पाल्पा, यही आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पाल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पाल्पामा दुई वटा निर्वाचन क्षेत्र रहेकोमा तानसेन दरवार संग्राहलयमा क्षेत्र नं. २ सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ भने पाल्पा क्षेत्र नं. १ को लागि रामपुर नगरपालिका वडा नंं ५ को वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रममा जिल्लाका सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी, लगायतका विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
निर्वाचन आयोगले पाल्पा क्षेत्र नं. २ तथा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत पाल्पाका न्यायधीस हरि प्रसाद शर्मा उपाध्याय पंगेनीलाई खटाएको छ भने क्षेत्र नं. १ को निर्वाचन अधिकृतमा दशरथ पंगेनीलाई जिम्मेवारी दिएको छ । दुई वटै निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गतेको निर्वाचनको लागि कर्मचारी नियुक्तिको काम गरेको छ । यही माघ ६ गते हुने उम्मेदवार मनोनयनको लागि आवश्यक कर्मचारीहरु काममा खटिएका छन् । निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार पाल्पाका दुई वटै निर्वाचन क्षेत्रको लागि माघ २ गते देखी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको तालिका अनुसार काममा खटिएको पाल्पाका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा उपाध्याय पंगेनीले बताए ।
पाल्पामा क्षेत्र नंं १ मा मतदान स्थल ५२ वटा, मतदान केन्द्र १ सय १७ वटा र मतदाता ९८ हजार ३ सय ८३ जना रहेका छन । पाल्पा क्षेत्र नं. २ मा १ सय १८ वटा मतदान स्थल, २ सय ५१ वटा मतदान केन्द्र र १ लाख ९ हजार ५३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी महेश शर्माले बताए । माघ ६ गतेको उम्मेदवार मनोनयनको लागि दुबै निर्वाचन अधिकृतको कार्यालयले माघ ५ गते सर्वदलिय बैठकको आह्हान गरेका छन् । पाल्पामा निर्वाचन प्रहरीको लागि १ हजार ४ सय १८ जनाको माग भएकोमा माघ १ गते सम्म ९ सय ९० जनाको आवेदन परेकोमा थप जनशक्तिको लागि माग ३ गते सम्म म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले बताए ।


