Shittalpati
पाल्पा उवासंघ मार्फत गतिशिल पाल्पा बनाउन सकिन्छ !

— पदमराज न्यौपाने
कुनै समयमा पाल्पा प्रशासनिक केन्द्र, व्यापारिक केन्द्र र शैक्षिक केन्द्रको रुपमा परिचयमा रहेको इतिहास छ । सेनकालिन पाल्पालाई राज्यको रुपमा हेर्दा प्रशासनिक अब्वलता र सवल राज्यको प्रशासनिक केन्द्रको रुपमा रहेको यसको इतिहास छ । यसको व्यापारिक इतिहास हेर्दा पश्चिम नेपालका अधिकाशं जिल्लाको व्यापारिक केन्द्र एवं भारत र तिव्वतसँगको व्यापार गर्ने सजिलो मार्गको रुपमा रहेको देखिन्छ । सायद यिनै अवसरले हुन सक्छ भिमसेन थापाले जग्गाको खरिद विक्रि गर्न पाउने आदेश जारी गरे पश्चात काठमाडौंबाट विशेषगरी व्यापारीक छवीभएका नेवार समुदाय पाल्पा (तानसेन र तत्कालिन अवस्थामा पाल्पा अधिनश्त रहेको बटौली क्षेत्र) आएर व्यापार र विभिन्न व्यवसायमा प्रवेश गरेको पाइन्छ । शिक्षा क्षेत्रमा हेर्ने हो भने त्रिभूवन क्याम्पसले पाल्पालाई शैक्षिक केन्द्रको रुपमा स्थापित गराएको देखिन्छ । यसर्थ पाल्पाले बलियो र निकै वजनदार इतिहास बनाएको पाइन्छ । 
पाल्पाले आफूलाइ हरेक क्षेत्रमा अब्वल प्रदर्शन गरेकै कारण नेपालको पुरानो नगरपालिकाको रुपमा गणना हुने अवसर पनि प्राप्त गरेको थियो । नगरपालिका घोषणा भए पश्चात पाल्पाको विकासमा नीजि क्षेत्रको भूमिका अहम रहँदै आएको हो । केही दशक अगाडिसम्म यो गहन भूमिका र योगदान पनि देखिदै आएको थियो । तर अहिले यो भूमिका र योगदानमा कमी देखिन थालेकोमा चिन्ता हुँदै आएको छ । यसबारे अब निजि क्षेत्र भित्रै गहन समिक्षा आवश्यक देखिन्छ । अहिले विश्वको परिवेश समय र परिस्थिति बदलिदै गएको छ । अहिले सर्वत्र नीजि क्षेत्रको भूमिका र योगदान बढ्दै गएको छ । समाज विकास र व्यापार व्यवसायमा नयाँ प्रविधि एवं प्रक्रिया र अवधारणा आएको छ र यसबाट निकै फरक अवसरहरु प्राप्त भएका छन् । यसै पृष्ठभूमिमा हरेक सरोकारवालाहरुले आफ्ना उद्देश्य र भूमिकामा पनि सोही अनुरुपको अवधारणा निर्माण गर्दै आन्तरिक क्षमतामा पनि विकास गर्न जरुरी भइसकेको छ । हामीलाइ प्राप्त अवसरहरुको अधिकतम उपयोगका लागि हामीसँग भएका र सिर्जना भएका अवसरले पहिचान गराएका नयाँ–नयाँ क्षेत्रमा हाम्रो प्रवेश कसरी हुन्छ र कसरी उपभोग गर्ने भन्ने जिज्ञासा उठ्नु पर्दछ र यो स्वभाविक पनि हो । यस लेखमा पाल्पाको निजि क्षेत्रले खेल्ने भूमिका र गर्नै पर्ने पहलका सन्दर्भमा संक्षेपमा चर्चा गर्ने प्रयत्न गरिएकोछ । 

