Shittalpati
ज्योतिष परिषद्  स्थापना दिवसको सार्थकता 

हरेक वर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषद्  स्थापना दिवसका रूपमा मनाउने चलन छ । यो दिवसले नेपाली समाजमा गहिरो रूपमा जरा गाडेर बसेको ज्योतिष परम्परा र यससँग सम्बन्धित शिक्षाको अवस्थाबारे पुनः चिन्तन गर्ने अवसर प्रदान गर्छ । जन्मदेखि मृत्यु सम्मका संस्कार, विवाह, गृहप्रवेश, यात्रा, कृषि कार्यदेखि राज्य सञ्चालनसम्म नेपाली समाजले कुनै न कुनै रूपमा ज्योतिषलाई सन्दर्भ बिन्दु बनाउँदै आएको छ । यति व्यापक प्रभाव हुँदाहुँदै पनि नेपालमा ज्योतिष शिक्षाको औपचारिक अवस्था भने अपेक्षाकृत कमजोर देखिन्छ ।

परम्परागत रूपमा ज्योतिष शिक्षा गुरु–शिष्य परम्परामार्फत सञ्चालन हुँदै आएको छ । संस्कृत पाठशाला, गुरुकुल र केही धार्मिक संस्थाहरूमा वेद, पुराणसँगै ज्योतिष अध्यापन हुने गरे पनि आधुनिक शिक्षा प्रणालीमा यसको समुचित स्थान स्थापित हुन सकेको छैन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत संस्कृत क्याम्पसहरूमा ज्योतिष विषय समावेश भए तापनि विद्यार्थी संख्या घट्दो क्रममा छ । यसले ज्योतिष शिक्षाप्रति नयाँ पुस्ताको आकर्षण घट्दै गएको संकेत गर्छ । यसको एउटा कारण ज्योतिषलाई वैज्ञानिक दृष्टिले हेर्ने प्रवृत्तिको कमी र अर्कोतर्फ अन्धविश्वाससँग जोडेर मात्र व्याख्या गर्ने सामाजिक धारणा हो । केही व्यक्तिले ज्योतिषको नाममा भ्रम फैलाउने, आर्थिक शोषण गर्ने गतिविधिले यस क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।

फलस्वरूप, वास्तविक शास्त्रीय ज्योतिष र अवैज्ञानिक अभ्यासबीचको भिन्नता स्पष्ट हुन सकेको छैन् । तर यसको प्रभाव नकारात्मक मात्र छैन । सही अध्ययन र विवेकपूर्ण प्रयोगले ज्योतिषले मानिसलाई आत्मचिन्तन, समय व्यवस्थापन र सांस्कृतिक पहिचान जोगाउन सहयोग पु¥याएको छ । वैदिक ज्ञान, गणित, खगोल विज्ञानसँग जोडिएको ज्योतिष अध्ययनले अनुसन्धान र दर्शनको क्षेत्रलाई पनि समृद्ध बनाउन सक्छ । आजको आवश्यकता भनेको ज्योतिष शिक्षालाई परम्परा र आधुनिकताको सन्तुलनमा विकास गर्नु हो । पाठ्यक्रमलाई अनुसन्धानमुखी बनाउने, वैज्ञानिक खगोलशास्त्रसँग समन्वय गर्ने र राज्यस्तरबाट नियमन तथा प्रोत्साहन गर्ने हो भने ज्योतिष शिक्षा अझ व्यवस्थित बन्न सक्छ । यसर्थ ज्योतिष दिवस केवल पूजा–पाठको औपचारिकता नभई, ज्ञान, विवेक र जिम्मेवारीसहित अघि बढाउन सकियो भने मात्र यो दिवस मनाउनुको सार्थकता रहन्छ ।


 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update