हरेक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवसले मौसम तथा जलवायु प्रणालीको महत्वलाई उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ । नेपाल जस्तो भौगोलिक विविधता भएको देशका लागि मौसमको अध्ययन, पूर्वानुमान र व्यवस्थापन झन् बढी संवेदनशील विषय हो । हिमाल, पहाड र तराईसम्म फैलिएको विविध भौगोलिक बनोटले गर्दा यहाँको मौसम छिटो–छिटो परिवर्तन हुने र त्यसले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसम प्रणालीमा देखिएको असन्तुलनले नेपालमा विभिन्न प्राकृतिक विपद्का जोखिम बढाएको छ । असमय वर्षा, अत्यधिक वर्षा, खडेरी, हिमपहिरो तथा बाढी–पहिरो जस्ता घटनाहरू दिनानुदिन बढिरहेका छन् । यस्ता घटनाले कृषि उत्पादन, पूर्वाधार विकास तथा जनजीवनमा गम्भीर असर पारिरहेका छन् । कृषिमा निर्भर ठूलो जनसंख्याका लागि मौसमको सटीक जानकारी अझै पनि जीवनयापनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । यस्तो अवस्थामा विश्व मौसम दिवस मनाउनु केवल औपचारिकता नभई सचेतना र तयारीको अवसरका रूपमा लिनुपर्छ । मौसम पूर्वानुमान प्रणालीलाई अझ आधुनिक र विश्वसनीय बनाउन आवश्यक छ । दुर्गम क्षेत्रमा समेत समयमै सूचना पु¥याउने संयन्त्र विकास गर्नु आजको आवश्यकता हो । सूचना प्रविधिको प्रयोगमार्फत किसान, सर्वसाधारण र सम्बन्धित निकायबीच समन्वय बढाउनु जरुरी छ ।
सरकारले मौसम तथा जलवायु सम्बन्धी अनुसन्धानमा लगानी बढाउनुपर्ने आवश्यकता छ । विद्यालय तथा समुदायस्तरमै मौसमसम्बन्धी सचेतना अभिवृद्धि गर्न सके भविष्यका जोखिम न्यूनीकरणमा ठूलो योगदान पुग्नेछ । यससँगै वातावरण संरक्षण, वनजंगलको जगेर्ना तथा दिगो विकासका अभ्यासलाई जोड दिनु अपरिहार्य छ । अन्ततः, मौसम केवल प्राकृतिक प्रक्रिया मात्र होइन, मानव जीवन र विकाससँग गहिरो रूपमा जोडिएको विषय हो। विश्व मौसम दिवसले हामीलाई यही यथार्थ स्मरण गराउँदै, जिम्मेवार र सचेत बन्न प्रेरित गर्दछ । नेपालजस्तो संवेदनशील देशका लागि यस दिवसको सान्दर्भिकता अझ गहिरो छ, जसलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो ।