विशेषगरी निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था पाल्पा उद्योग वाणिज्य संघले निर्वाह गर्न सक्ने योगदान र उपलव्ध सम्भावनाका सन्दर्भमा । प्रविधि र परिस्थितीले ल्याएका अवसरको उपयोगका साथै पाल्पामा रहेका ऐतिहासिक र सांस्कृतिक सम्पदा, प्रकृतिले प्रदान गरेको अवसर र शैक्षिक क्षेत्रको अब्वल संस्था एवं स्वास्थ्य स्ांस्थासंगै स्थानीय कला र सिपलाई अब व्यावसायिक ढंगले हेर्न सक्नु पर्छ । यसको आधार भनेको संघको विगत समेत पाल्पाका यी कतिपय क्षेत्रमा प्रत्यक्ष संलग्नता एवं सम्वन्ध समेत रहेको देखिन्छ । यसर्थ उद्योग वाणिज्य संघ पाल्पाले जिल्लाको शिथिल आर्थिक गतिविधिमा गतिशिलता ल्याउन विगतमा निर्वाह गरेको भूमिकाकाको पृष्ठभूमिमा आर्थिक गतिविधिहरुमा आफ्नो गहिरो चासो राख्न जरुरीछ । 
हिजोको पाल्पा र उवासंघ पाल्पा :
संघले तानसेनमा शिक्षा स्वास्थ्य र पर्यटनका साथै कुटीर उद्योगको सम्भावनामा निहित नारा पटक–पटक अगाडि सारेको थियो । यसैगरी आव २०५६÷०५७ सालको नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा तानसेनलाई नमूना नगर बनाउने घोषणा गरे जस्तै पटक–पटक पर्यटनको हिलस्टेशन बनाउने घोषणा समेत गर्दै गयो तर यसलाई स्थानीयस्तरवाट वा निजि क्षेत्रबाट अगाडि बढाउने तदारुकता देखाउन सकेन र ती सबै घोषणा घोषणामा मात्र समिति हुँदै आए । 
पाल्पामा निजि क्षेत्र संस्थागत बनेको इतिहास वि.स. २००९ सालमा पाल्पा व्यापार संघको नामबाट स्थापनाको प्रयास प्रारम्भ भए पनि त्यसले निरन्तरता नपाए पछि पुनः वि.सं.२०१५ सालमा पुनर्जिवित गर्ने प्रयास गरिएको थियो । तर यो संस्थागत पहलले वि.सं. २०२३ साल देखि निरन्तरता पाएको देखिन्छ । वि.सं.२०३४ सालमा यस संघको भूमिका र उद्देश्यलाई अझ व्यापकता प्रदान गर्न संघको नाम परिवर्तन गरी पाल्पा उद्योग वाणिज्य संघ नामाकरण गरियो । तर वि.सं. २०५० सालमा मात्र संस्था दर्ता ऐन २०३४ अन्तर्गत व्यवसायिक सामाजिक संस्थाको रुपमा दर्ता गरियो र वि.सं. २०५१ सालमा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भइ पाल्पा उद्योग वाणिज्य संघ क्रियाशील रहँदै आएको छ ।

जिल्लाको आर्थिक विकासमा साझेदार,उद्यमी–व्यवसायीहरुको प्रतिनिधिमूलक र प्रवद्र्धक, आफ्नै व्यावसायिक सचिवालय सहित सेवा प्रदायक सबल संस्थाको रुपमा विकास गर्ने परिकल्पना अनुरुप संघ क्रियाशिल हुँदै आएको छ ।
