Shittalpati
विषादी तरकारीको जोखिम नियन्त्रण गर

नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको छ । व्यापारका नाममा जनस्वास्थ्यको ख्याल नगरी जथाभावी रुपमा तरकारीमा विषादी राख्ने गरिएको छ । अहिले बजारमा आउने हरेक किसिमका तरकारीहरुमा विषादी भए पनि त्यसको परीक्षण भने हुन सकेको छैन । अहिले पाल्पासहित धेरै जिल्लाका बजारहरुमा साँझा औषधि राखेर विहानै टिपेर तरकारी बजार ल्याउने गरिएको छ । 

केही दिन अघि बुटवलको कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका लागि चितवनबाट ल्याइएको तरकारीमा अत्यधिक मात्रामा विषादी फेला परेको पाइएको छ । बोडीमा परीक्षण गर्दा अर्गानो फस्फेट समूहको विषादी ९७ प्रतिशतसम्म भेटिएको हो । जुन अहिले नष्ट गरिएको छ । औषधि राखेको निश्चित समयपछि तरकारी खाना योग्य भए पनि केही उत्पादक कृषकहरुले भने व्यापारका नाममा औषधि राखेको क्षणभरमै विक्री गर्ने गरेको व्यापाक गुनासो आउने गरेको छ । अझ विशेषगरी काँक्राको हकमा यसो गरेको पाइन्छ । साँझा सुई लगाएका काँक्रा अर्को दिन विहानै बजारमा पुर्‍याइन्छ । न विषादीको परीक्षण हुन्छ नत अनुगमन नै । केही टाठा–बाठा व्यापारिहरुले साना भएका काँक्रा एकाएक सुई लगाएर ठूलो बनाई विक्री गर्ने गरेको गुनासाहरु आए पनि त्यसको नियन्त्रण गर्नेतर्फ जिम्मेवार निकायले चासो देखाएको पाइँदैन ।

किसानले खेतबारीमा विषादी मनपरी प्रयोग गर्दा क्यान्सरलगायतका रोगको जोखिममा नागरिक पर्न थालेका छन् । मनपरी विषादी प्रयोगले नागरिकको स्वास्थ्य जोखिममा पर्दा समेत सचेतनाको कार्यक्रम प्रभावकारी हुन सकेको छैन । सरकारी निकाय विषादीको प्रयोग न्यूनीकरण गर्न र सुरक्षा सतर्कता अपनाउन सचेत नगराउनु नागरिकको स्वास्थ्यप्रति खेलवाड गर्नु हो । प्रतिबन्ध भएका विषादीको आयात र बेचबिखन भए कारबाहीको दायरामा ल्याउनुपर्छ । तर सरकारी निकायबाट नियमन छैन । प्रतिबन्ध भएका विषादीको आयात गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक छ भने किसान र उपभोक्तालाई समेत विषादीको प्रयोगबारे तीनै तहका सरकारमार्फत सचेतना जगाउन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update