Shittalpati
बौद्धिक सम्पत्ति संरक्षणमा ध्यान देऊ

बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो । जसको माध्यमबाट भौतिक संरचना वा वस्तु निर्माण हुन्छ भने उक्त वस्तु वा संरचना माथिको सर्जकको अधिकार बौद्धिक सम्पत्तिको अधिकार हो । तर पछिल्लो समय वौद्धिक सम्पत्ति चोरीको क्रम बढ्दै गएको छ । यो अत्यन्तै दुःखको कुरा हो । शिक्षा क्षेत्रको शोधपत्र चोरीदेखि संगित क्षेत्रका शब्द संगीतको चोरीका घटनाहरु बढ्दै गएका छन् । आफ्नो बुद्धिविवेक प्रयोग गरी सिर्जना गरेका कुरा नै बौद्धिक सम्पत्ति हुन् । तर बौद्धिक सम्पत्तिको अधिकार संरक्षण चुनौति बनेको छ । यसको संरक्षणमा कसैको पनि ध्यान जान सकेको छैन ।

बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रवद्र्धक, लेखक, सर्जकलाई एक–आपसमा जोडी सम्बन्ध विस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रवद्र्धन गरी जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्षको दिवस आइतबार मनाइँएको छ ।  हरेक वर्ष यो दिवस मनाइए पनि  बौद्धिक सम्पतिको संरक्षण हुन नसक्नु दुखद् हो । कुनै पनि व्यक्तिको बुद्धी एवं ज्ञान बौद्धिक सम्पत्ति हो, यो भौतिक सम्पत्तिभन्दा पनि ठूलो हुन्छ । अहिलेको युग अर्थात समय ज्ञानको युग हो । हरेक विकास व्यक्तिको ज्ञानका आधारमा अगाडि बढेको छ । आज प्रत्येक व्यक्ति वा संस्थाले आफ्नो बौद्धिक सम्पत्तिको उपयोग गरेर भौतिक वस्तु विक्रि गरेको आम्दानी भन्दा धेरै आम्दानी गर्दै आएको छ । त्यसैले बौद्धिक सम्पत्ति वर्तमान युगको पहिलो हतियार हो भन्दा अन्यथा हुँदैछ । बौद्धिक ज्ञान र अधिकारका कारण नै मानिसहरू नयाँ खोज र आविष्कार गर्न उत्साहित हुने गरेका छन् । नेपालमा बौद्धिक सम्पत्ति जगेर्ना गर्न कानूनहरु निर्माण गरिएको भएपनि बौद्धिक सम्पत्ति चोरी तथा अनुमति नलिई प्रयोग गर्ने क्रम निरन्तर जारी छ । यसबाट व्यक्तिको अधिकार कुण्ठित हुँदै आएको छ भने राष्ट्रले आफुनो सम्पत्ति गुमाउदै आएको छ । बौद्धिक सम्पत्तिको प्रोत्साहन तथा संरक्षणका लागि सशक्त बौद्धिक सम्पत्ति अधिकार कानुन हुनु जरुरी छ । तसर्थ यसतर्फ सरकार सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update