सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य, सामाजिक तथा आर्थिक क्षतिप्रति जनचेतना फैलाउने र यसको नियन्त्रणका लागि सरकार, समुदाय तथा व्यक्तिलाई जिम्मेवार बनाउन प्रेरित गर्दछ । नेपालमा पनि सुर्तीजन्य पदार्थको सेवन सार्वजनिक स्वास्थ्यका प्रमुख चुनौतीहरूमध्ये एक बनेको छ ।
सुर्तीजन्य पदार्थले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोग तथा अन्य दीर्घरोगको जोखिम बढाउँछ । धूम्रपान गर्ने व्यक्तिमात्र होइन, उनीहरूबाट निस्कने धुवाँका कारण वरपरका मानिसहरू पनि प्रभावित हुन्छन् । विशेषगरी बालबालिका, गर्भवती महिला तथा वृद्धवृद्धा निष्क्रिय धूम्रपानका कारण गम्भीर स्वास्थ्य समस्यामा पर्ने गरेका छन् । यसले स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थप्नुका साथै उत्पादकत्वमा समेत नकारात्मक प्रभाव पार्दछ । चिन्ताको विषय के छ भने पछिल्ला वर्षहरूमा युवापुस्तामाझ चुरोट, सुर्ती, भेप तथा अन्य निकोटिनयुक्त उत्पादनप्रति आकर्षण बढ्दै गएको देखिन्छ । आकर्षक प्रचार, साथीहरूको दबाब, जिज्ञासा तथा पर्याप्त सचेतनाको अभावले धेरै किशोर–किशोरीहरू यस दुव्र्यसनतर्फ तानिएका छन् । यस्ता प्रवृत्तिले भविष्यको स्वस्थ र सक्षम जनशक्तिमाथि नै प्रश्नचिह्न खडा गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन तथा नीतिहरू बनेका छन् ।
सार्वजनिक स्थानमा धूम्रपान निषेध, स्वास्थ्य चेतावनीसहितको प्याकेजिङ र कर वृद्धिजस्ता कदमहरू सकारात्मक भए पनि कार्यान्वयन अझ प्रभावकारी हुन सकेको छैन । कानुनको कडाइका साथ पालना गराउने, विद्यालय तथा समुदायस्तरमा निरन्तर सचेतना अभियान सञ्चालन गर्ने र युवाहरूलाई दुव्र्यसनबाट टाढा राख्ने कार्यक्रमहरूलाई प्राथमिकता दिन आवश्यक छ । सुर्तीजन्य पदार्थविरुद्धको लडाइँ सरकारको मात्र जिम्मेवारी होइन । परिवार, विद्यालय, सञ्चारमाध्यम, नागरिक समाज तथा प्रत्येक व्यक्तिको सक्रिय भूमिका अपरिहार्य छ । सुर्तिरहित जीवनशैली नै स्वस्थ, समृद्ध र मर्यादित जीवनको आधार हो, भन्ने कुरालाई सबैले वुझ्न जरुरी छ ।

