नेपालमा प्रतिनिधि सभाको मतदानको काम सकिएपछि मतपरिणाम धमाधम आइरहेको छ । निर्वाचनले एक किसिमको उत्साह छाए पनि अमेरिका–इजरायल र इरानबीच जारी युद्धले भने नेपालीलाई चिन्तित बनाएको छ । दक्षिण–पश्चिमका आकाशमा यतिखेर तिर्मिराइरहेका मिसाइलका बत्तीले नेपालमा रहेका आफन्तजनको निद्रा बिथोलिएको छ । दक्षिण–पश्चिमका ती मुलुकमा बमबारी भएको खबरले घरपरिवारलाई अत्यधिक चिन्तित बनाएको छ । विदेश पुगेका आफन्तसँग स्वदेशमा रहेकाहरू दिनहुँ चिन्ता व्यक्त गरिरहेका छन् । केही नेपालीहरुले ज्यान समेत गुमाएका छन् ।
वर्तमान सरकार निर्वाचनमै व्यस्त भए पनि पहिलो प्राथमिकता नागरिक सुरक्षा हुनुपर्छ । तर सरकारले यसतर्फ खासै चासो देखाएको छैन । यो अत्यन्त दुखको कुरा हो । नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो कत्र्तव्य नै हो । त्यो कर्तव्य निर्वाह गर्ने क्रममा कुनै यो वा त्यो वहानावाजी स्वीकार्य हुँदेैन । लाखौं नेपालीहरूको जीवन यतिखेर अत्यन्त संकटमा छ । खाडीका मुख्य देशहरूमा काम गर्ने लाखौंको संख्याका नेपाली दाजुभाइ, दिदीबहिनीहरू यतिखेर ज्यान हत्केलामा राखेर मृत्युको सन्निकट आक्रमणमा बाँचिरहेका छन् ।
मध्यपूर्वमा गत शनिबार देखि सुरु भएको युद्ध तत्काल रोकिने कुनै संकेत छैन । यस युद्धले महायुद्धको रूप लिँदैछ र विश्वयुद्धतर्फ यसको गन्तव्य देखिएको छ । खाडी क्षेत्रलाई सुरक्षित रोजगार गन्तव्य मान्ने नेपाली, भारतीय, बंगालादेशी, श्रीलंकाली, फिलिपिनोहरूको संख्या कति छ भन्न सकिँदैन । नेपालीहरू नै कूल कति छन् एकिन् छैन । तैपनि युएई, कतार, कुबेत, बहराइन, साउदी अरेबियालगायत देशमा पुगेका नेपालीहरू पच्चीस लाख हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । यससँगै इजरायलमा पनि ठूलो संख्यामा नेपालीहरू छन् । यसर्थ नेपालीहरुलाई तत्काल छिमेकी मित्रराष्ट्र भारतलगायत अन्तर्राष्ट्रिय समुदायसँग कूटनीतिक पहल गरी आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्ने सरकारको ध्यान जान जरुरी छ ।

