प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसद्भित्र र बाहिर आलोचना तथा विरोध भएको छ । उक्त अभिव्यक्ति राष्ट्रविरोधी भएको भन्दै राजनीतिक दल, सीमाविद्, नागरिक समाज र सर्वसाधारणले पनि असन्तुष्टि जनाएका छन् ।
‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति सामान्य प्रशासनिक टिप्पणी मात्र होइन, राष्ट्रिय सीमा र भू–भागसँग सम्बन्धित अत्यन्त संवेदनशील विषय हो । यस्तो अभिव्यक्तिले तथ्यगत, राजनीतिक र कूटनीतिक रूपमा दूरगामी प्रभाव पार्न सक्छ । अझ संसद्जस्तो सर्वोच्च राजनीतिक मञ्चबाट यस्तो कुरा आउँदा त्यसको अर्थ र सन्देश थप गम्भीर बन्छ । नेपालले विगतदेखि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो भूमि भएको दाबी गर्दै आएको छ । नेपाल सरकारले ऐतिहासिक नक्सा, सन्धि र प्रमाणका आधारमा आफ्नो दाबी प्रस्तुत गरेको छ । संसद्ले पारित गरेको नक्सा र संविधान संशोधनले पनि यही अडानलाई संस्थागत गरेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालकै स्थापित राष्ट्रिय धारणा कमजोर बनाउने जोखिम पैदा गरेको छ । यदि वास्तवमै सीमा निर्धारणका क्रममा कुनै प्राविधिक वा ऐतिहासिक जटिलता छन् भने त्यसलाई सम्बन्धित प्राविधिक समिति, परराष्ट्र संयन्त्र र कूटनीतिक च्यानलमार्फत अध्ययन र छलफलको विषय बनाउन सकिन्छ । तर त्यसबारे पर्याप्त तथ्य सार्वजनिक नगरी संसद्मा नै नेपालले भारतको भूमि मिचेको दाबी गर्नु धेरैको नजरमा अपरिपक्व र असावधान अभिव्यक्ति बनेको छ । राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकारको प्रमुखबाट यस्ता विवादित अभिव्यक्तिहरु आउनु गलत हो । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उत्पन्न विवाद कुनै एक व्यक्तिको विषय मात्र होइन, यो सार्वजनिक नेतृत्व, अभिव्यक्ति स्वतन्त्रता, राष्ट्रियता र उत्तरदायित्वबीचको सन्तुलनको प्रश्न हो । लोकतन्त्रमा बोल्ने अधिकार महत्वपूर्ण छ, तर त्यो अधिकारको प्रभाव अझ महत्वपूर्ण हुन्छ । त्यसैले सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना शब्दको सामाजिक र संस्थागत प्रभावलाई ध्यानमा राख्दै जिम्मेवार अभिव्यक्ति दिनु आजको आवश्यकता हो । तसर्थ प्रधानमन्त्रीले संसदमा दिएको राष्ट्रहित विपरितको अभिव्यक्ति सच्याउन जरुरी छ ।

