Shittalpati
नयाँ सरकार र तानसेनको अपेक्षा

ऐतिहासिक, पौराणिक तथा पुरातात्विक महत्वका अनेकौँ सम्पदाहरूले भरिएको तानसेन नगर पाल्पाको सदरमुकामको रूपमा समेत रहेको नेपालकै पुराना मध्येको एक नगरपालिका हो । यहाँका अनेकौँ मठ मन्दिर, ऐतिहासिक दरबार, बजारको संरचना र विविध सांस्कृतिक तथा धार्मिकस्थलहरूको प्राचुर्य एवं विशिष्ट प्राकृतिक सुन्दरताले गर्दा पर्यटन क्षेत्रका अनन्त सम्भावनाहरूको संगमस्थलको रूपमा पनि यो क्षेत्र रहेको छ । समग्र पाल्पा अझ विशेष गरी तानसेन नगरक्षेत्रमा पर्यटन विकासका लागि प्रशस्त सम्भावना भए पनि हालसम्म यसका लागि आवश्यक पर्ने उपयुक्त नीति र कार्यक्रमको अभाव रहेका कारणले यहाँको पर्यटन क्षेत्रको समष्टिगत परिणाम र प्रभावलाई मापन गरी यसलाई दिगो पर्यटन विकासको सहज प्रक्रियासँग जोड्न सकिएको छैन ।

पर्यटन क्षेत्रको व्यवस्थित विकासका लागि पहिलो पूर्वाधारकै रूपमा आवश्यक पर्ने आधारभूत नीति, रणनीति र संरचनाको अभावका कारणले यहाँको पर्यटनको अवस्था कमजोर रहेको मात्र होइन; अनगिन्ती सम्भावनाको महशुस सबैले गरेपनि प्राथमिकतामा राखेर विशेष सम्वोधन गर्ने प्रयत्न अहिलेसम्म हुन सकेको छैन । परापूर्वकाल देखी छिमेकी भारत र चिनको तिव्वतबिचको व्यापारिक मार्ग र पर्यटकले प्रयोग गर्ने मार्ग भएपनि यसको व्यवस्थित इतिहास समेत नपाइएको अवस्था छ । समय समयमा यो क्षेत्रको भ्रमण गर्न आएका स्वदेशी/विदेशी पर्यटकहरूको अनुभव र तिनीहरूद्वारा लिखित यात्रावृत्तान्तहरूमा उल्लेख गरिएका कुराहरूले हाम्रो ध्यानाकर्षण गराइरहेको तथ्य हुँदा हुँदै पनि यसको गाम्भिर्यता प्रति उदाशिन बनेको देखिन्छ । पर्यटनको बुझाइ र पहिचानमा निजि क्षेत्रको अहंम भूमिका हुन्छ । यस क्षेत्रले पहिचान गरेका सम्भावनामा सरकारी संयन्त्रहरुको सकारात्मक सहयोग, सहकार्य र प्रवद्र्धनात्मक पहल जरुरी हुन्छ । तर पाल्पामा निजी स्तरबाट गरिएका पहलहरूको पनि व्यवस्थित र आधिकारिक दस्तावेजीकरण हुन नसकेको देखिन्छ । पाल्पाको पर्यटन विकासमा नेपालमा बहुदलीय व्यवस्थाको प्रारम्भ भएपश्चात तत्कालीन जिविसले आयोजना गरेको जिल्ला विकास गोष्ठी, विभिन्न सामाजिक संघ÷संस्थाद्वारा आयोजना गरिएका गोष्ठी तथा अन्तत्र्रिmया, समय समयमा विदेशी परामर्शदाताहरूले गरेका अध्ययन प्रतिवेदनहरू समेत व्यवस्थित रूपमा अभिलिखित हुन नसकेको यथार्थता रहेको देखिन्छ । पाल्पाको पर्यटन विकासको व्यवस्थित प्रारम्भ र पहलमा निजी क्षेत्रको लगानीमा खोलिएका होटल एवं सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूले पनि तानसेनमा आउने पर्यटकहरूको सुझावलाई अध्ययन गर्ने र परिमार्जनका लागि आवश्यक कदम चालेको स्थिति पनि खासै उत्साहवद्र्धक देखिएको छैन । यति हुँदाहुँदै पनि यस क्षेत्रको भौगोलिक अवस्था, प्रकृति, उपलब्ध संस्कृति, सम्पदा र इतिहासका कारण तथा तानसेन नगरपालिका एवं सीमित रूपमै भए पनि अन्य सरकारी निकाय वा संघ/संस्थाहरूद्वारा सञ्चालन गरिएका औपचारिक वा अनौपचारिक, प्रवद्र्धनात्मक वा विभिन्न परिचयात्मक गतिविधि र निजी क्षेत्रले आफ्नो व्यावसायिक हैसियतमा गरेका सारा प्रयत्नहरूलाई अब योजनाबद्ध, व्यवस्थित र दिगो पर्यटन विकास लक्ष्यसहितको नीतिद्वारा कार्यक्रमिक रूपमै सम्बोधन गर्न आवश्यक देखिएको छ । पाल्पा नेपालको इतिहासको कुनै कालखण्डमा पनि अपरिचयको स्थितिमा नरहेको एक विशेष ठाउँ हो । पौराणिककालको सिद्धभूमि, ज्ञानभूमि, तपोभूमि र देवभूमि त थियो नै; ऐतिहासिककालका राज्य, गढी, गौँडा, गोश्वारा, थुम र जिल्लाको विभाजन हुँदा पनि कहिल्यै नछुटेको ठाउँ हो यो । पाल्पाको यही गौरवशाली विगत र अनन्त सम्भावनायुक्त आगतको सुन्दर समायोजन गरी पर्यटन विकासको माध्यमद्वारा “हाम्रो पाल्पा: समृद्ध पाल्पा” बनाउने कर्मको नेतृत्व गर्दै यसलाई पर्यटन क्षेत्रको ‘आनन्दभूमि’ बनाउने कर्मको नेतृत्व गर्नु जिल्लाको सदरमुकाम हुनुका नाताले अब तानसेन नगरपालिकाको कर्तव्य हुन आएको छ । विगतका संघीय र प्रदेश सरकारद्धारा पाल्पा र विशेषगरी तानसेनलाई पर्यटकको गतिलो गन्तव्य बनाउने भन्दै वार्षिक नीति तथा कार्यक्रममा बोल्ने तर यथार्थमा केही व्यवस्थित र दीगो कार्यक्रम दिन नसक्ने पिडा व्यहोरी रहेको सन्दर्भमा यस नयाँ सरकारले तानसेनलाई विशेष पर्यटन क्षेत्र घोषणागरी सोही अनुरुपको नीति र कार्यक्रमले सम्वोधन गरेको सुन्न र देख्न पाल्पाली नागरिक लालाहित रहेका छन् ।  यसै सन्दर्भमा नेपाल सरकार र प्रदेश सरकार समेतको ध्यानाकर्षणका लागि निम्न आग्रह अपरिहार्य देखिएकोछ । 

