भनिन्छ सांस्कृतिक शहरमा काठमाडांै उपत्यकापछि पाल्पा दोश्रो सांस्कृतिक शहर थियो रे तर आज त्यो पुरानो भनाई आज छैन् भने पनि हुन्छ । पाल्पाको संस्कृति विस्तारै हराउँदै गइरहेका छन् कि खुम्चिदै सानो रुप हँुदै गइरहेका छन् भन्नुमा कुनै अत्युक्ति नहोला । किन होला प्रश्नै प्रश्न छन् । हो पहिलो कारण पहिला तानसेन नेवारी बस्ती थियो । नेवारहरु अन्य जातिहरु भन्दा धेरै धर्म कर्म गर्ने चाडपर्व मनाउने जातिमा पर्दछन् । त्यसबेला विभिन्न कारणले नेपाल उपत्यकाबाट पाल्पा आएका नेवारहरुले यहाँ आएर स्थायीरुपमा बसोबास गरी उपत्यकामा मनाउने गरेका जात्रा चाडपर्वहरु यहाँ पनि मनाउने थालेकोले पाल्पा दोश्रो सांस्कृतिक शहर भएको भनिन्छ । तर आज पाल्पाले अब दोस्रो शहर हो भनेर गर्व गर्ने ठाउँ छैन् । किनकी अब पाल्पामा पहिले जस्तो जात्रा चाडपर्व हुँदैनन् । यसको प्रमुख कारण हो आर्थिक स्रोतको अभाव र अर्को स्थानीय नेवारहरुको पलायन ।
महाकाल भैरव : महाकाल भैरवलाई मृत्युको देवता, संहारका देवता तथा कालको काल महाकाल पनि भनिन्छ । महाकाल भैरव भगवान शिबको अर्को क्रोधित रुप हो जुन अत्यन्त रौद्र डरलाग्दो तथा तमोगुणले भरिपूर्ण रहेको छ । महाकाल भैरवलाई शत्रुहरुको नाश गर्ने देवताको रुपमा पनि पुजिन्छ । धार्मिक ग्रन्थ स्कन्द पुराण अनुसार चार बेदका रचयिता ब्रम्हा हुन् । उनको पाँचवटा टाउको थियो । उनले चार बेदको रचना गरेपछि पाँच बेदको पनि रचना गर्ने फैसला गरे । ब्रम्हाको यस कार्यबाट चिन्तित देवताहरु सो कार्य रोक्न भगवान श्री महादवेको शरणमा गए । उनीहरुको भनाई थियो कि पाँच बेद रचना गर्नु ठीक हँुदैन । यसले समस्त देवताहरुमा संकट आउन सक्छ तर ब्रम्हाले भगवान श्री महादेवको अनुरोधलाई पनि मानेनन् जसले गर्दा श्री महादेव रिसाउनु भयो । यसरी श्री महादेव रिसाउँदा उहाँको तेश्रो आँखाबाट एक ज्वाला निस्के । जुन ज्वालाले काल भैरवको रुप धारण गर्यो तथा ब्रम्हाको पाँचौ टाउको काटी दिए । काल भैरवले ब्रम्हाको पाँचौ टाउको काटेर घमण्ड त चकनाचुर गरि दिए तर उनलाई ब्रम्हहत्याको आरोप लाग्यो । यस दोषबाट मुक्ति पाउन काल भैरव कतिपय ठाउँहरुमा भौंतारिएर हिडनु पर्यो तर पनि मुक्ति पाउन सकेनन् । अन्तमा उनले आराध्यदेव भगवान श्री शिवको आराधना गरे । भगवानले उनलाई शिप्रा नदीमा स्नान गरी तपस्या गर्न भने तव बल्ल उनी दोषबाट मुक्त भए । शिव महापुराणमा बर्णन गरिए अनुसार काल भैरवको उत्पति ब्र्रम्हा र विष्णुको संवादबाट धार्मिक मान्यता अनुसार कालभैरवलाई