नेपालमा विषादी आयात र प्रयोगको अवस्था निकै चिन्ताजनक छ । नेपालका तरकारीखेती हुने विशेष पकेट क्षेत्रहरुमा ९९ प्रतिशत किसानले विषादी प्रयोग गर्ने गरेका छन् । अझ विडम्बना त के छ भने करिब ६० प्रतिशत किसानलाई आफूले प्रयोग गर्ने विषादीको प्रकार वा असरबारे पर्याप्त ज्ञान नै छैन । यसले किसान स्वयम्लाई मात्र होइन उपभोक्तालाई पनि गम्भीर स्वास्थ्य जोखिममा पारिरहेको छ । विषादीजस्तो गम्भीर विद्यमान बेथितिका विषयमा न सदनमा पर्याप्त बहस भएको सुनिन्छ न त नागरिक समाजमा । बेलाबेलामा नमुना सङ्कलनका क्रममा खानयोग्य मात्राभन्दा बढी विषादीको मात्रा भएको परीक्षणको नतिजा बाहिर आाउने गर्दछ । केही मिडियाहरुमा यो मुद्दा समाचार पनि बन्दछ तर यसले हाम्रो संयन्त्रलाई कुनै असर गर्दैन । आम उपभोक्ता पनि केही दिन झस्किन्छन्, विकल्प नहुँदा मौनताका साथ विष सेवन गर्न बाध्य हुन्छन् । जीवन निर्वाहका लागि हामीले दैनिक विभिन्न खाद्य पदार्थ सेवन गर्नैपर्ने हुन्छ । त्यसमाथि स्वस्थ र दीर्घ जीवनका लागि नियमित फलफुल, तरकारीलगायत विभिन्न पोषणयुक्त खाना नियमित सेवन गर्न जरुरी हुन्छ । तर दिनहुँ विषादी भएका फलफुल र तरकारी खानु पर्ने अवस्था छ ।
पछिल्लो समय मानिसहरुले उत्पादन बढाउने नाममा तरकारी तथा फलफूलमा जथाभावी विषादी हाल्ने गरेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । विषादीको मात्रा घटाउन भने सरकारी तहबाट खासै पहल भएको पाइँदैन । थोरै जग्गामा धेरै फलाउने र अधिकतम लाभ लिने अभिप्रायले किसानहरूले विषादीको जथाभावी प्रयोग गरिरहेकै छन् । धेरै किसान खेतीबालीमा लाग्ने रोगकीरा हटाउन कृषि प्राविधिकको होइन, बीउबिजन र कीटनाशक औषधि बेच्ने स्थानीय पसलेको भर पर्छन् । विषादीको मात्रा तथा मापदण्डबारे मात्र होइन, त्यसको नाम–कामबारे पनि राम्ररी जानकारी नभएका किसानहरूले छर्कने क्रममा सुरक्षा सावधानी पनि अपनाउँदैनन् । कतिले त नाकमुखसमेत नढाकी विषादी छर्किन्छन्, हातमा पञ्जासम्म लगाउँदैनन् । यही कारण कति किसान क्यान्सरजस्ता नसर्ने तर घातक रोगबाट पीडित बन्न पुगेका छन् । विषादीको असर जनस्वास्थ्यमा मात्र होइन वातावरणमा पनि पर्ने गरेको छ । माटोको उर्वराशक्ति घट्ने, पानी र वायु प्रदूषित हुने, लाभदायी जीव नष्ट हुनेजस्ता असरले दीर्घकालीन सङ्कट निम्त्याउने सम्भावना उच्च छ । विषादीको जोखिमबाट बच्नका लागि जैविक तथा प्राङ्गारिक विषादीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । उपभोक्ताले सचेत भएर विषादीरहित उत्पादन मात्र खरिद गर्ने बानी बसाल्ने हो भने पनि किसानलाई विषादी प्रयोग न्यूनीकरण गर्न प्रेरणा मिल्न सक्छ ।

