अर्थतन्त्र सुध्रिएको दाबी गरिए पनि मुलुकको समग्र आर्थिक अवस्था भने सन्तोषजनक बन्न सकेको छैन । मुलुकको आन्तरिक उत्पादन, उपभोग, लगानी, पुँजी निर्माण, रोजगारी सिर्जनाजस्ता आर्थिक पक्षहरू सकारात्मक देखिएका छैनन् । यति मात्र होइन, मुलुकको वित्तीय अवस्थामा समेत सन्तुलन आउन सकेको छैन । सरकारको आम्दानीभन्दा खर्चको अनुपात ज्यादा हुँदा मुलुकमा वित्तीय असन्तुलन पैदा भएको छ । यस्तो असहज अवस्था सिर्जना हुनुका पछाडी आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्नु नै मुख्य कारक तत्वका रूपमा हेरिएको छ ।
बैंकको नाफा घट्नु, कर्जा असुलीमा समस्या देखिनु र खराब कर्जा बढ्नु अर्थतन्त्रको गति सुस्त रहेका प्रस्ट संकेत दिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकले १३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा झन्डै २० प्रतिशत कम हो । सोही अवधिमा बैंकहरूको खराब कर्जा भने बढेको छ । गत वर्ष खराब कर्जा ४ दशमलव शून्य ४ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ८६ प्रतिशत पुगेको छ । यी तथ्यांकले बैंकिङ क्षेत्र मात्रै होइन, देशको समग्र अर्थतन्त्रमै पनि दबाब बढ्दै गएको देखाएको छ । राजनीतिक अस्थिरता, अविरल वर्षाले उत्पन्न प्रकोपमा भएको जनधनको क्षति र जेनजी आन्दोलन र फेरि आन्दोलन हुने आशंकाले बजारमा देखिएको अन्योलका कारण बैंकहरुको नफा घट्दै गएको छ । अर्थतन्त्र कमजोर हँुंदै गएको अवस्थामा उद्योगी तथा व्यवसायीलाई आवश्यक ऋण दिन सक्ने अवस्था पनि छैन। यसरी अर्थतन्त्रमा चौतर्फी दबाब परेको देखिन्छ। देशको अर्थतन्त्र सुदृढ बनाउन आन्तरिक उत्पादनको महत्वपूर्ण भूमिका हुन्छ । आन्तरिक उत्पादनले आयातलाई विस्थापित गर्न नसक्दा आयातले नै आवश्यकता पूर्ति गरेको अवस्था छ । आयातमुखी अर्थन्त्रमा देशको सीमित विदेशी मुद्रा पनि यसैको भुक्तानीमा खर्च गर्नुपर्ने हुन्छ । निर्यात न्यून भएकाले सञ्चित विदेशी मुद्रा पनि खर्च गर्नुपर्ने बााध्यताले झनै अर्थतन्त्रमा दबाब पर्ने देखिन्छ। जसले जे–जसरी व्याख्या गरे पनि अहिले नेपालको अर्थतन्त्र सकारात्मक छैन। खासगरी राजस्व, पुँजीगत खर्च,सरकारी कोषमा परेको चाप, विदेशी मुद्रा सञ्चिति, ब्याजदर, आन्तरिक उत्पादन, बढ्दो आयात र घट्दो निर्यातजस्ता अर्थतन्त्रका आधारभूत क्षेत्र नै खस्किएका देखिन्छन्। तसर्थ यिनीहरूको सुधार नगरी अर्थतन्त्रले लय लिन सक्दैन। त्यसतर्फ वर्तमान सरकारले ध्यान दिन जरुरी छ ।

