Shittalpati
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई संविधानको धारा ७६(१) अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् । शाहले आजै दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने मिति तय भएको छ । शपथ साइतको समयबारे रास्वपाले राष्ट्रपति कार्यालयलाई यसअघि नै जानकारी गराइसकेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा हुने शपथ ग्रहणमा ७ वटा शंखनाद हुनेछ । त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्घोष गरेको थियो । बालेनले आजै मन्त्रिमण्डल गठन गर्दैछन्।
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update