भगवान शिबको पूजा भन्दा पहिला पुजा गर्नेे बरदान प्राप्त भएको छ । एकपटक विष्णु तथा ब्रम्हाको बिचमा सर्बश्रेष्ठ श्रृष्टिकर्ता को भन्ने बारेमा बहस भएछ । घमण्डले चुर ब्रम्हाले आफु नै सर्बश्रेष्ठ श्रृष्टिकर्ता भएकोले उनलाई पूजा गर्न पर्ने भनेर विष्णुलाई भने छ । ब्रम्हाले सोचे छ म सँग पाँचवटा टाउका छन् शिबसँग पनि पाँचवटा । शिवले गर्ने सबै म पनि गर्न सक्छु त्यसैले म नै शिव हुँ । ब्रम्हाको मनमा अंहकारको भावना पलाएछ तथा शिवले गर्ने कामहरु सबै किर्ते गर्न थालेछ तथा भगवान शिवको प्रत्येक कार्यहरुमा हस्तक्षेप गर्न थालेछ । ब्रम्हाको यस्तो अहंकारी भावना देखेर भगवान श्री महादेवले आफनो औलाबाट सानो नंगको टुक्रा निकालेर फाले छन् जुन कालभैरवको रुपमा प्रकट भई अहंकारी ब्रम्हाको एउटा टाउको काटी दिए । सो टाउको काल भैरवको हातमा रÞयो । टाउको काटिने वित्तिकै ब्रम्हाकोे सबै अहंकार नष्ट भई ज्ञानको उदय भएछ । त्यसबेलादेखि ब्रम्हा सबै प्रति उदार भए छन् तथा भगवान शिव प्रति कृतज्ञ भए छन् । भनिन्छ यसप्रकार कालभैरवको रुपमा भगवान शिवले सम्पूर्ण शक्तिपीठहरुको रक्षा गरिरहेका छन् । त्यसैले हरेक मन्दिहरहरुमा आज पनि भैरवको मूर्ति राखिएको देखिन्छ ।
भैरवलाई सर्पको गहना लगाएको, बाघको छाला ओढेको, खप्परको माला लगायको रुपमा चित्रण गरिएको छ । बाहनको रुपमा कुकुरसँगसंगै हुन्छ । काल भैरवलाई सम्पूर्ण ग्रहहरुको देवता शनिको गुरुको रुपमा पनि मानिन्छ । अघोरीहरुले खासरुपमा भैरवलाई आफनो इष्टदेवको रुपमा मान्दछन् । भनिन्छ जन्म कुण्डलीमा राहुद्धारा पिडित व्यक्तिले यदि भगवान काल भैरवको पूजा आराधना गरेमा राहु दोषबाट मुक्ति मिल्छ । यो विश्वास गरिन्छ कि भक्तहरुको पुकारमा कुनै बेला पनि कालभैरव मद्धत गर्न आइ पुग्दछन् । विभिन्न ठाउँहरुमा काल भैरवको मुर्ति प्रतिष्ठनपन गरिएका छन् । कुनै ढुंगाको त कुनै पित्तलको । भनिन्छ भैरवलाई आठ रुपमा प्रस्तुत गरिएका छन् । भैरवका ति आठ अवतारहरु हुन असिथान्गा भैरव, रुरु भैरव, चन्द भैरव, क्रोध भैरव, उन्मत्त भैरव, कपाला भैरव, भीषण भैरव, संहार भैरव । अष्ट भैरव सैब संस्कृतिको रुप हो । काल भैरवलाई मूख्य भैरवको रुपमा मानिन्छ । काल भैरवलाई रक्षक भैरवको रुपमा लिइन्छ । काल भैरवको बाल रुपलाई वटुक भैरव भनिन्छ ।
