Shittalpati
दासत्व उन्मूलन दिवसको सन्दर्भ

आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् १९४९ को आजको दिनमा (डिसेम्बर २) संयुक्त राष्ट्रसङ्घको महासभाले व्यक्तिको आवागमन र अन्यको वेश्यावृत्ति शोषणको दमनसम्बन्धी महासन्धि पारित गरेको थियो । यौन शोषण, मानव बेचबिखन, बालश्रमको सबैभन्दा जघन्य रूप, जबरजस्ती विवाह र सशस्त्र द्वन्द्वमा प्रयोगका लागि बालबालिकालाई जबरजस्ती भर्ती गर्ने जस्ता आधुनिक दासत्व अन्त्य गर्न यो अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मुखरित छ ।  

हरेक वर्ष यो दिवस मनाउने गरिए पनि यसले खासै सार्थकता भने पाएको देखिदैन । दासलाई नेपालमा कमैया, कम्हलरी, हली, हरवा, चरवाको रूपमा केही बर्षअघिसम्म सम्बोधन गरिन्थ्यो । सैद्धान्तिक रूपमा अहिले निर्मूल गरिएको निश्चितै छ । तर, व्यवहारिक रूपमा अहिलेसम्म कतिपय ठाउँमा कायमै छ । हो, नाम फेरिएको छ । व्यवहारमा केही नरमपना आएको होला । तर, प्रवृत्तिले फड्को मार्न सकिरहेको छैन । अथवा यो ब्यवहारिक रूपमा निर्मूल भएको छैन ।

शहरका होटेलहरूमा काम गर्ने मानिसलाई नाममात्रको ज्याला दिएर दिनमा पन्ध्र सोह्र घण्टा कडा काममा जोताइन्छ । त्यो पनि दासता लाधेको हो । खेत बारीमा, मेलापातमा बिहान उज्यालो हुँदाबाट साँझ आँखाले देखुञ्जेलसम्म काममा जोताइएको हुन्छ । उनीहरूप्रति गरिने ब्यवहार दासलाई गर्ने प्रकारले गरिएको हुन्छ । घरेलु कामदारलाई मालिकहरूले त्यसरी नै काम लधाएका हुन्छन् । यो अत्यन्त दुखको कुरा हो । देशको हकमा दास प्रथाहरू अन्त्य त भए तर ती कानुनी रूपमा मात्र । व्यावहारिक रूपमा भने अन्त्य हुन सकेनन् । कानुनी रूपमा कमैया, कमलरी प्रथा अन्त्य गरियो तर उनीहरूको पुर्नस्थापना हुन सकेन । कानुनी रूपमा मात्र अन्त्य गरेर समस्याको समाधान हुँदैन । जबसम्म व्यावहारिक रूपमा हामीले समस्या समाधान गर्दैनौँ तबसम्म कुनै पनि समस्याको समाधान हुन सक्दैन । यसका लागि जनचेतनामूलक कार्यक्रमहरू गाउँ–गाउँमा पुर्‍याउन आवश्यक छ । यसो गर्न सकियो भने मात्र हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवसको सार्थकता रहन्छ ।

 


 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update