Shittalpati
श्रमिक दिवसमा श्रमका कुरा

अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार नेपालसहित विश्वभर मनाइएको छ । हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै शुरु भएको आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।  दिवसका दिन  श्रमका कुरा गरिन्छ तर त्यसले सार्थकता प्राप्त भने गर्न सकिरहेको छैन् । औपचारिकता र कर्मकाण्डी ढंगले दिवसहरू मनाउने प्रचलनले श्रमिकको मर्म र भावनामा ठेस पुग्ने गरेको छ । नेपालको संविधानले श्रमिकको हकलाई मौलिक हकको रूपमा रोजगारी सम्बन्धी हकको व्यवस्था गरेको छ । तर अझै पनि नेपाललगायत कतिपय देशमा श्रमिकको अवस्था नाजुक छ । यो अत्यन्त दुखको कुरा हो । 

नीतिगत रुपमा केही राम्रो देखिए पनि कार्यान्वयन तहमा श्रमिकहरु चर्को शोषणमा बाच्न बाध्य छन् । नेपालको संविधान अनुसार श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर हुन् । श्रमिकहरू राष्ट्र निर्माणका धरोहर हुन् । देशको आर्थिक विकासका मेरुदण्ड हुन् । तर तिनै श्रमिकको राजनीतिक दल र सरकारी तवरबाटै अपमान गरिएको छ । कारखानामा काम गर्ने मजदुर हुन् वा चिया बगानमा काम गर्ने मजदुर हुन् वा विदेशको भूमिमा रगत र पसिना बगाएर देशको अर्थतन्त्रलाई मजबुत बनाउने मजदुर हुन् अथवा सत्य तथ्य घटना उजागर गरी समाज परिवर्तनलाई गति दिने श्रमजीवी पत्रकार हुन् वा सार्वजनिक प्रशासन सञ्चालन गर्ने कर्मचारीतन्त्र नै किन नहुन् सबैको योगदान मजदुर आन्दोलनको रूपमा अतुलनीय छ भन्ने कुरामा नेपालको राजनीतिको बागडोर सम्हालेका नेतृत्वगणले बुझ्न आवश्यक छ । 

प्रत्येक वर्ष श्रमिक दिवस मनाइरहँदा श्रमिकको पेशागत हित र उनीहरूको जीवनस्तर उँभो लगाउने निश्चित योजना प्रस्तुत गर्नुको साटो श्रमिक दिवसलाई राजनीति गर्ने प्रयोगशालाको रूपमा उपयोग गर्दा श्रमिकको वास्तविक समस्याको समाधान हुनसकेको छैन । श्रम ऐन, ट्रेड युनियन ऐन, निजामती कर्मचारीको व्यवस्थापन गर्ने निजामती सेवा ऐन समयानुकूल रूपमा व्यवस्थित हुनसकेको छैन । मुलुकमा आम श्रमिकले उचित सम्मान पाइनसकेको अवस्था छ । राज्यको संविधानले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक श्रमिक वर्गको लागि पनि हो भन्ने कुरा चारैतिर स्थापित हुनु आवश्यक छ । मुलुकमा लामो संघर्ष र प्रयासपश्चात् प्राप्त भएको श्रमिक अधिकारको संरक्षण र संवद्र्धन हुनु आवश्यक छ । नांगो शरीर र भोको पेटले काम गरियो भने अपेक्षित नतिजा आउँदैन । श्रमिक खुसी भए मालिकको जय गर्छन् भन्ने तथ्यलाई सरकार र समाजले हेक्का राख्नुपर्छ र सबै पक्षको खुसीमै राष्ट्रको सर्वतोमुखी समृद्धि सम्भव छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update