Shittalpati
सांसदले विकास निर्माण हैन, नीति बनाउने काम गर्नु पर्दछ : अस्लामी

पाल्पा,राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव एवं पाल्पा क्षेत्र नं. २ का उम्मेदवार टोप बहादुर अस्लामी मगरले संघीय सांसदले विकास निर्माणको काममा नभई जनता केन्द्रित नीति बनाउने काम केन्द्रित हुनुपर्ने बताएका छन् ।

नेतृत्व मिडिया प्रा.लि. ले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । नेता अस्लामीले भने “संघीय सासंदको काम भनेको विकास निर्माण भन्दा पनि  जनताका पक्षमा नीति नियम बनाउने हो, सांसदले विकास निर्माणका काम गर्ने भए किन स्थानीय सरकार चाहियो ?” उनले राजनीतिमा इमान्दारिताको पेशा बनाउनुपर्ने बताए । अस्लामीले अहिले राजनीतिक भनेको ढाल, छल, बेईमान गर्ने पेशा जस्तै भएको आरोप लगाए । उनले जनताको विश्वास जित्न राजनीतिलाई इमान्दारीताको पेशा बनाउनु पर्नेमा जोड दिए । फागुन २१ गते हुने निर्वाचनमा जनताले व्यक्ति हेरेर भन्दा पनि राजनितिक दलका ऐजेण्डा हेरेर मतादन गर्नुपर्ने नेता अस्लामीले बताए । देश विकास, समान हक अधिकार तथा पहुँचको लागि संघीयता जरुरी रहेको भए पनि चलिरहेको संघीयताको मोडल परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।

जनमुक्ति पार्टीले अहिले संघमा राखिएको धेरै अधिकार स्थानीयतहमा हस्तान्तरण गरी स्थानीय सरकार र जनतालाई बलियो र साधन र श्रोत सम्पन्न बनाउने एजेण्डा लिएर जनतामाझ पुगेको महासचिव अस्लामीले बताए । उनले भने “ हाम्रो पार्टीले वर्तमान संघीयताको मोडलमा सुधार गर्नुपर्ने,  प्रत्यक्ष कार्यकारी प्रणाली अन्र्तगत, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, कलष्टर अनुसार राष्ट्रपति र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने, भ्रष्टाचारमुक्त नेपाल निर्माणमा युवाहरुको सहभागिता हुनुपर्ने, देशमा औधोगिककरणको व्यवस्था, रोजगारी, शिक्षा तथा व्यापारको लागि विदेशीएका नेपालीहरुको नागरिताकतालाई रद्ध नगरी निरन्तर कायम राख्नुपर्ने, विदेशमा राम्रो पैसा कमाएका नेपलाीहरुलाई नेपालमा लगानी गर्ने वातावरणको सुनिश्चिता कायम गर्ने र संविधानको पुनरलेखनको लागि जनता समक्ष एजेण्डा लिएर निर्वाचनमा होमिएको छ ।”जनमुक्तिले हात मिलाएको निर्वाचन चिन्ह लिएको छ । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन नेतृत्व त्रैमासिक पत्रिकाका प्रधान सम्पादक गोविन्द भट्टराईले गरेका थिए ।

 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update