Shittalpati
माटोको क्षयीकरण रोकौं

माटो हाम्रो जीवनको मूल आधार हो । पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अर्गानिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । तर यही माटोको जीवन्त हैसियत निरन्तर खस्कँदो छ । मानवजाति नै माटोको महत्वका बारेमा गम्भीर नहुँदा यसले अनेक व्यवधानहरु ल्याइरहेको छ । अहिले नै, संसारभरिकै ४० प्रतिशत माटो खोतीयोग्य छैन । सबैतिर माटो मर्ने क्रम तीव्र छ । यदि यस्तै अवस्था रहेमा सन् २०५० सम्ममा सतहको ५० प्रतिशत माटो मरुभूमि भइसक्ने आकलन छ । अहिलेसम्म नेपालको कति प्रतिशत माटो मरुभूमीकरण भयो यसको यकिन कुनै तथ्यांक नभए पनि वन फडानी, कृत्रिम रसायन र विषादीमा आधारित भएर गरिएको एकल र सफा खेतीका कारण बर्सेनि लाखौं टन मलिलो माटो हाम्रो खेतबारीबाट पलायन भएको छ । यस्तो अवस्थामा कृषिको उत्पादन र उत्पादकत्व बढाउन माटो जोगाउनु सरकारको मुख्य प्राथमिकता हुनुपर्ने हो । तर सरकारले यसतर्फ कुनै पनि बाटो तय गरेको छैन । बरु कृषियोग्य माटो मार्ने कृत्रिम रसायन र विषादीको वर्षा गराउँदै कृषि सपार्ने धुन अलापेको पाइन्छ । यो अत्यन्त विडम्वनाको कुरा हो । माटोको महत्वलाई बुझाउन कार्यक्रम हुने नगरेका होइनन् । तर घट्दो उर्बराशक्ति बढाउनतर्फ कसैको पनि ध्यान छैन् ।

मानव जातिको लापरवाहीका कारण भोलि पृथ्वी बासयोग्य हुन नसक्ने जोखिम देखिएकाले माटोको बारेमा जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाउने गरिन्छ । यस वर्ष पनि शुक्रबार मनाइएको छ । विज्ञका अनुसार विश्वमा माटोको अम्लीयकरण बढ्दो क्रममा छ । उर्वर जमिनमा अम्लीयपन बढ्दै जाँदा उत्पादकत्व घट्दै जान्छ, जसका कारण भविष्यमा खाद्य संकटको जोखिम रहेको भन्दै जानकारहरुले चिन्ता प्रकट गर्न थालेका छन् । यसका साथै माटोको संरक्षण नगरिँदा खाद्य तथा पोषण सुरक्षा सम्भव छैन । त्यसैगरी दिगो कृषि विकास, जैविक विविधताको संरक्षण, प्राङ्गारिक कृषि सम्बन्धी विषय पूर्ण हुँदैनन् । हाम्रो माटोको उर्वराशक्ति प्रत्येक वर्ष ह्रास भइरहेको छ । यसो हुनुमा एउटै बाली पटक–पटक लगाउने प्रवृत्ति, रसायनिक मलका अधिक प्रयोग, गोबर मलको स्रोतको क्षय र प्रयोगमा कमी सहायक कारण हुन् । तसर्थ खेतबारीमा हरियो मल, गोबर तथा प्रांगारिक मलको बढी भन्दा बढी प्रयोग बढाई रासायनिक मलको प्रयोग कम गरी माटो संरक्षणमा सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update