भैरवको विभिन्न रुपहरु मध्ये वटुक भैरव पनि एक रुप हो । शक्ति समागम तन्त्रमा वटुक भैरव कसरी उत्पन्न भए भन्ने प्रष्ट गरेको छ । प्राचिन समयमा आपद नामक एक दैत्यले भगवानको ठूलो तपस्या गरी अमरत्व प्राप्त गरे । अमर भएपछि आफ्नो शक्तिको कारण उसले देवता तथा ऋषिमुनिहरु सबैलाई अत्यन्त दुख दिन थाले । उनको अत्याचार बढ्दै गए पछि देवताहरुले कसरी यस आपद नामक दैत्यको अन्त्य गर्ने तथा कसरी यसबाट बच्ने उपाएको बारेमा सोच्न थाले । अन्तमा तिनीहरुले भगवान शिवको आराधना गरे । भगवान शिव प्रसन्न भई दैविक शक्तिस्वरुप उनीहरुका सामु प्रकट हुनु भयो । यो दैविक शक्ति थियो वटुक भैरबको पाँच बर्षको सानो बच्चा । यस सानो बच्चालाई सबै देवताहरुले आ–आफना शक्ति प्रदान गरे जसबाट त्यो सानो बच्चा सबैको आशिर्बादले अदृष्य भए । पछि सो वटुक भैरवले आपद नामक त्यो दैत्यलाई मारि दिए । यस प्रकार आपद नामक दैत्यलाई मारेको हुनाले वटुक भैरव आपद उद्धारक नामले प्रशिद्ध भए तथा सबै देवताहरु पनि आपद दैत्यको अत्याचारबाट मुक्त भए । त्यसबेलादेखि कसैलाई कुनै समस्याहरु बाट पार पाउन छ भने भगवान आपद उद्धारक बटुक भैरवको आराधना गर्ने गरिन्छ । भैरवको आराधना तथा साधना गरेमा सबै समस्या, बाधा अड्चन तथा सबै चिन्ताहरुबाट मुक्त भई मानसिकरुपमा शान्ति प्राप्त गर्न सकिन्छ भनिन्छ ।
पाल्पाको तानसेनमा वर्षको प्रारम्भदेखि वर्षको अन्तसम्म विभिन्न जात्राहरु हुने गर्दछन् तर सानो रुपमा । बर्षको अन्तिम दिन अर्थात् चैत्र मसान्तको दिन तानसेन टक्सारटोलस्थित महाकाल भैरवको जात्रा गर्ने गरिन्छ । यो महाकाल भैरव मन्दिर पहिला टक्सारमा यादवेन्द्र जोशी तथा कमलानन्द जोशीको बारीमा रहेको थियो र एक प्रकार बेबारिसे जस्तो थियो रे तर पछि यो मन्दिरलाई बारीबाट अलग बनाइएको छ भनिन्छ । केवल एउटा सानो ढुंगालाई भैरव देवता मानि पूजा गरिन्थ्यो रे । वि सं २०१० सालमा टक्सारटोलका सबै स्थानीयहरु मिलेर विधिवतरुपमा महाकाल भैरवको मूर्ति बनाई मन्दिर प्रतिस्थापित गरिएको हो रे भनिन्छ र हाल काल भैरवको मन्दिरलाई अरु संरचनाहरुबाट अलग गरी वरिपरि बार लगाइ सानो तर चिटिक्क बनाइएको छ । पहिले यहाँको काल भैरवको जात्रा र अमरगञ्जस्थित बटुक भैरवको जात्रा एकैदिन पर्दथ्यो रे अनि दुबै जात्रा एक आपसमा भेटिंदा ठूलो झगडा नै हुन्थ्यो रे मानो दुई भैरवहरु एकआपसमा घनघोर युद्ध गरे जस्तो हुन्थ्यो रे । त्यसैले यो दुई जात्राहरुलाई एकदिन अगाडि पछाडी गरिएको पाकाहरु बताउनुहुन्छ । चैत्र मसान्तमा यस महाकाल भैरवको जात्रा गरिन्छ । जात्राको एकदिन अगाडि भक्तजनहरु मिलि साँझ भैरवको भजन गर्ने चलन रहेको छ । भोलि पल्ट दिउँसोको साइतमा काल भैरवको सानो मूर्तिलाई खटमा राखी भजन मण्डली सहितको टोलीले बजार परिक्रमा गर्ने गर्दछन् । जात्रा सञ्चालन गर्न केही श्रोत नभएकाले वडाबाट केही तथा टोलबासीहरुबाट केही न केही आर्थिक सहयोग उठाई जेनतेन जात्रा सञ्चालन गर्न परेको गुठीका अध्यक्ष मंगल प्रसाद बज्राचार्य बताउनुहुन्छ ।
