Shittalpati
दलहरूमा रूपान्तरण अनिवार्य

आमनिर्वाचनले यस पटक अप्रत्याशित आमूल परविर्तनको प्रत्याशित नतिजा दिएको छ । पुराना राजनीतिक दलबाट आजित जनताले नयाँसँग आशा गरेर परिवर्तनको मत जाहेर गरेका छन् । कहिले काँग्रेसलाई दुईतिहाइ त कहिले कम्युनिस्टलाई दुईतिहाइ बहुमत दिएर संसद् पठाएका नेपाली जनताले यसपालि तीभन्दा भिन्न पार्टी रोजेका छन् । यो भनेको पुरानाबाट आशा मरेको प्रष्ट सन्देश हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइको छनक देखाउनु र नेपाली कांग्रेस तथा नेकपा एमाले औंलामा सीमित सिटमा खुम्चिनुले नेपाली नागरिकमा परिवर्तनको भोक स्पष्ट देखिएको छ । इतिहास बोकेका दलहरू खुम्चिनुले स्पष्ट सन्देश दिएको छ ‘अब पुरानो ढर्रा चल्दैन ।’

सत्तामा रहँदा समयको पदचाप चिन्न नसक्नु र पुरानै आश्वासनको खेती गरिरहनु नै पुराना दलहरूको हारको मुख्य कारण बन्यो । अब पनि नसच्चिने हो भने उनीहरू इतिहासको पानामा मात्र सीमित हुनेछन् । पुराना दलहरूले पनि अब समयको माग बुझ्न आवश्यक छ । जेन–जी पुस्ताको विद्रोहले दलहरूलाई पारदर्शिता, जवाफदेहिता र योग्यता आधारित राजनीतितर्फ धकेलिरहेको छ । पुरानै शैली र अनुहार दोहो¥याइरहे दलहरूलाई युवाले अब सजिलै स्वीकार गर्ने अवस्था छैन । दलहरूले आफ्नो स्वार्थ नहेरी सक्षम नेतृत्व र युवा पुस्तालाई ठाउँ दिनुपर्छ, जसले नेपाली समाज बुझेको छ, देशको अर्थनीति बुझेको छ, शिक्षा प्रणाली बुझेको छ, नागरिकको अपेक्षा बुझेको छ, देशको माटो बुझेको छ, त्यस्तै नेतृत्वको पहिचान गरी उम्मेदवार बनाउनुपर्ने आवश्यकता देखिन्छ । युवा पुस्ताले परम्परागत मान्यताहरूलाई चुनौती दिँदै, परिवर्तनको बहस गर्दै राजनीतिमा नयाँ दृष्टिकोण र विचार ल्याउँछन्, त्यसैले अब राजनीतिक दलले नेतृत्वको पुस्तान्तरण गरी युवा पुस्तालाई स्थान दिनुपर्छ । निर्वाचनको यो नतिजाले रास्वपालाई ठूलो जिम्मेवारी र पुराना दलहरूलाई गम्भीर सवक सिकाएको छ । अब पुराना दलहरूले हामीले नै देश चलाएका हौं भन्ने दम्भ छाडेर ‘अब कसरी देश बनाउने ?’ भन्ने सोचका साथ आफूलाई पुनर्संरचना गर्नुपर्छ । त्यसका लागि नयाँ र भिजन भएका युवाहरूलाई नेतृत्व सुम्पन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update