पाल्पा, नेपाली काँग्रेस पाल्पाले यही असार २० गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण कार्य थालेको छ । जिल्ला कार्यसमितिको बैंठकले केन्द्रीय समितिको परिपत्र अनुसार असार २० गतेसम्म नयाँ क्रियाशिल सदस्यता वितरण र अध्यावधिक गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार काँग्रेसले आइतबारदेखि क्रियाशिल सदस्यता अध्यावधिक तथा नयाँ सदस्यता वितरण अभियान तानसेनबाट सुरु गरेको छ । सोमबार भने रामपुर नगरपालिका र निस्दी गाउँपालिकामा सदस्यता वितरण अभियान प्रारम्भ गरिएको जिल्ला सभापति हिमादत्त श्रेष्ठले बताए । नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ क्रियाशिल सदस्यता वितरण थालिएको उनको भनाई छ । सभापति श्रेष्ठले भने “काँग्रेसप्रति युवाहरुको आकर्षण बढ्दो रहेको र उनीहरुको पार्टीमा प्रतिनिधत्व हुने गरी हामीले सदस्यता वितरण गर्ने निर्णय गरेका हौं ।” १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाहरुलाई नयाँ क्रियाशिल सदस्यता वितरण गरिएको उनले बताए । काँग्रेस केन्द्रीय समितिले अभियानलाई प्रभावकारी बनाउन प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य मुना भुसाललाई पाल्पामा खटाएको छ । प्रतिनिधि भुसालले युवाहरुलाई काँग्रेसमा जोड्न देशैभर अभियान सञ्चालन गरिएको बताइन् । उनले पार्टीले दिएको जिम्मेवारी अनुसार आफुले असार २० गतेसम्म नै जिल्लामा रहेर काम गर्ने बताउँदै अभियानलाई प्रभावकारी बनाउन तहगत संरचनाहरुको सहयोग रहने अपेक्षा समेत गरिन् । जिल्ला सभापति श्रेष्ठको अध्यक्षमा बसेको बैंठकले क्रियाशिल सदस्यता अभियानसहित अन्य समसामयिक निर्णय समेत गरेको छ ।
बैंठकले राज्य पुर्नसंरचनाको लागि पार्टी सचिव सन्तोष थापाको संयोजकत्वमा अध्ययन अनुसन्धान समिति गठन गरेको छ । उक्त समितिले स्थानीय तहको पुर्नसंरचनाको अध्ययन, अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने छ । यस्तै बैंठकले विपद् व्यवस्थापनका लागि नेपाल तरुण दलका जिल्ला सदस्य रवि गुरु·को संयोजकत्वमा १०१ सदस्यीय विपद् व्यवस्थापन समिति गठन गरेको छ । बैंठकमा काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना, काँग्रेस प्रदेश सदस्य तथा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दीप राना, जिल्ला उपसभापति झपेन्द्र गैरे, महासमिति सदस्य शोभा शाक्य, पार्टीका पूर्व जिल्ला सचिवहरु यमलाल तिमिल्सेना, माधव नेपाल,काँग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, क्षेत्र नं. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, प्रदेश २ का सभापति तथा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, काँग्रेस रामपुर नगर सभापति नेत्र भट्टराई, रम्भा गाउँपालिकाका सभापति ऋषिराम अर्याल लगायतले अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने बताएका थिए । जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, सचिव सन्तोष थापाको स्वागत, अर्का सचिव सुनिता अधिकारीको सञ्चालनमा बैंठक भएको थियो । काँग्रेसले पार्टीमा योगदान गरेका व्यक्तिहरुको रेकर्ड डिजिटल राख्ने समेत निर्णय गरेको छ ।


