देशभर आज बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । भगवान विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप बुद्ध जयन्ती मनाउने गरिन्छ ।
बुद्धले वैशाख पूर्णिमाकै दिन ज्ञान र महानिर्वाणसमेत प्राप्त गरेका थिए । यस्तो संयोग बिरलै हुन्छ । आज बुद्धको सन्देश विश्वभर फैलिएको र मानिएको छ । बुद्ध जन्मस्थलका रूपमा नेपाल पनि विश्वमा विख्यात हुन पुगेको छ । नेपाललाई चिनाउनु पर्दा ’बुद्ध’ वा ’सगरमाथा’को देश भन्ने गरिन्छ । विडम्बना, यसरी परिचय दिँदा गर्वले शिर ठाडो गर्ने नेपालीले बुद्धका सन्देशको मर्म भने बुझ्नसकेका छैनौँ । बुद्धले संसारलाई शान्तिको मार्गमा हिँड्न प्रेरित गर्दै जीवन र मरणको भवसागरबाट मुक्त हुने मार्ग देखाएका थिए । यो मार्ग विश्वका लागि अनुकरणीय छ । बुद्धका उपदेशमा अहिंसा, मित्रता र विश्व वन्धुत्वको सन्देश छ । लोभ, तृष्णा, मोह, रिस, राग, स्वार्थ नै दुःखका मूल कारण भएकाले त्यसको त्याग गर्नु नै सुख, शान्ति र आनन्दतर्फ अग्रसर हुनु हो । बुद्धका पञ्चशील शिक्षाको पालनाले जीवनलाई सहज बनाउँछ, दुःख अन्त्य गर्छ र निर्वाण प्राप्त हुन्छ । बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्र नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि हो । हरेक वर्ष बुद्ध जयन्ती मनाइने गरिए पनि बुद्धको यी उपदेशलाई भने कोही कसैले पनि अनुसरण गरेको पाइदैन । यो अत्यन्त दुखको कुरा हो ।
आज नेपालीले नेपाल बुद्ध जन्मिएको शान्तिभूमि हो भनेर गर्व गर्ने कुनै ठाउँ छैन । बुद्धले जतिसुकै शान्तिको पाठ पढाएको भए ता पनि त्यसको अनुसरण गर्न नसक्दा नेपालीले युद्धको त्रासदी भोग्नु परेको मात्र हैन अपितु त्यसको मूल्य नराम्रोसँग चुकाउनुपर्ने अवस्थाको सिर्जना भएको छ । अहिले यहाँ हत्या, हिंसा, अराजकता, स–साना कुरामा पनि बन्द र हड्ताल गर्ने प्रवृत्तिको विकास, अपहरण आदि दिनहँु देख्न पाइन्छन् । यो विडम्वनाको कुरा हो । यसो हुनु हुँदैन । बरु गौतम बुद्धले देखाएको सत्मार्गमा सबै लाग्नुपर्छ । यसो गर्न सकियो भने मात्र बुद्ध जयन्ती मनाउनुको सान्दर्भिकता रहन्छ ।


