 
                                                                    विश्व शहरीकरण दिवस आज विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सयुक्त राष्ट्रसंघ महासभाले सन् १९८५ मा ‘विश्व सहरीकरण दिवस’लाई मान्यता दिएको हो । यस दिवसको मुख्य उद्देश्य विश्वभर बढ्दै गएको सहरीकरणका चुनौती, अवसर र दिगो सहरी विकासका मुद्दामा जनचेतना जगाउनु हो । नेपालमा पनि शहरीकरणको प्रभाव र परिणाम तीव्ररूपमा देखिन थालेका छन् । २००७ को परिवर्तनपछि शहरीकरणले आकार लिएको भएपनि पछिल्ला दशकमा यसले तीव्रगति लिएको छ । हरेक वर्ष यस दिवसका लागि विशेष नारा निर्धारण गरिन्छ । जसले सहरी गरिबी, जलवायु परिवर्तन, आवास अधिकार, सहरी यातायात, फोहोर व्यवस्थापनजस्ता विषय केन्द्रमा राख्छ ।
व्यवस्थित शहरीकरण नै विकासको मार्ग हो । विगत केही वर्ष नियाल्ने हो भने नेपालको जनसंख्यामा तिब्र वृद्धि भएको पाइन्छ । शहरमा मानिसको आर्कषण बढी देखिन्छ । सरकारी तथ्याङ्क अनुसार शिक्षा, रोजगारी, सुविधा र सरल जीवनको खोजिमा लाखौं नेपाली गाउँबाट शहर भित्रने गरेका छन् । उचित व्यवस्थापन, असल नीति र परिवर्तनशील योजनाहरु नहुँदा यसले शहरी भेगमा वतावरणीय असर र अब्यवस्थित बसोवास फैलन थालेको छ । ग्रामीण परिवेशबाट बाहिर निस्की रहेको विश्वले अब भने गम्भीर भएर सोच्नै पर्ने भएको छ ।
पहाडबाट सहर बसाई झर्ने तर सहरमा पनि पूर्वाधार नहुँदा पुनः पहाड फर्किनुपर्ने अवस्था आउन सक्ने संभावना बढ्दै गएको छ । पछिल्लोसमय पालिकाहरूको जनसंख्या घट्दै जानुका पछि सहरमा अत्याधिक चाप बढ्दै छ भन्ने बुझ्नुपर्दछ । तर, सहर सहरीकरण भन्दा पनि अव्यस्थित बन्दै गएका छन् । यो गंभीर चिन्ताको बिषय हो । सहरीकरण दिवसकै अवसरमा नेपाल सरकारले सहरलाई व्यवस्थित र बस्नयोग्य बनाउनेतर्फ ठोस पहल गर्न सके मात्र यो दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ ।


 
                                         
                     
                     
                     
                     
                     
                     
                     
                    