Shittalpati
युवा जनशक्ति र सामाजिक सञ्जाल

सामाजिक सञ्जालले युवालाई अभिव्यक्तिको खुला मञ्च दिएको छ । आफ्ना विचार, सिर्जना, समस्या र अभियान प्रस्तुत गर्ने अवसर उनीहरुले पाएका छन् । कतिपय युवाले सामाजिक सञ्जालमार्फत उद्यम, रोजगारी, पत्रकारिता, डिजिटल मार्केटिङ र सिर्जनशील कामलाई अघि बढाएका छन् । सामाजिक अभियान, विपद्मा सहयोग, अन्याय विरुद्ध आवाज उठाउन सामाजिक सञ्जाल प्रभावकारी माध्यम बनेको छ । यस अर्थमा हेर्दा सामाजिक सञ्जाल युवा सशक्तीकरणको औजार पनि हो भन्न सकिने अवस्था छ  ।
नेपालको कुल जनसंख्याको ठूलो हिस्सा १६ देखि ४० वर्ष उमेर समूहमा पर्छन् । युवा जनशक्ति राष्ट्रको सम्भावना, र भविष्य हो । पछिल्ला वर्षहरूमा यो युवा पुस्ता सामाजिक सञ्जालसँग अत्यन्त नजिक भएको देखिन्छ । फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, एक्स जस्ता माध्यम युवाको दैनिकी जस्तै बनेको कुरालाई कसैले पनि नकार्न सक्दैन् । त्यस कारण अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता पनि धेरै युवा जनशक्ति नै रहेको यथार्थ तथ्य हो ।  यसको प्रयोग कसरी र किन यति धेरै भई रहेको छ भन्ने विषय सबै भन्दा महत्वपुर्ण हो ।

अधिकांश युवाको समय उत्पादनशील कामभन्दा मनोरञ्जनमा बढी खर्च भइरहेको देखिन्छ । भ्रामक सूचना, अफवाह, घृणात्मक अभिव्यक्ति र सतही लोकप्रियताको दौडले युवाको सोच र संस्कारमा नकारात्मक प्रभाव पारेको छ । लाइक, भ्यु र फलोअरको प्रतिस्पर्धाले आत्म केन्द्रित सोच बढेको देखिन्छ । कतिपय अवस्थामा सामाजिक सञ्जालले युवालाई वास्तविक समाजबाट टाढा बनाइरहेको कटु यथार्थ प्रति हामी सबै चिन्तित पनि हुनुपर्ने बेला आएको छ  । सामाजिक सञ्जालमा राजनीतिक दल र स्वार्थ समूहले युवालाई प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । तथ्यभन्दा भावनामा खेल्ने सामग्रीले युवाको विवेकलाई भ्रमित बनाउने खतरा छ । डिजिटल साक्षरताको अभाव हुँदा युवा सजिलै गलत सूचना र दुष्प्रचारको शिकार बन्ने खतराबाट बच्ने उपायका लागि आवश्यक नीति र विधिको अभाव देखिन्छ  ।

सामाजिक सञ्जाल प्रयोगमा चेतनशील युवाको निर्माण । राज्यले डिजिटल साक्षरता नीति प्रभावकारी रूपमा लागू गर्नुपर्छ । शैक्षिक संस्थाले सामाजिक सञ्जालको सकारात्मक प्रयोग सिकाउनुपर्छ । स्वयं युवाले पनि आत्म अनुशासन अपनाउँदै सामाजिक सञ्जाललाई ज्ञान, सीप र अवसरको माध्यम बनाउनु आजको आवश्यकता हो । सामाजिक सञ्जाल न त पूर्ण रूपमा खराब हो, न त आफैं अति उत्तम हो । सूचना र प्रविधिको सही उपयोग गर्नेहरुका लागि यो बरदान पनि सावित भएको छ भने यसलाई दुरुपयोग गर्ने कतिपयका लागि असहजताको प्रतिक पनि भएको पाईन्छ । यसलाई कस्तो बनाउने भन्ने जिम्मेवारी प्रयोगकर्ताकै हातमा छ । यदि नेपाली युवा जनशक्तिले सामाजिक सञ्जाललाई सही दिशामा प्रयोग गर्न सके, यही माध्यमबाट राष्ट्र निर्माणको महत्वपूर्ण साधन हो भन्ने कुरा सबैले बुझनुपर्ने अवस्था छ । 


 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update