विशेष पर्यटन क्षेत्रको घोषणा:
तानसेनलाई जीवन्त संग्रहालयको रुपमा रहेको सांस्कृतिक शहर (विशेष पर्यटन क्षेत्र) घोषणा गर्ने र यसकालागि क्रियाशिल तानपाको आफ्नै अंग तानसेन पर्यटन वोर्डलाइ सक्षम बनाउन(पर्यटक सूचना केन्द्र सहित) सम्पदायुक्त घर भाडामा लिन व्यवस्थित कार्यालय सञ्चालनमा नगद अनुदानद्धारा मद्दत गर्न आवश्यक छ । नगरपालिकाको आफ्नै आम्दानी अत्यन्त कम रहेको सन्दर्भमा यो सम्वोधनले पाल्पाको व्यवस्थित पर्यटन विकासमा निकै महत्व र योगदान गर्ने छ ।

भगवती मन्दिर पूननिर्माण:
नेपालकै प्रसिद्ध र शक्तिशाली मन्दिर श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरका लागि तत्कालिन कर्णे उजीरशिंहद्धारा निर्माण गरिएको पुरानै शैलीको तीन तले मन्दिर निर्माणका लागि चालु आवमा बजेट विनियोजन गरिएको तर हाल रोक्का रहेको बजेट, मन्दिर पुननिर्माणका लागि रु ३ करोड र परिसर निर्माणका लागि रु ३ करोड रुपैयाँ चालु आव देखी नै कार्य प्रारम्भ हुने गरी बहुवर्षिय योजना अनुरुप प्रारम्भ गर्ने व्यवस्था मिलाउन पहल हुन आवश्यक छ । वर्षौ देखी मन्दिरको छाना चुहिएर प्लाष्टिक ओडाएर राख्नु परिरहेको अवस्थालाई तत्काल सम्वोधन गरिएको समाचार सुन्न समस्त पाल्पाली पर्खिरहेका छन् ।