त्यस्तै गरी अमरगञ्जस्थित वटुक भैरवको जात्रा प्रत्येक बर्ष नयाँ बर्षको दिन गर्ने गरिन्छ । वटुक भैरवको सानो मुर्तिलाई पनि खटमा राखी भजन मण्डलीको टोली सहितले नगर परिक्रमा गर्दछन् । जात्राको एक दिन अगाडि साँझपख मन्दिर अगाडि भजन गर्ने चलन रहेको छ । भनिन्छ यो मन्दिर पुरानो मन्दिर हो । वटुक भैरवको यो मन्दिर सेनकालमा स्थापना गरिएको भनिन्छ । इतिहास अनुसार पाल्पाका राजा मणि मुकुन्दसेनले काठमांडौ उपत्यका आक्रमण गरी इन्द्रजात्राको बेला रथको अगाडिको रहेको भैरवको मूर्ति उखालेर ल्याई पाल्पामा स्थापना गरेको थियो भनिन्छ । यसरी ल्याउँदा बाटोमा जहाँ जहाँ बास परेको थियो त्यस त्यस ठाउँमा अर्को भैरव स्थापना गर्ने गरेको अनुसार अमरगञ्जमा वास पर्दा त्यहाँ पनि एक भैरव स्थापना गरिएको भनिन्छ । सेनकालमा पाल्पाको चार कुनामा भैरवको मुर्ति रहेको बताइन्छ । जसमा नुवाकोट भैरव, प्रभास भैरव, अमरगञ्ज वटुक भैरव तथा पाल्पा भैरव भनिन्छ । अमरगञ्ज वटुक भैरवको रथ सञ्चालन स्थानीय केही युबाहरुको सक्रियतामा प्रत्येक वर्ष हुँदै आएको छ । टक्सारटोलमा रहेको काल भैरव जात्रा तथा अमरगञ्जमा रहेको वटुक जात्रा दुबै जात्रा सञ्चालन गर्न कुनै खास आर्थिक श्रोत छैन् । स्थानीय निकाय नगरपालिकाले जात्रा सञ्चालनको लागि भनेर केही वर्ष अगाडि दिने गरेको आर्थिक सहयोग यस वर्ष सो आर्थिक सहयोग पनि घटाएर दिने भन्ने कुराले कसरी जात्रा सञ्चालन गर्ने हो भनेर युवाहरु गुनासो गर्दै गरेको पनि पाइएको छ । पाल्पाको संस्कृतिको संरक्षण स्थानीय सरकारको नारा भएता पनि आवश्यक आर्थिक सहयोग नगर्दा संस्कृति नै लोप हुने खतरा देखिदै आएको छ भने नारा केवल नारा मात्र रहेछ भन्ने जनमानसमा देखिएको छ । जात्रा सञ्चालन गर्न केही सहज होस् राहत होस् भनेर यस वर्षदेखि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानले दुबै जात्राहरुलाई केही आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यसरी लोप हुन लागिरहेको पाल्पाको सांस्कृतिक धरोहरहरुको संरक्षणमा सबै पाल्पालीहरुको ध्यान जानु नितान्त आवश्यक छ । जय महाकाल श्री भैरवकी जय । जय वटुक भैरवको जय । अस्तु । (लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

