Shittalpati
राष्ट्रिय सभाको गरिमा जोगाऊ

आउँदो माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । रिक्त १८ सिटका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । जसका लागि ४४ जनाको उम्मेदवारी परेको छ । आगामी फागुन २० गतेसम्म पदावधि रहेका १९ जना सांसद बिदा हुँदै छन् । राष्ट्रिय सभा अर्थात् माथिल्लो सदनलाई स्थायी सदन र बौद्धिक सभाका रूपमा लिइन्छ । यो स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्ग हो । यसमा प्रदेशहरूको न्यायोचित प्रतिनिधित्व हुन्छ । यसले व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलनलाई सम्बोधन गर्छ ।

तल्लो सदन प्रतिनिधिसभाबाट भएका त्रुटि सच्याउने र तल्लो सदन रिक्त हुने अवस्थामा सरकारलाई जवाफदेही बनाउने सदन राष्ट्रिय सभा नै हो । तर, पछिल्लो समय नेपालमा दलहरूको सत्ता स्वार्थका कारण राष्ट्रिय सभा संविधानको मर्मअनुसार चल्न सकेको छैन ।राष्ट्रिय सभाको प्रमुख कार्य कानुन बनाउने, सरकारलाई उत्तरदायी बनाउने, नियमन र निर्देशन गर्ने हो । तर सभा त्यसो हुन नसक्नु दुखद् हो । सधैँ किचलो भइरहने मर्यादाको विषयलाई राष्ट्रिय सभाले भुल्ने गरेको छ । यसो हुनुु राम्रो होइन । माघ ११ गते  हुने निर्वाचनबाट निर्वाचित भएर आउने व्यक्तिले सभाको गरिमालाई उचाईामा पु र्‍याउन आवश्यक छ । व्यक्ति जुनसुकै पार्टीको भएपनि होस् । तर सभाको गरिमालाई जोगाई राख्ने र त्यसलाई थप उचाईमा पुर्‍याउने व्यक्ति अहिलेको आवश्यकता हो ।

राष्ट्रिय सभामा  जाने व्यक्तिका लागि गुमेको गरिमा फर्काउने अवसर पनि हो । सभालाई सार्थक बहसको थलो बनाउनेदेखि सरकारलाई जवाफदेही बनाउन प्रभावकारी भूमिका खेल्ने र खस्किएको गरिमा उकास्न ध्यान दिन सक्ने व्यक्ति राष्ट्रिय सभामा जानु पर्छ । मुलुकको नीति निर्माणमा मुलुकवासी सबैको प्रतिनिधित्वको परिकल्पना राष्ट्रिय सभामा गरिएको छ । यसर्थ सोही अनुसार यसको गरिमा बढाउन सबैको सहयोग र समर्थन जरुरी छ ।

 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update