आज विश्व सम्पदा दिवस नेपालसहित विश्वभर मनाइँदै छ । सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउने उद्देश्यले यो दिवस हरेक बर्ष आजकै दिन अर्थात् अप्रिल १८ मा मनाउने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाइने गरे पनि सम्पदा संरक्षणमा कसैको पनि ध्यान जान सकेको छैन् ।
राज्यको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैरजिम्मेवारपूर्ण रबैयाका कारण नेपालमा रहेका अनेक बहुमूल्य प्राकृतिक सम्पदाहरू नष्ट भइरहेका छन् भने अन्य त्यस्तै सम्पदाहरू अति जोखिममा परेका छन् । अन्य सम्पदाहरूको तुलनामा यहाँका भौगर्भिक सम्पदाहरू अझै बढी जोखिममा परेको पाइएको छ । विश्व सम्पदा सूचीमा परेका नेपालका कयौँ सम्पदाहरु भौतिक निर्माणको अतिक्रमणमा परिरहेका छन् । सहरीकरणमा वृद्धिसँगै बढ्दो जनसंख्या र अव्यवस्थित घरहरुको निर्माणले विश्व सम्पदाहरु हाल खतरामा पर्दै गएका हुन् । न तिनको उचित तरिकाले सरसफाइ हुन सकेको छ न सही ढङ्गले मर्मतसम्भार नै । सम्पदाहरुलाई लिएर अन्तर्राष्ट्रिय मापदण्डअनुकूल तिनीहरुको व्यवस्थापन गर्न सकिएन भने ती खतराको सूचीमा पर्ने सम्भावना धेरै रहन्छ ।
सडक विस्तार तथा खोलामा भइरहेको मानवजन्य अव्यवस्थित क्रियाकलापले नेपालमा भौगर्भिक संरचना र सम्पदा लोप हुँदै गएका छन् । प्राकृतिक ग्याँस, पेट्रोलिएम पदार्थ तथा विभिन्न मेटालिक र ननमेटालिक धातुजन्य र मिनरलजन्य पदार्थहरूको सम्भाव्य स्थानहरूको पनि विभिन्न निकायहरूबीचको संयोजनकारी पहलमा संरक्षण र विस्तृत अध्ययन गर्न जरुरी छ । सडक विस्तारका क्रममा चोइट्याइएका मन्दिर र सत्तलका अवशेषहरुले सम्पदाप्रतिको हाम्रो उदासिनता जागृत गर्दछ । हामी को हौं र कहाँ कसरी आयौं लगायतका मुख्य विवरण अनि इतिहासहरु जोगाउने सम्पदाहरुको सरक्षण गर्नु हाम्रो पहिचान अनि संस्कार दुवै कुराका लागि महत्वपूर्ण छ । यसर्थ हाम्रा पानीका धाराहरु, मुर्तिहरु, गजुरहरु, भवनहरु अनि हरेक इँटा र काठका टुक्राहरु मूल्यवान छन्, यिनको रक्षा गर्न सके मात्र विश्व सम्पदा दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

