भेनेजुएला माथिको सैन्य प्रहारले देखाएको सन्देश स्पष्ट छ—युद्ध कुनै एक देशको सीमाभित्र सीमित रहँदैन । यसले विश्व अर्थतन्त्रलाई हल्लाउँछ, र एसियाली मुलुकहरूले अब वैकल्पिक ऊर्जा, कूटनीतिक सक्रियता र आर्थिक आत्मनिर्भरतामा गम्भीर सोच राख्नुपर्ने समय आएको छ । शान्ति नै स्थिर विकासको सबैभन्दा भरपर्दो आधार हो भन्ने तथ्य फेरि पुष्टि भएको छ ।
विश्व राजनीति फेरि एकपटक सैन्य द्वन्द्वको चपेटामा परेको छ । भेनेजुएला जस्तो तेल सम्पन्न मुलुकमाथि भएको सैन्य प्रहार केवल ल्याटिन अमेरिकाको आन्तरिक समस्या मात्र रहेन, यसले विश्वव्यापी अर्थतन्त्रमा, विशेषतः एसियाली बजारमा पनि गहिरो असर पार्ने संकेत देखाइ सकेको छ । आजको विश्व एक आपसमा गाँसिएको आर्थिक संरचनामा आधारित भएकाले कुनै एक भूगोलको अस्थिरताले टाढा रहेका मुलुकहरूलाई समेत प्रभावित बनाउँछ । भेनेजुएला विश्वका प्रमुख कच्चा तेल उत्पादक राष्ट्रमध्ये एक हो । त्यहाँको उत्पादन वा निर्यातमा अवरोध आएमा अन्तर्राष्ट्रिय बजारमा तेलको आपूर्ति घट्छ, जसको प्रत्यक्ष प्रभाव तेलको मूल्य वृद्धिमा देखिन्छ ।
एसियाका अधिकांश मुलुकहरू—भारत, चीन, जापान, नेपाल समेत दक्षिण कोरिया जस्ता—ऊर्जा आवश्यकताका लागि आयातमा निर्भर छन् । तेलको मूल्य बढ्दा यातायात, उद्योग, कृषि तथा उपभोक्ता वस्तुको लागत एकैचोटि उकालो लाग्छ, जसले मुद्रास्फीति बढाउँने खतरा निम्त्याउँछ । त्यसैगरी, एसियाली शेयर बजारहरू युद्धजन्य समाचारप्रति अत्यन्त संवेदनशील हुन्छन् । भेनेजुएला संकट चर्किंदै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानी घुम्चिने अवस्थाहरु छन । जसले विकासशील एसियाली बजारबाट पूँजी पलायनको अवस्था सिर्जना गर्न सक्छ । यसको प्रत्यक्ष असर मुद्रा विनिमय दरमा देखिन सक्छ, कमजोर मुद्रा र बढ्दो आयात खर्चले अर्थतन्त्रलाई थप दबाबमा पार्नेछ । चीन र भारतजस्ता मुलुकहरू भेनेजुएलासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ऊर्जा तथा कच्चा पदार्थको व्यापारमा जोडिएका छन् । सैन्य प्रहारपछि प्रतिबन्ध, बीमा खर्च वृद्धि र ढुवानी जोखिम बढ्दा आपूर्ति श्रृंखला अवरुद्ध हुने खतरा बढेका छन् । यसले उत्पादन लागत बढाउने मात्र होइन, रोजगारी उद्योग, व्यवसायको वृद्धिमा समेत नकारात्मक प्रभाव पार्छ । नेपालजस्ता साना आयात–निर्भर अर्थतन्त्रहरू पनि यसबाट अछुतो रहँदैनन् । इन्धन मूल्य बढ्दा ढुवानी खर्च, खाद्यान्न मूल्य र दैनिक उपभोग्य वस्तुको लागत बढ्छ, जसको मार अन्ततः सर्वसाधारण नागरिकले व्यहोर्नुपर्छ ।

