केही दिन यता तराईका जिल्लाहरुमा गर्मी एक्कासी बढेपछि जनजीवन अस्तव्यस्त हुन थालेको छ । चर्को गर्मीसँगै ‘लु’लगायत अन्य संक्रमण हुन सक्ने भएकाले सर्वसाधारण स्वयं सचेत हुनुपर्ने भएको छ । तराईका कतिपय जिल्लामा तापक्रम ४० डिग्रीभन्दा बढी भएकाले जनजीवन असहज बन्दै गएको छ । पहाडी जिल्लाहरुमा पनि गर्मी बढ्दो छ ।
उच्च गर्मी र तातो हावाका कारण मानिस बिरामी पर्न थालेका छन्। अस्पतालका शैययाहरू भरिन थालेका छन्। गर्मी वा चिसो सरकार वा स्थानीय सरकारले चाहँदैमा घटाउन वा बढाउन सक्दैन । यो एक किसिमको प्राकृति अवस्था हो । मानव वसभन्दा पर छ । यस्तो बेलामा सर्वसाधारण स्वयं सचेत हुने हो भने केही हदसम्म भए पनि संक्रमण हुनबाट जोगिन सकिन्छ । अधिक गर्मीबाट दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदुर वर्ग बढी प्रभावित हुन्छन्। त्यसैले गर्मीको असरबाट बच्नका लागि यो वर्गका व्यक्ति स्वयं नै बढी सचेत हुनुपर्छ। सम्भव भएसम्म काम गर्ने सिफ्टलाई बिहान वा बेलुका सार्नुपर्छ। गर्मी बढ्दैमा घरबाट बाहिर ननिस्कौं भन्न मिल्दैन । हरेकको आ–आफ्नै बाध्यता हुन्छ । हुने खानेहरूलाई त केही दिन बाहिर ननिस्कँदा पनि केही फरक नपर्ला तर, कतिपय व्यक्ति यस्ता पनि छन् बाहिन ननिस्की बिहान बेलुकाको चुल्हो बल्दैन । यस्तो अवस्थामा सकेसम्म घरबाट ननिस्कँदा राम्रो । निस्कनै पर्दा पनि गर्मी छलेर र छिनछिनमा आराम गर्दै काम गर्नुपर्ने हुन्छ । पानी प्रशस्त पिउनुका साथै रसिलो खाने कुरा खानुपर्छ । अत्यावश्यक काम नपरी घरबाहिर निस्किनु हुँदैन। घरको कोठालाई पनि शीतल बनाउने उपाय अपनाउनुपर्छ। घरबाहिर निस्किनै पर्दा छाता ओढ्ने, गर्मी र घाममैत्री हलुका कपडा लगाउने, घामबाट बच्न सकिने क्रिमको प्रयोग गर्ने जस्ता उपाय अपनाइयो भने पनि असर कम गर्न सकिन्छ। शारीरिक बल बढी प्रयोग गर्नुपर्ने कामलाई सम्भव भएसम्म स्थगित गर्नु उचित हुन्छ। सबैका लागि गर्मीबाट बच्नका लागि अतिरिक्त व्यवस्था गर्ने आर्थिक सुविधा उपलब्ध नहुन सक्छ। तर, यथाशक्य प्रयत्न भने गर्नैपर्छ। यदि गर्मीकै कारण कुनै संक्रमण एवं महामारी फैलियो भने हामीसँग विकल्न नै छैन भन्दा पनि हुन्छ । तसर्थ सकेसम्म सावधानी अपनाऔं । गर्मीबाट जोगिऔं ।

