विश्व वातावरण दिवस एक अन्तर्राष्ट्रिय दिवस हो । यो हरेक वर्षको ५ जुनमा मनाउने गरिन्छ । १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । यो दिवस केवल औपचारिक कार्यक्रम, वृक्षारोपण वा नारामा सीमित विषय होइन, यो मानव सभ्यता र पृथ्वीको भविष्यसँग प्रत्यक्ष जोडिएको प्रश्न हो । दिवसको मुख्य उद्देश्य हाम्रो प्रकृतिलाई सुरक्षित राख्न जागरुकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु हो । नेपालमा पनि हरेक वर्ष विभिन्न सचेतनामूूलक कार्यक्रमहरु गरी यो दिवस मनाइन्छ । तर पछिल्लो समय नेपालमा वातावरणीय विनाश दिन प्रतिदिन बढिरहेको छ । यो अत्यन्त दुखको कुरा हो ।
बढ्दो प्रदूषण, जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्राकृतिक स्रोतहरूको अन्धाधुन्ध दोहनले आज वातावरणीय संकटलाई विश्वकै प्रमुख चुनौती बनाएको छ । नेपाल पनि यस समस्याबाट अछुतो छैन । अनियन्त्रित शहरीकरण, नदी तथा वन क्षेत्रको अतिक्रमण, प्लास्टिकजन्य फोहोरको बढ्दो प्रयोग र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोगले वातावरणमा नकारात्मक असर पारिरहेको छ । हिमालहरूमा हिउँ पग्लिने क्रम तीव्र बन्दै जानु, अनियमित वर्षा, बाढी, पहिरो तथा खडेरीका घटनाहरू बढ्नु जलवायु परिवर्तनका स्पष्ट संकेत हुन् । यस्ता समस्याले कृषि, पर्यटन, स्वास्थ्य र समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पारिरहेका छन् ।
नेपालमा जल, वायु, भूमि प्रदूषणको साथै दृश्य प्रदुषण पनि बढेको छ । मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू हुुन् । वास्तवमा वातावरणीय विनाशको कारणले मरुभूमीकरण वर्षा, ओजोन तह नष्ट, बाढी पहिरो र हरित गृह प्रभाव बढ्ने क्रममा छ । वातावरण विनासले जलवायु परिवर्तनको असर समेत देखापरेको अवस्था छ । जलवायु परिवर्तनका कारण आम मानिसको जीवनमा समेत असर पुर्याउन थालिकेको छ । वातावरणलाई स्वच्छ र सफा बनाउने दिशामा समयमै सोचिएन भने यसले विकराल रुप लिन सक्ने देखिन्छ । यसतर्फ सबैले ध्यान दिन आवश्यक छ । स्वच्छ वातावरण बिना स्वस्थ जीवन, दिगो विकास र समृद्ध भविष्यको कल्पना गर्न सकिँदैन् । त्यसैले वातावरण संरक्षणलाई केवल अभियानका रूपमा होइन, जीवनशैली र जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्छ । आजको सचेत कदमले मात्र भोलिको सुरक्षित पृथ्वी सुनिश्चित गर्न सक्छ ।

