Shittalpati
साइबर सुरक्षाका चुनौती

पछिल्लो समय सूचना प्रविधिको तीव्र विकास हुँदै गएको छ । डिजिटल युगमा प्रविधिको तीव्र विकास र इन्टरनेटको व्यापक प्रयोग हुनु स्वाभाविकै हो । जसले मानिसको दैनिक जीवनलाई सजिलो र प्रभावकारी बनाएको छ । बैंकिङ, शिक्षा, स्वास्थ्य, व्यापार तथा सरकारी सेवासमेत डिजिटल माध्यमबाट सञ्चालन हुन थालेका छन् । यसैले सायद अचेल ‘हार्ड वर्क’, ‘स्मार्ट वर्क’मा बदलिएको छ । व्यक्तिगत जीवन होस् या व्यापारिक गतिविधि, प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता छ । तर, प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ प्रकारका जोखिम र खतराहरू पनि उत्पन्न भइरहेका छन् । साइबर अपराध र अनलाइन आक्रमणहरू विश्वभरि बढ्दै गएका छन् । यसले व्यक्तिगत, संस्थागत र राष्ट्रिय सुरक्षा खतरामा पारिरहेको छ ।

साइबर अपराध, डाटा चोरी, ह्याकिङ, अनलाइन ठगी र व्यक्तिगत गोपनीयतामाथिको आक्रमणजस्ता चुनौतीहरू तीव्र रूपमा बढिरहेका छन् । त्यसैले साइबर सुरक्षा आजको समयको प्रमुख राष्ट्रिय तथा सामाजिक सरोकारको विषय बनेको छ । नेपालमा पनि इन्टरनेट र स्मार्टफोन प्रयोगकर्ताको संख्या बढ्दै जाँदा साइबर अपराधका घटनामा वृद्धि भएको देखिन्छ । सामाजिक सञ्जाल ह्याक हुने, बैंक खाताबाट रकम चोरी हुने, नक्कली वेबसाइट वा सन्देशमार्फत ठगी गरिने, व्यक्तिगत तस्बिर तथा जानकारी दुरुपयोग हुने जस्ता घटनाले नागरिकलाई असुरक्षित बनाइरहेका छन् । धेरैजसो मानिसमा साइबर सुरक्षासम्बन्धी पर्याप्त ज्ञानको अभाव भएकाले अपराधीहरूले त्यसको फाइदा उठाइरहेका छन् । अझ चिन्ताको विषय के छ भने, नेपाल अझै पनि पुरानो विद्युतीय कारोबार ऐनकै भरमा आधुनिक साइबर अपराधसँग जुधिरहेको छ । कृत्रिम बुद्धिमत्ता, डिपफेक, डेटा चोरी, पहिचान दुरुपयोग, क्रिप्टोसम्बन्धी अपराध तथा व्यक्तिगत डेटा सुरक्षाजस्ता विषयलाई समेट्ने समयसापेक्ष कानुनी व्यवस्था अझै निर्माण हुन सकेको छैन । कानुनको यही कमजोरी अपराधीका लागि अवसर बनिरहेको छ । यस समस्याको समाधान गर्न सरकारले आधुनिक साइबर सुरक्षा ऐन ल्याउन ढिलाइ गर्नुहुँदैन । अर्कोतर्फ विद्यालय र कलेजमा डिजिटल साक्षरतासँगै साइबर सुरक्षाबारे शिक्षा दिनु आवश्यक छ । यसो गर्न सकियो भने मात्र सुचना प्रविधिबाट हुन सक्ने खतराबाट बच्न सकिन्छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update