Shittalpati
प्रेस चौतारी पाल्पाले मनायो २६ औं स्थापना दिवस  

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पाले  २६ औं स्थापना दिवस  मनाएको छ । चौतारीले आइतबार शुभकामना आदान–प्रदान सहित भित्ते पात्रो सार्वजनिक गरी स्थापना दिवस  मनाएको हो ।  

कार्यक्रममा सहभागीहरु पत्रकारहरुले सरकारले निजी मिडियालाई बन्द गरेर आम नागरिकहरुको मुख थुन्ने प्रयास गरेको बताएका छन् । सरकारले गरेका जनविरोधी कामहरु समेत मिडियाले उठाउन थालेपछि दुई तिहाईको बहुमत प्राप्त सरकारले  निजी क्षेत्रबाट सञ्चालित मिडिया नै बन्द गर्न लागेको उनीहरुको भनाई छ ।

कार्यक्रममा  नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले आफ्नो भजन मात्र गाउने सरकारी मिडियालाई जोगाउने, निजी मिडियालाई सरकारी विज्ञापन रोकेर बन्द गर्न बाध्य बनाउने र हजारौ पत्रकारहरुलाई बेरोजगार बनाउने तर्फ वर्तमान सरकारले चालेको निरकुंश शैली तत्काल सच्चाउन माग गरे ।  आफ्नो गलत निर्णय सच्चाउन पत्रकार महासंघले  गरेको अनुरोधलाई वर्तमान सरकारले वेवास्ता गरेमा कडा किसिमका आन्दोनमा देशभरका पत्रकारहरु उत्रिने चेतावनी समेत अध्यक्ष तिमिल्सेनाले दिए । जनताको जनमतलाई पत्रकारहरुले सम्मान गर्दै आएको  भए पनि गलत कुराको पत्रकारहरुले सधै खवरदारी गर्ने काम गरे पनि राज्यले संरक्षण गर्नुपर्नेमा घुमाउरो तरीकाबाट  निजी मिडिया नै बन्द गर्न वर्तमान सरकार लागि परेको उनको भनाई छ । स्थापना दिवसको अवसरमा सरकारले निजी क्षेत्रलाई विज्ञापन नदिने गरेको निर्णय तत्काल सच्चाउन प्रेस चौतारी पाल्पाले माग गरेको छ ।

 कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नारायण प्रसाद आचार्य, एमाले जिल्ला अध्यक्ष ओम बहादुर घर्तिमगर, प्रेस चौतारी पाल्पा इन्र्चाज मिलन विश्वकर्मा, पत्रकार महासंघका पूर्व अध्यक्षहरु गोविन्द भट्टराई, राजेश कुमार अर्याल, महासंघ पाल्पाका पूर्व सचिव किरण कौशल लगायतले मिडिया तथा प्रेसलाई  नियन्त्रण गर्न खोज्नु  जनताको दुई तिहाई मतको  दुरुपयोग गर्दै अधिनायवाद निरङ्कुश शैलीमा  सरकार चल्न खोजेकोले तत्काल निर्णय सच्चाउनु पर्ने बताए ।  कार्यक्रम शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष शोभाकान्त पाठकको स्वागत, सचिव दयाराज न्यौपानेको सञ्चालनमा भएको थियो ।  

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update