रानीघाट दरवार संरक्षण र व्यवस्थित उपयोग नीति: रानीघाटमा रहेको रानीमहल आन्तरिक तथा बाÞय पर्यटकका लागि निकै आकर्षक रहेको  क्षेत्र भएकोले यसको संरक्षण (कालि गण्डकी नदी किनारमा तटवन्ध) र यसको व्यवस्थित प्रयोग जरुरी रहेकोले यसकालागि आवश्यक नीतिगत कदम चाल्न जरुरी छ । साथै दरवार अगाडि बिच भलिबलका लागि उपयुक्त स्थान भएको भन्ने नेपाल पर्यटन बोर्डको सन २०२२ मा प्रकाशित पुस्तकमा समेत उल्लेख भएकोले एउटा व्यवस्थित बिच भलिवल कोर्ट निर्माणका लागि पहल गर्न आवश्यक छ  । रानीमहल क्षेत्रलाई विशेष क्षेत्रको रुपमा घोषणा गरी आवश्यक कदमको अपेक्षा पाल्पावासीहरुको रहेको छ । दरवार परिसर खुला राख्ने र सम्पदायुक्त क्षेत्र बनाउने ः तानसेन दरवार परिसर (उपत्यका बाहिरको एक मात्र दरवार परिसर) लाई खुल्ला राख्न अनावश्यक संरचना हटाउन, बालमन्दिरलाई अन्यत्र स्थानान्तरण गर्न र अति महत्वपूर्ण सम्पदा दरवार स्क्वायर सहित तीनसांचो खाली गरी पुरानै स्वरुपमा राख्ने व्यवस्था मिलाउन आवश्यक कार्यक्रम सहितको बजेट विनियोजन गरी सम्वोधन गर्न आवश्यक देखिन्छ ।

सम्पदायुक्त अर्गली दरवारको अधिग्रहण : भारत र चिन बिच जोड्ने कालिगण्डकी करिडोर, जसलाई धार्मिक तथा आध्यात्मिक मार्गको रुपमा विकास गर्न सकिन्छ ।  नेपालका चार पवित्र धाम मध्येको एक रिडिको ऋषिकेश मन्दिरको नजिकै पर्ने यो अर्गली दरबार हाल नीजि स्वामित्वमा रहेकोले सो अधिग्रहण गरी नगरपालिकाको स्वामित्वमा ल्याई संरक्षण साथै उपयोग गर्न आवश्यक बजेटद्धारा सम्वोधन गर्न जरुरी देखिन्छ । यस दरवारले मुक्तिनाथ जाने भातीय पर्यटकका लागि आकर्षित गर्ने सम्भावना रहेको छ ।
तानसेनको एक मात्र जैविक विविधतायुक्त सिमसार क्षेत्र घोषणा: तानसेनको प्रभास ऐतिहासिक, सांस्कृतिक र धार्मिक क्षेत्र पनि हो । यहाँ इहिास पनि रहेकोछ, धर्म र संस्कृति पनि रहेको छ र प्रकृतिले पनि सिमसार क्षेत्र दिएको छ । यहाँ संसारबाटै लोप हुन लागेको जंगली धान र भिन्नै प्रकृतिको कमलको पुल फुल्ने कमल पोखरी पनि रहेको छ । यस क्षेत्रलाई सिमसार क्षेत्र घोषणागरी जैविकविविधताको संरक्षण र प्रवद्र्धन गर्ने, धार्मीक तथा आध्यात्मिक पर्यटककालागि आकर्षित गर्ने र प्रकृतिको अध्येताहरुका लागि अनुसन्धान क्षेत्र निर्माणका लागि बृहत गुरुयोजना निर्माण गर्ने र आवश्यक क्रियाकलाप गर्ने वातावरण बनाउन जरुरी देखिन्छ ।
पर्यापर्यटन र श्रीनगर बनको भोगाधिकार: तानसेनको पर्यटनमा महत्वपूर्ण योगदान गर्ने श्रीनगर बनलाई नपाको भोगाधिकारयुक्त बनाई चौडापाते जंगलको रुपमा विकास गर्न आवश्यक प्रक्रिया प्रारम्भ गर्न जरुरी देखिन्छ । यो एक ओपन फिल्म सेन्टर पनि हो । यहाँ दर्जनौ कालजयी फिल्म छायांकन भैसकेका छन् ।

