Shittalpati
नृत्य दिवस र यसको सार्थकता

नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । तर हिजो आज यही नृत्य संस्कृतिको न संरक्षण हुन सकेको छ नत सम्मान नै । यसको संरक्षण र सम्मानको लागि हरेक वर्ष अप्रिल महिनाको २९ तारिखमा संसारभर विश्व नृत्य दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङघ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिले सन् १९८२ मा पहिलो पटक यो दिवस मनाएको थियो । यस वर्षको दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । आजको दिन नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नृत्यकला प्रदर्शन गर्ने गरिन्छन् ।

सन १९८२ अप्रिल २९ आजकै दिनमा पहिलो पटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनेस्को) अन्तर्गत पर्ने अन्तर्राष्ट्रिय थिएटर इन्ष्टिच्युटको अन्तर्राष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो । यो दिवसको प्रमुख उद्देश्य भनेकै विश्वस्तरमा सर्वसाधारणमाझ प्राचीनकालदेखि विकसित भइआएको नृत्यकला एवं त्यसको संस्कृतिको महत्व दर्शाउनु र नृत्यकलाप्रति सबैको ध्यानाकर्षण तथा जागरुकता बढाउनु हो । नेपालमा आधुनिक नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित हुँदै गए पनि परम्परागत लोकनृत्य  भने लोप हुने अवस्थामा  पुगेको छ । यो अत्यन्त दुखको कुरा हो ।  यसको  खोज, अनुसन्धान गरी संरक्षण गर्न जरुरी छ । नृत्यको अनेक फाइदा भएकाले यसलाई उपयोगी कसरतका रूपमा लिन सकिन्छ । नाच्नाले ह्दय तथा फोक्सोको अवस्थामा सुधार आउने गर्दछ । नृत्यले मानिसको मांसपेशी बलियो बनाउनुको साथै हड्डीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । यसर्थ लोक नृत्यको संरक्षण गर्दै सबै वर्ग र क्षेत्रमा यसलाई विस्तार गर्न सकियो भने मात्र हरेक वर्ष यो दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update