हब बनाउने सपना असम्भव छैन । केवल इच्छाशक्ति, योजना र इमानदार कार्यान्वयन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update