तानसेन बजार मध्यकालिन सहरी संरचनाको नमूना: तानसेन बजार महादत्तसेनद्धारा बसाइएको शहर हो । युनेश्कोले समेत सम्पदा शहरको रुपमा रहने आधार भएको घोषणा गरेकोले सोको पुनः अध्ययन गराई ध्यचमि ज्भचष्तबनभ ऋष्तथ को रुपमा स्थापित गर्न पहल गरिनु जरुरी छ । यसका लागि सरकारको ध्यानाकर्षण हुन आवश्यक छ ।

तानसेन ओपन खेल स्टेयिमको सम्भावना: तानसेनको पर्यटनमा खेल पर्यटनको योगदान हुने हुनाले र यहाँको मौसमले जुनसुकै मौसममा पनि राष्ट्रिय खेल प्रतियोगिता हुन सक्ने सम्भावना बोकेको टँुडिखेल मैदानलाई ओपन स्टेडियमको रुपमा व्यवस्थापन गरी सबै मौसममा खेलका लागि उपयुक्त मैदान निर्माण गर्न प्रारम्भ गर्न आवश्यक राष्ट्रिय सम्वोधन जरुरी देखिन्छ ।

NATHAM को शाखा सञ्चालन: तानसेन बतासेमा रहेको त्रिभूवन कलेजको विज्ञान संकायलाइ स्थानान्तरण गरी (विद्यार्थी संख्या समेत निकै कम भएको) पर्यटन तथा होटल व्यवस्थापन (स्नातक र स्नातकोत्तर) NATHAM मोडलमा कक्षा सुरु गर्न (आवश्यकता र उच्च सम्भावना रहेको)आवश्यक पूर्वाधार व्यवस्थाका लागि आवश्यक बजेटको व्यवस्था गर्न जरुरी देखिन्छ ।

नारायण मन्दिर परिसर विशेष धार्मिक क्षेत्र घोषणा: तानसेनको नारायण मन्दिर परिसर एक धार्मिक केन्द्र हो । यो क्षेत्र एक विशाल पर्खालबाट घेरिएको(ग्रेटवाल अफ तानसेन भनिन्छ) भए पनि केही भागको पर्खाल भत्काई अतिक्रमण गरी निजि घरहरु बनाइएकोले सो को खोजी गर्ने र परिसरलाइ नगरको विशेष सांस्कृतिक एवं धार्मिक केन्द्रको रुपमा विकास गर्न जरुरुी छ ।

माडीफाँटमा वैज्ञानीक सिचाइ व्यवस्था: पाल्पाको लागि खाद्य उत्पादनमा विशेष भूमिका निर्वाह गर्दै आएको माडीफाँटमा हाल मुस्किलले २ वाली धान र गहँु उत्पादन हुने गरेकोमा आवश्यक सिचाँइ र तिनाउ नदि नियन्त्रण गर्न सके पाल्पाको आधा जनसंख्यालाई खाद्यमा आत्मनिर्भर बनाउन सक्ने भएकोले सोकालागि आवश्यक अध्ययन व्यवस्था मिलाउने कार्य अपरिहार्य देखिन्छ । यो क्षेत्र माण्डव्य ऋषिको तपोभूमि पनि रहेकोले यसको सेरोफेरोलाई आध्यामिक केन्द्र बनाउन सक्ने सम्भावना रहेको छ । बाँसटारीदेखि माडी जाने बाटोलाई माण्डब्य पथ घोषणा गर्न सरकारले पहल गर्न आवश्यक छ ।

ग्रामीण पर्यटन र होमस्टे: तानसेन नगर क्षेत्रमा विभिन्न संस्कार संस्कृति बोकेका समुदायहरुको बसोवास रहेको र आ–आफ्नै संस्कार र संकृति रहेकोले ग्रामीण पर्यटनको ठूलो सम्भावना रहेकोले ग्राामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टे प्रवद्र्धन कार्यक्रमको घोषणा गर्न आवश्यक देखिन्छ । विविधतायुक्त सम्भावनाको प्रचुरता रहेको तानसेनका मागहरुलाई सरकारले सम्वोधन गरोस् र यसका लागि यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरु(संघीय संसद र प्रदेश सभा)को विशेष पहलको अपेक्षा गरिएको छ ।  (लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन्।)

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update