आफ्नो स्थापनाकालदेखि नै संघले व्यापार विस्तार, सदस्यहरुको हितका साथै सामुदायिक विकासमा समेत आफ्नो प्रत्यक्ष संलग्नता देखाउँदै आएको देखिन्छ । शिक्षा, स्वास्थ्य, पर्यटन र कुटीर उद्योग मूल नारा दिइ पाल्पाको विकासको गतिलाई अगाडि बढाउने लक्ष्य अनुरुप संघले त्रिभुवन बहुमुखी क्याम्पसको विज्ञान भवन, होस्टेल भवन तथा स्नातकोत्तर कक्षा कोठाको निर्माण गरेको मात्र नभइ सि.एम.ए. क्याम्पसको भवन निर्माणार्थ जग्गा खरिद गर्ने कार्यमा महत्वपूर्ण भूमिका र योगदान गरेको थियो । पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउने कार्यमा समेत अग्रता प्रदर्शन गर्नुका साथै तानसेन बजारको खानेपानी समस्या समाधानार्थ बिशेष पहल गर्दै सिस्नेमुल खानेपानी योजना अन्तर्गत खानेपानी टंकीहरु निर्माण गर्ने कार्यमा संलग्नता प्रदर्शन गर्‍यो । यसका साथै नगर भित्रका ढुङ्गेधाराबाट खेर गइरहेको पानी संकलन हुने गरी टंकी निर्माण गर्ने कार्यमा पनि सक्रियता प्रदर्शन गरेको थियो । 
यस्तै कृषि व्यवसाय प्रवद्र्धन र विकासका लागि संघले कृषि व्यवसाय सेवा इकाई स्थापना गरी कृषि उपज बजारको थोक मूल्य सूचनाहरु लगायत आवश्यक सूचनाहरु उपलब्ध गराउने व्यवस्था तथा प्रकाशन तथा प्रसारण गर्दै आईरहेको पनि हो । 
उल्लेखित प्रयत्न र पहल हेर्दा पाल्पा उद्योग वाणिज्य संघ र स्थानीय विच विकासमा सरोकार राख्ने विषयहरुमा गहिरो साझेदारी र समन्वयको सम्वन्ध स्थापीत गरेको थियो । विशेषगरी तानसेन नगरमा विकास अवधारणा निर्माण र वजेट निर्माणमा समेत उवासंघको अनिवार्य उपस्थिती र सुझावको अपेक्षा गरिन्थ्यो । नगर विकासकालागि समय समयमा संघको आफ्नै अवधारणा सार्वजनिक गर्ने गथ्र्यो । संघकै पहलमा लगानी अभिप्रेरित र व्यवस्थाका लागि पहल गर्ने गरिन्थ्यो । उवासंघले अगाडि सारेका प्रस्तावहरुमा स्थानीय सरकारले सहजै स्विकार गर्ने गरिएका उदारण र परम्परा देख्न, सुन्न पाइन्थ्यो । तर अहिले भने संघले यो अन्योन्याश्रित सम्वन्धलाई कायम गर्न सकेको देखिदैन । यो सम्बन्धलाई पुनस्थापित गर्न भने जरुरी छ ।  विकासमा निजि क्षेत्रको भूमिका अहम र गहन हुने हुन्छ । यसैले पाल्पाको सामाजिक आर्थिक क्षेत्रमा गतिशिल पाल्पा बनाउन उवासंघ पाल्पाले ठूलो योगदान गर्न सक्छ । यस पक्षको  नेतृत्व गर्दै उवासंघ पाल्पाले तत्काल निम्न कदम चाल्नु पर्ने आवश्यकता देखिन्छ । 
आवश्यक पहल र कदम
१) संघको नितीगत र अवधारणागत परिभाषा स्पष्ट र दुरगामी बनाउनुका साथै स्थानीय विकास अवधारणा, संस्थागत पहुच र वजनको इतिहासको आन्तरिक समिक्षा गरी आवश्यक कदम चाल्ने ।
२) पाल्पाको वर्तमान सामाजिक आर्थिक र विकासका अवस्थाको समिक्षा गर्ने र तथ्यहरुकोअभिलेखीकरण गरी समय समयमा सार्वजनिक गर्ने । 
३) संघको हिजोको व्यापार व्यवसाय विकास र स्थानीय सामाजिक आर्थिकक्षेत्रमा निर्वाह गरेको  भूमिका, योगदान र हालको अवस्था वारे समिक्षा गर्ने । 
४) जिल्लामा उद्यम विकासका अवसरको पहिचान गर्ने, व्यापारको प्रकृति एवं प्रवृतिको अवस्था मूलयकंन, आन्तरिक उत्पादन र व्यापारको अवस्था एवं पालिकाहरुको विकास अवधारणाको अध्ययन र समिक्षा गरी जिल्ला विकास रणनीति तय गर्ने । 
५) पाल्पा र विशेषगरी तानसेन नगरपालिकालाइ केन्द्रमा राखेर क्षेत्रगतरुपमा विद्यागत सम्भावनाको अध्ययन गर्ने र पाल्पाका सम्भावनाको पहिचान गरी सम्भावित कार्यक्रम तय गरी समन्वयात्मक भूमिका निर्वाह गर्ने । 
६) विभिन्न सम्भावित आवश्यकताका आधारमा नविन परियोजना प्रस्ताव निर्माण र लगानीका सम्भावित क्षेत्रहरुसंग समन्वय र लगानी परिचालनको सम्भावना खोजी गर्ने । 
७) गतिशिल पाल्पा (Vibrant Palpa_ को नारा तयगरी पाल्पाको अर्थतन्त्र चलायमान गराउन, लगानी अभिबृद्धि गर्न, उत्पादन बढाउन र वजार प्रवद्र्धन गर्न, व्यापार व्यवसायमा परिस्कृतपना ल्याउन, सम्पर्क समन्वय बढाउने र बजारमा आर्थिक क्रियाकलाप बढाउन नविन सम्भावित पहलका वारे छलफल गर्ने । 
८) सबै पालिकाहरुसंग सामाजिक आर्थिक रुपान्तरणमा पालिकाले अगाडी सारेका नीति तथा कार्यक्रममा उवासंघको भूमिका वारे छलफल चलाउने । 
९) हरेक पालिकाका लक्ष्यहरुको प्रभाव दीगो बनाउन र  प्रवद्र्धनमा मद्धत गर्ने । 
१०) शिक्षा स्वास्थ्य, पर्यटन, प्रविधिको प्रयोग र  विकास, उद्यम विकास, स्वरोजगार र रोजगार सिर्जना र हरेक वडामा हप्तामा कम्तीमा एक पटक र बजारमा दुईपटक हाट बजार व्यवस्थ प्रारम्भ गर्ने र नजिकका बजार केन्द्र पोखरा र रुपन्देहीको वजारमा पहुँच सम्भावनामा सहकार्य र सहयोग गर्ने सहमतिका लागि पहल गर्ने । 
११) समय समयमा जिल्लामा लगानी सम्मेलन, पर्यटन प्रवद्र्धन सम्मेलन, नयाँ उद्यम र स्टार्टअप सम्मेलन, नविन अवधारणाको महोत्सव आयोजना गर्ने । 
१२) पाल्पामा रहेका विभिन्न बैंक वित्तिय संस्था, सहकारी र लगानीकर्ता लगायत अन्य सामाजिक संस्थाहरुसंग संस्थागत गहिरो र मित्रवत सम्वन्ध र सहकार्य अगाडि बढाउने । 
उल्ल्ोखित तात्कालिक प्रयत्नका अतिरिक्त यस अगाडिका संघका कार्यसमितिले अगाडि सारेका अवधारणागत विषयमा छलफल गर्ने र नियमिति अध्ययन र सुझावकालागि पहल गर्न वेग्ले समूह गठन गरी नियमिति छलफल गर्ने परिपाटी प्रारम्भ गर्न सकियो भने पाल्पाको सामाजिक आर्थिक रुपान्तरणकालागि सबै पक्षहरुको सहयोग र सहकार्यमा परिचालन गर्दै गतिशिल पाल्पा वा भाइब्रेन्ट पाल्पालागि रचनात्मक एवं सृजनात्मक गतिविधिद्धारा जिल्लामा बढ्दो निराशा घटाइ आशा र विश्वास जगाउन पाल्पा उवासंघले भूमिका निर्वाह गर्न सक्दछ । 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update